महिलाकाे कमाण्डमा गृह मन्त्रालयको विपद महाशाखा र चार शाखा – Nepal Press

महिलाकाे कमाण्डमा गृह मन्त्रालयको विपद महाशाखा र चार शाखा

काठमाडौं । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा र अन्तर्गतका सबै शाखा महिला कर्मचारीले हाँकिरहेका छन् । महाशाखा प्रमुखमा सहसचिव स्किम श्रेष्ठ छिन् । सहसचिव महादेव पन्थ सरुवा भएपछि गत फागुन २ गतेदेखि श्रेष्ठले महाशाखा प्रमुख हाँक्दै आएकी हुन् ।

मकवानपुरकी श्रेष्ठ ३३ वर्षकै उमेरमा सहसचिव बन्न सफल महिला हुन् । २०६९ सालमा शाखा अधिकृतसरहको महिला विकास अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी उनी २०७७ असारमा खुला प्रतिस्पर्धाबाटै सहसचिवमा नाम निकाल्न सफल भइन् हुन् । उनी शाखा अधिकृतबाट उपसचिव नभएर सीधै सहसचिव बनिन् ।

सहसचिव श्रेष्ठ अध्ययन, लक्ष्यप्रतिको प्रतिबद्धता, लगनशीलता, धैर्यलगायतले आफू सफल भएको बताउँछिन् । ‘मेरो हकमा परिवारको सहयोग, निकट र साथीभाइको उत्साहलगायतले पनि सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’, उनले भनिन् ।

सहसचिव श्रेष्ठको सचिवालयमा पनि महिला नै कार्यरत छन् । जसमा नायब सुब्बा सरिता राई र कार्यालय सहयोगी मनिमादेवी कठारु छन् ।

महाशाखाअन्तर्गतको विपद् अध्ययन तथा अनुसन्धान शाखा प्रमुखको जिम्मेवारीमा उपसचिव बन्दनाकुमारी केसी छन् । उनी करिब चार महिनादेखि उक्त जिम्मेवारीमा छिन् ।

उक्त शाखामा थप तीन महिला कार्यरत छन् । जसमा अधिकृत रञ्जना राई, कम्प्युटर अपरेटर यमुना केसी र कार्यालय सहयोगी लक्ष्मी सिलवाल छन् ।

विपद् महाशाखाअन्तर्गतकै शान्ति प्रवर्द्धन शाखा प्रमुखमा उपसचिव लीलाकुमारी केसी छिन् । उनी गएको भदौ ६ गतेदेखि उक्त जिम्मेवारीमा छिन् । उक्त शाखाको अधिकृतमा राधाकुमारी श्रेष्ठ कार्यरत छन् ।

यस्तै विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा प्रमुख पनि महिला नै छिन् । उपसचिव रमा आचार्यको नेतृत्वमा रहेको शाखामा अधिकृततर्फ महिला जुनु हमाल छिन् । शाखामै कार्यरत महिलातर्फ सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक (सई) तुलसी रिजाल छिन् ।

महाशाखाअन्तर्गतकै राहत तथा तथ्यांक व्यवस्थापन शाखा प्रमुख पनि महिला नै छिन् । उपसचिव सुप्रभा ढुंगेल गएको पुस १३ गतेदेखि उक्त शाखा प्रमुख छिन् ।

मोरङको विराटनगर महानगरपालिका- ५ स्थायी घर भएकी सुप्रभा उपसचिव भएको ८ वर्ष पुगिसकेको छ । यसअघि उनी मनाङमा प्रमुख जिल्ला अधिकारी थिइन् । त्यसअघि काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी रहेकी उनीसँग ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, उद्योग विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरेको अनुभव छ ।

ढुंगेल काठमाडौंमा कार्यरत रहँदा उनीसहित दुई जना महिला पहिलो पटक सहायक प्रमुख जिल्ला अधिकारीका जिम्मेवारीमा थिए । अर्को सहायक प्रमुख जिल्ला अधिकारीमा उपसचिव देवी पाण्डे रहेकी थिइन् ।

ढुंगेलले नेतृत्व गरिरहेको राहत तथा तथ्यांक व्यवस्थापन शाखाका दुई अधिकृतमध्ये एक महिला छिन् । जसमा कृष्णाकुमारी गौली छिन् भने कम्प्युटर अपरेटर पनि महिला सपना थापामगर छिन् ।

महाशाखा प्रमुखसहित ६२ प्रतिशत कर्मचारी महिला

मन्त्रालयमा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा र अन्तर्गतका चार वटै शाखामा कार्यरत जम्मा कर्मचारीमध्ये महाशाखा तथा शाखा प्रमुखसहित ६२.५ प्रतिशत महिला छन् । उक्त महाशाखामा सहसचिवदेखि कार्यालय सहयोगीसम्म २४ जना कार्यरत छन् । जसमा १५ जना महिला छन् । बाँकी ३७.५ प्रतिशतमात्रै पुरुष कर्मचारी कार्यरत छन् ।

महाशाखातर्फ एक सहसचिव तथा चार जना उपसचिवमा शत प्रतिशत महिला छन् । नौ अधिकृततर्फ चार महिला र पाँच जना पुरुष छन् । तीन कम्प्युटर अपरेटरमध्ये दुई महिला र एक जनामात्रै पुरुष छन् ।

यस्तै तीन नायब सुब्बामध्ये एक महिला र दुई जना पुरुष छन् । तीन कार्यालय सहयोगीमध्ये दुई महिला रहँदा एक जनामात्रै पुरुष छन् । सुरक्षा निकायतर्फ सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक (सई) एक जनामात्रै महिला कार्यरत छन् ।

उक्त महाशाखा तथा अन्तर्गतका चार वटै शाखाले विपद् प्रतिकार्यमा सहयोग, विपद् पूर्वतयारी तथा प्रतिकार्यको काम, विपद जोखिम न्यूनीकरण तथा पुनर्लाभसम्बन्धी काम गर्छन् । त्यस्तै विपद् अध्ययन अनुसन्धानसम्बन्धी काम, विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र पुनःस्थापना तथा पुनर्निर्माण र अनुसन्धानसम्बन्धी समन्वय र व्यवस्थापनको काम पनि महाशाखाले गर्दै आएको छ ।

महाशाखाले केन्द्रीय दैवी प्रकोप उद्धार समितिको सचिवालयसम्बन्धी काम, नेपाल जोखिम न्यूनीकरणसम्बन्धी कार्यको समन्वय, विपद् व्यवस्थापन ऐन र विपद् व्यवस्थापन रणनीतिको कार्यान्वयनसम्बन्धी काम, आपतकालीन केन्द्रमा एनईओसी, आरईओसी, डीईओसीसम्बन्धी काम, प्रकोप व्यवस्थापनसम्बन्धी, दैवी प्रकोप केन्द्रीय उद्धार समितिको सचिवालय व्यवस्थापनसम्बन्धी र वारुणयन्त्रसम्बन्धी काम गर्दै आएको छ ।

साथै द्वन्द्व पीडित क्षेत्रको सामाजिक तथा आर्थिक विकासको नीति, रणनीति र कार्यक्रम, विस्तृत शान्ति सम्झौतालगायतका अन्य सम्झौता, सहमति र निर्णय कार्यान्वयन, अनुगमन तथा मूल्यांकन र द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको राहत, आर्थिक सहायता तथा पुनःस्थापनाको काम गर्दै आएको छ ।

मन्त्रालयभर ३५ प्रतिशत महिला कर्मचारी

समग्र रुपमा गृह मन्त्रालयमा विशिष्ट श्रेणीको सचिवदेखि श्रेणीविहीन कार्यालय सहयोगीसम्म १५६ जना कर्मचारी कार्यरत छन् । जसमा ५६ जना अर्थात ३५ प्रतिशत महिला छन् । महिलातर्फ सहसचिवमा १६, उपसचिमा ४७, शाखा अधिकृतमा २२, नायब सुब्बामा २५, कार्यालय सहयोगी ६६ र सवारी चालक तथा सुरक्षाकर्मीतर्फ ५७ प्रतिशत कार्यरत छन् ।

मन्त्रालयमा सचिव दिनेश भट्टराई छन् भने ६ सहसचिवमध्ये स्किम श्रेष्ठमात्रै महिला छिन् । लेखा तथा प्राविधिक सेवासमेत गरेर १९ उपसचिवमा नौ जना महिला छन् । जसमा चार उपसचिव विपद् महाशाखाअन्तर्गतका हुन् । बाँकी पाँच जना उपसचिवमा बन्दना राई विभुषण शाखा, विजयाकुमारी प्रसाईं गुनासो व्यवस्थापन शाखा, प्रदर्शनी कुमारी नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा, अजिता शर्मा मानव अधिकार प्रवर्द्धन शाखा र सुष्मा श्रेष्ठ सूचना प्रविधि शाखामा वरिष्ठ कम्प्युटर इन्जिनियर छन् ।

यस्तै मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटरसहित विभिन्न सेवाका ६२ शाखा अधिकृतमा १४ जना महिला छन् । मन्त्रालयका ३२ नायब सुब्बामा ८ जना महिला छन् । ३० कार्यालय सहयोगीमध्ये २० जना महिला छन् । सुरक्षाकर्मी तथा सवारी चालक गरेर बाँकी सात कर्मचारीमा चार महिला कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *