कांग्रेस महासमिति बैठकमा १०६३ जनाको हस्ताक्षरसहित हिन्दूराष्ट्रको प्रस्ताव पेश – Nepal Press

कांग्रेस महासमिति बैठकमा १०६३ जनाको हस्ताक्षरसहित हिन्दूराष्ट्रको प्रस्ताव पेश

ललितपुर । गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।

फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।

अभियानका संयोजक शंकर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरे । भण्८ारीले प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

२०७१ कात्तिक २० गते स्थापना भएको उक्त महाअभियानले नेपाली कांग्रेसभित्रका विभिन्न बैठकहरुमा हिन्दू राष्ट्रको विषय गहन ढङ्गले उठाउँदै आएको छ । यसअघि नवलपरासीको त्रिवेणीधाममा सम्पन्न पार्टीको महासमिति बैठक र काठमाडौंमा भएको बैठकमा समेत हिन्दू राष्ट्रको मुद्दा उठेको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीको संयोजकत्वको उक्त महाअभियानले ९४ प्रतिशत ओमकार परिवारभित्र रहेको हिन्दूधर्मको मुद्दालाई उठाउँदै आएको हो ।

उक्त महाअभियानको सहसंयोजकमा पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र महासमिति सदस्य लोकेश ढकाल तथा महासचिवमा केन्द्रीय सदस्यद्धय भीम पराजुली र मुक्ताकुमारी यादव हुनुहुन्छ । यस्तै, पूर्वमन्त्री लक्ष्मण घिमिरेसहितको १५ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरिएको छ ।

उक्त अभियानमा आज अन्तिम दिनमा आइपुग्दा एक हजार ६१ महासमिति सदस्यले हस्ताक्षर गरेको महाअभियानका सहसंयोजक लोकेश ढकालले बताए ।

महासमिति बैठकमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बोल्ने महासमिति सदस्यले हिन्दू राज्यको मुद्दालाई प्राथमिकतासाथ उठाएका छन् ।

‘धर्मको नाममा द्वन्द्व निम्त्याउने आशय महाअभियानको होइन, आम जनताको भावनलाई बुलन्द बनाउनका लागि महाअभियान सञ्चालन गरेका हौँ’, सहसंयोजक ढकालले भने ।

बहुमत महासमितिको भावनालाई कुल्चेर कांग्रेस अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर