सर्वोच्च अदालत स्थापना हुनुअघिकाे प्रधान न्यायालयका फैसला वेबसाइटमा हेर्न सकिने – Nepal Press

सर्वोच्च अदालत स्थापना हुनुअघिकाे प्रधान न्यायालयका फैसला वेबसाइटमा हेर्न सकिने

काठमाडौं । सर्वोच्च अदालत स्थापना हुनुअघि अस्तित्वमा रहेको प्रधान न्यायालयले गरेका फैसलाहरुको डिजिटल अभिलेखीकरण भएको छ । सर्वोच्च अदालतले आममान्छेले बुझ्ने भाषामा ती फैसलाहरु आफ्नो वेबसाइटमा राखेको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार एक कार्यक्रमबीच प्रधान न्यायालयले गरेका फैसलाहरुको डिजिटल अभिलेखीकरण सार्वजनिक गरेका छन् ।

सम्पादन तथा प्रकाशन समितिका अध्यक्ष न्यायाधीश हरिप्रसाद फुयाँलको नेतृत्वमा लामो समय लगाएर सर्वोच्च अदालतले न्यायिक इतिहासको डिजिटल दस्तावेज बनाउने काम गरेको थियो । वि.सं १९९७ साउन १ गते प्रधान न्यायालयको स्थापना भइ कार्य सञ्चालन भएको इतिहास छ । त्यतिबेला पहिलो प्रधान न्यायाधीशका रुपमा जनरल बहादुर शमशेर जबराले काम गरेका थिए ।

प्रजातन्त्र स्थापना हुनुअघि वसन्त शमशेर जबरा पनि उक्त जिम्मेवारीमा थिए । प्रजातन्त्र स्थापना भएपछि २००८ साल साउन ७ गते हरिप्रसाद प्रधान पहिलो प्रधान न्यायाधीश नियुक्त भएका थिए । २००९ साल बैशाख २६ गते प्रधान न्यायालय ऐन जारी भई लालमोहर लागेको र २००९ साल पुस ८ गते राजपत्रमा प्रकाशित भएको थियो । सर्वोच्च अदालतले बैशाख २६ गतेलाई कानून दिवसका रुपमा मनाउने गरेको छ ।

न्यायाधीश फुयाँलले प्रधान न्यायालयले २००९ सालदेखि गरेका फैसलाहरु भेटिएको र त्यसलाई राखिएको जानकारी दिए । प्रधान न्यायालयले करिब ५ हजार फैसला गरेको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चको यो काममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्तलगायतको विज्ञ टोलीले सहयोग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *