शान्ति र लोकतन्त्रको धारमा पार्टीहरूलाई रुपान्तरण गर्नु कांग्रेसको दायित्व : कृष्ण सिटौला (भिडिओ) – Nepal Press

शान्ति र लोकतन्त्रको धारमा पार्टीहरूलाई रुपान्तरण गर्नु कांग्रेसको दायित्व : कृष्ण सिटौला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् ।

आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा उनले पार्टीहरूलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए । कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

सिंगो राष्ट्रलाई एकतावद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्ने सिटौलाले आवश्यकता औंल्याए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणाली, यसको शासकीय स्वरूप, संघीयताअन्तर्गत तीन तहको सरकार छ । लोकतान्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने संविधानको लक्ष्य हो । हामीले राज्यका सम्पूर्ण संयन्त्रहरूलाई जनताको हितमा, संविधान बमोजिम प्रयोग गरेर समुन्नत राष्ट्र निर्माण गर्न सक्नुपर्छ । नेपाली कांग्रेसको अरु पार्टीको भन्दा अलि बढी दायित्व छ जस्तो मलाई लाग्छ । हामी संगठनले थोरै हौँ अथवा धेरै । अन्य पार्टीभन्दा नेपाली काँग्रेस पार्टीको दायित्व सदैव बढी हुन्छ । शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ । अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि काँग्रेसकै काँधमा छ ।’

आफूहरूले आगामी दिनमा जनताप्रति समर्पित भावले काम गर्ने उनले प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर