मिटरब्याजीको गुण्डागर्दी: ऋणीको सम्पत्ति हडप्न घरमा चलाइयो जेसीबी – Nepal Press

मिटरब्याजीको गुण्डागर्दी: ऋणीको सम्पत्ति हडप्न घरमा चलाइयो जेसीबी

जनकपुरधाम । मुख सुकेको छ । आँखा रसाएको छ । छेउमा बसेका केही व्यक्तिसँग उनी पीडा पोख्छन्, ‘सम्पत्तिको लोभमा आफन्त नै काल बनेर आउँछन् र घरमै डोजर चलाउँछन् भनेर कहिल्यै सोचेको थिएनँ ।’

उनी हुन्- ५० वर्षीय जयप्रकाश रोहिता । जनकपुरधाम उपमहानगरपालिका- २ स्थित घरमा मिटरब्याजीले गुण्डागर्दी शैलीमा जेसीबी लगाएर क्षति पुर्‍याएपछि उनी पीडामा छन् । मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् उनी ।

रोहिता सपरिवार फागुन ६ गते आफन्तको बिहेमा गएका थिए । घरमा कोही नभएको मौकाको फाइदा मिटरब्याजीले उठाए । मिटरब्याजी रामचन्द्र वैनवार र उनका छोरा विपीनसहितको एक समूहले दुइटा जेसीबी लिएर उनको घर धमाधम भत्काउन थाल्यो ।

जेसीबीले सुरुमा बाउन्ड्री वाल भत्कायो । त्यसपछि घरको पर्खाल भत्काउन सुरु गर्‍यो । घर परिसरमा रहेका रुखहरु पनि ढाल्यो । स्थानीय मानिसको भीड लाग्यो । भीडबाटै कसैले घरधनी जयप्रकाशलाई फोन गरेर घरमा डोजर चलाइरहेको जानकारी गराए ।

घरमा डोजर लगाएको खबर पाउँदा धनुषाको सघारामा उनी आफन्तको जन्तीमा थिए । हतार हतार जनकपुरधाम पुगे । बाटोमै आफन्त र सहयोगीलाई फोन गरेर हारगुहार मागे । उनी जनकपुरधाम पुग्दा जेसीबीले घर ढाल्दै थियो ।

रोहिताले जेसीबी रोक्न खोजे । तर, उनलाई कसैले सुनेनन्, सहयोग गरेनन् । प्रहरी पनि मुकदर्शक थियो । केही समयपछि उनका आफन्त र सहयोगीहरु आइपुगे । त्यसपछि जेसीबी लगाउने समूहलाई लखेटियो, आक्रोशित उनीहरुले जेसीबीमा तोडफोड गरे ।

पैसा तिरेर ल्याइएका केही व्यक्तिको सहयोगमा आफ्नो घरमा जेसीबी चलाइएको रोहिताले बताए । प्रहरीकै अगाडि घर भत्काउँदा र लुटपाट गर्दा केही नगरेको उनले गुनासो गरे ।

जेसीबी लगाएर रोहिताको पाँच वटा कोठाको एक साइडको पर्खाल र बाउन्ड्री वाल भत्काइएको छ । घरका ढोकाहरु फोडेर घरभित्र प्रवेश गरी फर्निचर समान र दराजसमेत तोडफोड गरिएको छ । उनीहरुले २५ लाख रुपैयाँ, ५ तोला सुन र एउटा ल्यापटपसमेत लुटेर लगेको रोहिताले आरोप लगाए ।

उनका अनुसार घरका लत्ताकपडा र भान्साका समानसमेत तोडफोड गरेर फालिदिएका छन् । अहिले घरमा बस्ने अवस्था छैन ।

घटनापछि रोहिता परिवार घरमा बस्न सकेका छैनन् । छिमेकीको घरमा शरण लिएका उनी भन्छन्, ‘दिनदहाडै पुलिसकै अगाडि मेरो घर भत्कायो । रुपैयाँ र सुन पनि लुटेर लग्यो । यस्तो अवस्थामा कसरी घरमा बस्न सक्छु ?’

उनले १२ लाख ३५ हजार रुपैयाँका लागि रामचन्द्रले आफ्नो १० करोडको सम्पत्ति हडप्न खोजेको बताए ।

‘गुण्डा लगाएर कसैको घर भत्काउन र लुट्न पाइन्छ ?’, उनको प्रश्न छ, ‘देशमा नियम कानून छ कि छैन ? ममाथि ठूलो अन्याय भएको छ ।’

यसरी मिटरब्याजीको जालमा फसे रोहिता

२०५८ सालमा रोहिताले जग्गा धितो राखेर नेपाल बंगलादेश बैंकबाट १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधाम वकिल टोलमा रहेको ४२ धुर घडेरी जग्गा बैंकमा राखे ।

समय बित्दै गयो, ब्याज बढ्दै गयो । ऋण चुक्ता गर्न सकेनन् । २०६३ सालमा ब्याज बढेर ऋण १६ लाख पुग्यो । बैंकले जग्गा लिलामीको सूचना निकाल्यो । त्यसपछि करोडौंको जग्गा डुब्ने डरले उनलाई सतायो ।

उनले ऋण तिर्न नसके बैंकले जग्गा लिलामी गर्छ भन्ने कुरा ससुरा रामसागर मुखियालाई सुनाए । ज्वाइँका लागि रामसागरले पैसाको जोहो गर्न थाले । उनले सम्धी रामचन्द्रसँग ज्वाइँको जग्गा बचाइदिन आग्रह गरे । रामचन्द्र सम्धीका ज्वाइँ रोहितालाई ऋण दिन तयार भए ।

तर, जग्गा बैंकबाटै आफ्नो नाममा तत्काल ल्याइदिनुपर्ने सर्त राखे । उनले विश्वास दिलाए- बेइमानी गर्दिनँ । मेलै दिने रूपैयाँको सयकडा अढाई रुपैयाँका दरले व्याज दिनुपर्छ । ऋण तिरेको दिन जग्गा फिर्ता गरिन्छु ।’

रामचन्द्रको कुरामा रोहिता कन्भिन्स भए । जग्गा रामचन्द्रको नाममा पास गर्न सहमत भए । रोहितासँग त्यतिबेला ३ लाख ६५ हजार रुपैयाँ थियो । उनले १२ लाख ३५ हजार रामचन्द्रसँग लिए र बैंकलाई बुझाए । लगत्तै बैंकमा राखेको ४२ धुर जग्गा रामचन्द्रको नाममा पास गरिदिए ।

रामचन्द्रबाट जग्गा फिर्ता ल्याउन रोहिताले २७ कट्टा खेत बेचे । ऋण तिर्ने भन्दै रामचन्द्र र ससुरा रामसागरलाई घरमा बोलाए । रोहिताले नेपालप्रेससँग भने, ‘मैले पैसाको जोहो गरिसकें, हिसाब गरेर पैसा लिनुस् र मेरो जग्गा फिर्ता गरिदिनुस् भनेर रामचन्द्रलाई आग्रह गरेको थिएँ । तर, घर आएका रामचन्द्र पैसा नलिइ भागे । २/३ वर्ष सम्पर्कमै आएनन् ।’

१२ लाख ३५ हजारमै करोडौंको जग्गा आफ्नो नाममा आएपछि रामचन्द्रको नियत बिग्रिएको रोहिता बताउँछन् । ‘उनी बेइमानीमा उत्रे । त्यसैले मैले ऋण चुक्ता गर्न खोज्दा पनि उनी भागे । सम्पर्कविहीन बने’, रोहिता भन्छन्, ‘मैले विश्वास गरें । मेरो ससुराको सम्धी हुन्, बेइमानी गर्दैनन् भन्ने सोचें । तर, मलाई विश्वासघात गर्‍यो ।’

ब्याज जोडेर ऋण चुक्ता गरी जग्गा फिर्ता लिन सामाजिक रुपमा प्रहरी कार्यालयमा पटक पटक छलफल हुँदा पनि सहमति नभएको उनको भनाइ छ । रोहिताले सुनाए, ‘प्रहरी चौकीमा छलफल हुँदा आधा आधा जग्गा लिने/दिने सहमति भएको थियो । आधा जग्गामा घेराबेरा पनि लगायो । मैले दुई लाख रुपैयाँ पनि दिएँ, जग्गाको कर तिरेर आफ्नो नाममा ल्याउन । रुपैयाँ लियो । तर, आधा जग्गा मेरो नाममा पास गरेनन् ।’

रामचन्द्रले पछि ४० लाख रुपैयाँ दिएमात्रै आधा जग्गा दिने बताएको रोहिताले सुनाए । उनले भने, ‘अहिले त्यो जग्गाको प्रतिधुर २० देखि २५ लाख चलनचल्ती मूल्य छ । ४२ धुर जग्गा र घर करिब १० करोडको सम्पत्ति छ । म फसेकाले १२ लाख ३५ हजारमै आधा दिन तयार भएँ । तर, थप ४० लाख माग्न थाल्यो । यो अन्याय हो कि होइन ?’

मिटरब्याजको उजुरीपछि फरार भए रामचन्द्र !

ऋण दिएर करोडौंको सम्पत्ति हडप्न खोजेका रामचन्द्र बैनवार मिटरब्याजसम्बन्धी उजुरीमा फरार सूचीमा छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा रामचन्द्रमाथि पीडित रोहिताले गएको जेठमा मिटरब्याजसम्बन्धी उजुरी दिएका थिए । उजुरीपछि उनलाई छलफलका लागि बोलाइएको थियो । तर, उनका छोरा विपीन भिनवारमात्र उपस्थित भए ।

साउन २८ गते छलफलमा विपीनले सुरुमा जग्गा खरिद गरेको र रोहितासँग कुनै विवाद नरहेको दाबी गरेका थिए । तर, विवाद नभए किनेको घरजग्गामा १७ वर्षदेखि रोहिता नै कसरी बसिरहेको भन्ने प्रश्न गरेपछि विपीनले भनेका थिए, ‘ऋण तिर्न नसकेपछि जग्गा दिएको हो ।’

विपीनले छानबिनमा फस्ने देखिएपछि भदौ १० गते पुन: छलफल गर्ने समय लिएका थिए । तर, छलफलमै आएनन् । त्यसपछि पटक पटक बोलाए पनि उपस्थित भएनन् । उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बैनवारलाई पक्राउ गरी उपस्थित गराइदिन सिरहा प्रहरीलाई पत्राचार गरेको छ ।

रोहिताले प्रशासनसँग सेटिङ मिलाएर रामचन्द्र फरार भएको आरोप लगाए । नत्र प्रहरीकै अगाडि आफ्नो घर नभत्काइने उनको दाबी छ । आफ्नो जग्गा हडप्न रामचन्द्र र उनका छोरा विपीनले अनेक खेल खेलिरहेको रोहिताको भनाइ छ ।


प्रतिक्रिया

One thought on “मिटरब्याजीको गुण्डागर्दी: ऋणीको सम्पत्ति हडप्न घरमा चलाइयो जेसीबी

  1. जेल कोच्नु पर्छ तेस्ता अपराधिलाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *