यस्तो छ कञ्चनपुरका दुई पत्रकार पक्राउको अन्तर्य, एसपी र इन्स्पेक्टरलाई लैला मजनु भन्दै स्टाटस र कमेन्ट – Nepal Press

यस्तो छ कञ्चनपुरका दुई पत्रकार पक्राउको अन्तर्य, एसपी र इन्स्पेक्टरलाई लैला मजनु भन्दै स्टाटस र कमेन्ट

कैलाली । कञ्चनपुरमा शनिवार केही घण्टाको अन्तरालमा प्रहरीले दुई पत्रकारलाई पक्राउ गर्‍यो । माउन्टेन टेलिभिजनमा काम गर्दै आइरहेका पुष्कर भट्टलाई र निगरानी खबर तथा आवाज कुञ्ज पत्रिकाकी ऐश्वर्या कुवरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिवार पक्राउ गरेको हो ।

शुक्रवार नै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले शनिवार बिहान भट्टलाई र दिउँसो कुवरलाई पक्राउ गरेको हो । दुवै पत्रकार पक्राउ पर्दा पनि अहिले सम्म पत्रकार महासङ्घ तथा पत्रकारसँग सम्बन्धित सँग सङ्गठन कुनैले पनि विज्ञप्ति जारी गरेका छैनन् ।

पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामी सहितको एक टोली घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेको थियो । उनीहरूले दुवै पत्रकारको रिहाइको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भने आजै दुबैलाई छोड्ने मनसाय नदेखाएको भेटमा रहेका एक पत्रकारले जानकारी दिए ।

‘अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको रहेछ । दुवै पत्रकार विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दामा बलियो प्रमाण लिएर बसेको छ प्रहरी’ उनले भने ‘पत्रकार महासङ्घको टोलीसँग पनि प्रहरी उपरीक्षकले पत्रकारहरूको दोष भएको जिकिर गरे । ’
पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले आफूहरूले प्रहरी प्रमुख लाई भेटेर तत्काल पत्रकारहरूलाई रिहाइ गर्न माग गरेको बताए ।

किन पक्राउ परे पत्रकार ?

पछिल्लो केही दिनदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा र मुद्दा फाटको जिम्मेवारी सम्हालिरहेकी प्रहरी निरीक्षक बिनु शाहीविरुद्ध भट्ट र कुँवरले व्यक्तिगत रूपमै मान मर्दन हुने गरी स्टाटस लेखेको प्रहरीको दाबी छ ।

विद्युतीय कारोबार सम्बन्धी मुद्दा दायर गर्दा प्रहरी प्रमुख र प्रहरी निरीक्षकबीच लगाइएको आरोपहरूलाई प्रहरीले आधार बनाएको छ । केही समय अघि भट्टले प्रहरी प्रमुखलाई कमल थापा र प्रहरी निरीक्षक बिनु शाहीलाई बिनु थापा भनेर स्टाटस लेखेका थिए । केही समय पछि उनले शाही हुनुपर्नेमा थापा भएको भन्दै त्यसलाई सच्चाए ।

प्रहरी उपरीक्षक थापा र प्रहरी निरीक्षक शाहीलाई लिएर मान मर्दन हुने गरी स्टाटस र कमेन्ट गरेपछि भट्ट विरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

कुँवरलाई पनि त्यस्तै आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कुवरले ‘कञ्चनपुरमा लैला मजनुको मिडियामार्फत धोती खुस्किने भएपछि लैला बचाउमा मजनुको रस्सी कस्सी ’ लेखेकी थिइन् । प्रहरीले यसमा पनि आपत्ति जनाएको छ ।

सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुने गरी स्टाटस लेखेको उजुरी आएपछि पक्राउ पुर्जी लिएर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

उनले भने ‘व्यक्तिगत चरित्र हत्या हुनेरि स्टाटसहरु लेखेको भन्दै उजुरी परेपछि हामीले पक्राउ गरेको हो ।’

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले समाचार लेखेकै आधारमा कुनै पनि पत्रकारलाई पक्राउ गर्न नपाइने बताए ।
‘समाचार लेखेकै भरमा कुनै पनि पत्रकारलाई पक्राउ गर्न पाइँदैन ’ उनले भने ‘समाचार चित्त नबुझे अरू कानुनी बाटो हरू खोज्नु पर्छ तर पक्राउ गर्न पाइँदैन। ’

प्रहरी नायव उपरीक्षक डाँगीले भने पक्राउ परेकाहरूसँग समाचारको विषय नजोडिएको बताए ।

यी दुई पत्रकारले प्रहरी निरीक्षक बिनु शाहीलाई एसपी कमल थापाकी प्यारीजस्ता आपत्तिजनक र व्यक्तिगत लान्छानायुक्त शब्दहरु प्रयोग गरेर स्टाटस शेयर तथा समाचारहरुमा समेत त्यस्ता शब्द प्रयोग गरेको आरोप छ ।

विशेषगरी प्रहरी निरीक्षक बिनुको चरित्र हत्या गर्ने र उनलाई परपुरुषसँग जोडेर आरोपित गरेपछि साइबर क्राइम आकर्षित भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *