दुर्गेशको आरोप- पल मसित डराएर भागिरहेका छन्, गल्ती उसले गर्ने गाली मैले खाने ? – Nepal Press

दुर्गेशको आरोप- पल मसित डराएर भागिरहेका छन्, गल्ती उसले गर्ने गाली मैले खाने ?

'पललाई आफूले फसाएको भन्ने बुझाइले जुत्ता हानिएको आशंका'

काठमाडौं । कुनै समय बलियो मित्रताको उदाहरण बनेका दुई नाम हुन्- नायक पल शाह र गायक तथा मोडल दुर्गेश थापा । पल र दुर्गेश साथीभन्दा पनि आफूहरुलाई दाजुभाइ भन्न रुचाउँथे । पलकी बहिनी रोशनी शाहले दुर्गेशलाई तिहारमा भाइटीका लगाइदिन्थिन् ।

अधिकतम ठाउँमा सँगै भेटिने यी दुईको मित्रताको बयान गरी नसक्नु थियो । कसैले यी दुई छुट्छन् भन्ने सायदै कल्पना गरेका थिए होला । तर, पल-समीक्षाको घटनापछि भने माहोल बदलियो । अहिले यी दुई एक अर्काको नजिक नै पर्दैनन् ।

दुर्गेशले समीक्षासँग मिलेर आफूलाई फसाउन खाजेको पलले आरोप लगाएका थिए । बलात्कार मुद्दामा एक वर्ष जेल सजाय कटाएपछि उनले जिल्ला अदालतबाट सफाइ पाए । पल जेलभित्र हुँदा दुर्गेश उनलाई भेट्न गएका पनि थिए । उनीहरुको सो समय राम्रै कुराकानी भएको दुर्गेश बताउँछन् । तर, पल जेलबाट निस्किएपछि आफूलाई ‘इग्नोर’ गर्न खोजेको दुर्गेशको गुनासो छ ।

यसैबीच दुर्गेशले हालै एउटा नमीठो घटना भोगे । स्याङ्जामा चलिरहेको महोत्सवमा प्रस्तुति दिने क्रममा उनीमाथि जुत्ता प्रहार भयो । शनिबार राति २७ वर्षीय युवकले उनलाई जुत्ता प्रहार गरेका थिए । कार्यक्रम सकिएपछि दुईबीच मिलापत्र पनि भयो । मिलापत्र गर्दा ती युवकले दुर्गेशमाथि जानीजानी जुत्ता प्रहार नगरेको दाबी गरेका थिए ।

पल-समीक्षा मुद्दामा गलत बुझाइका कारणले अझै पनि आफूप्रति केही दर्शकहरु सकारात्मक नरहेको दुर्गेशको बुझाइ छ । जुत्ता प्रहारको घटनालाई पनि उनले यसैको परिणाम मानेका छन् ।

उनी भन्छन्, ‘मैले पललाई फसाएको भन्ने बुझाइले गर्दा मसँग यस्ता व्यवहारहरु भएको भन्ने धेरैलाई लाग्छ । यो केश आउनुभन्दा अगाडि म कति कार्यक्रमहरुमा हिँडें, कहिल्यै यस्तो भएको थिएन ।’

आफ्नो गल्ती भएको भए सामुन्ने आएर कुरा गर्न सक्नुपर्ने दुर्गेशको भनाइ छ ।

उनी थप भन्छन्, ‘मैले फसाउन खोजेको भए मलाई मुद्दा हाल्ने हो । केश हालेको खोई ? मसँग डराएर भागेर हिँड्ने किन ? म कार्यक्रममा छु कि छैन भनेर सोध्ने अनि मेरोभन्दा तीन घन्टा अघि-पछि आफ्नो कार्यक्रम पार्दिनु भनेर भन्ने किन ? कतै एयरपोर्टमै पो भेट हुन्छ कि भनेर एयरपोर्टमा हुँदा उसको म्यानेजरले मलाई फोन गरेर म कहाँ छु भनेर सोध्छ । त्यस्तो गर्ने किन ? धान खाने मुसो चोट पाउने म जस्तो भइरहेको छ । गल्ती गर्ने पल शाह अनि गाली खाने म !’

केही समयअघि सामाजिक सञ्जालमा पल र दुर्गेशको मेलमिलाप भएको भनेर केही भिडिओहरु भाइरल भएका थिए । भिडिओमा पल र दुर्गेश स्टेजमा सँगै देखिएका थिए । तर, पलसँग आफ्नो अहिले भेट नभएको र उक्त भिडिओ पुरानो भएको दुर्गेशले बताए ।

‘ती सबै पहिलाका भिडिओहरु हुन् । ऊ जेलबाट बाहिरिएपछि हाम्रो भेट नै भएको छैन । ऊ अहिले मसँग डराएर हिँडिरहेको छ । पल जेलमा हुँदा मेरो दुईतीन चोटि भेट भएको हो । त्यतिखेर राम्रै बेलचाल भएको थियो । जेलबाट बाहिरिएपछि चाहिँ खै किन भेटेन ? उसको मन सफा हुन्थ्यो भने आएर साथी यस्तो भयो भन्थ्यो होला नि ! भोलिको दिनमा मलाई झन् गाह्रो हुन्छ भन्ने सोच्यो कि ? कि जेलभित्र हुँदा राम्ररी बोलेर मलाई चाटेको हो कि ?’

पलले अगाडि आएर स्पष्टीकरण नदिएसम्म यो माहोल नघट्ने दुर्गेश बताउँछन् । उनी थप्छन्, ‘अगाडि आएर स्पष्टीकरण दिनुपर्‍यो । मैले फसाएको हो भने आएर भन्नुपर्‍यो । कानूनअनुसारको सजाय दिनुपर्‍यो । मेरो पनि एउटा परिवार छ । बालबच्चा छन् । सधैंभरि यस्तो यातना म सहन सक्दिनँ ।’

३-४ जना पत्रकारसँग मात्र नभई सबै मिडियासामु आएर पलले बोल्नुपर्ने दुर्गेशको भनाइ छ ।

‘सबैसामु बोल्नुपर्‍यो, जुन उसले सक्दैन । उसैको गल्ती छ, त्यसैले सक्दैन । आफ्ना ३-४ जना खल्तीका पत्रकार र युट्युबरमात्र राखेर आफ्नो सकारात्मक पक्ष मात्र देखाउँदै हिँडेर हुँदैन । नेपालका सबै मिडियालाई अगाडि राखेर फेस गर्नुपर्‍यो । त्यसो गर्‍यो भने सबैलाई सहज हुन्छ ।’

जुत्ता प्रहारका बारेमा यसो भन्छन् दुर्गेशः

त्यो भाइ गाउँमा बस्ने सामान्य युवक रहेछ । परिवारको एक्लो छोरो अनि दिनभरि काम गरेर बेलुका घर आउने सामान्य परिवारको सदस्य । त्यो दिन ऊ रक्सी खाएर साथीहरुसँग कार्यक्रम हेर्न आएको रहेछ । त्यहाँ कोहीकोही लाएको लुगा, टोपी फुकालेर नाच्दै हुनुहुन्थ्यो । त्यो भाइ पनि नाच्दानाच्दै आफ्नो ग्रुपदेखि केही पर पुगेछ । नाच्दानाच्दै बीचमा भुईंमा जुत्ता भेटेछ । यो जुत्ता कसको भनेर सोधेर आफ्नो ग्रुपतिर फाल्दा स्टेजतर्फ आएर मलाई लागेको भन्ने उसको भनाइ छ । कलाकार, नेता वा अलि ठूलो व्यक्ति भएपछि र स्टेज चढेपछि कतिखेर के हुन्छ थाहा हुँदैन । हरेक कुराको सामना गर्नुपर्ने हुन्छ । जुत्ता, चप्पल जे पनि लाग्नसक्छ । त्यही भएर मैले त्यो भाइलाई केही भनिनँ ।

सर्वप्रथम त समाचार नै गलत छ । जुत्ता खायो भनेर लेखिरहेका छन् । त्यो भाइले जानेर होइन, झुक्किएर हान्दा लागेको हो भनेर समाचार आएको भए हुन्थ्यो । दुर्गेशलाई नै हानेको हो भन्ने बनाएपछि दर्शकले मैले जुत्ता खाएँ भन्ने बुझ्छन् । यदि खाएको हो भने त्यो पलकै कारणले हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *