अग्ला घर र चिल्ला सडक हुनु मात्रै विकास होइन: न्यायाधीश खतिवडा – Nepal Press

अग्ला घर र चिल्ला सडक हुनु मात्रै विकास होइन: न्यायाधीश खतिवडा

डोटी । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले देशको समग्र विकासका लागि सामाजिक चेतनाको विकास गर्नु आवश्यक रहेको बताएका छन् ।

मेलमिलाप परिषद्ले जिल्ला सदरमुकाम दिपायलमा आयोजना गरेको मेलमिलापसम्बन्धी ८ दिने आधारभूत तालिम उद्घाटन गर्दै न्यायाधीश‌ खतिवडाले अग्ला घर र चिल्ला सडक बनाउनु मात्रै विकास नभएको बताएका हुन् ।

मेलमिलाप परिषद्का अध्यक्षसमेत रहेका उनले भने, ‘अग्ला घर र चिल्ला सडक बनाउनु मात्रै विकास होइन । ती संरचनाको संरक्षण गर्ने गरी सामाजिक चेतनाको विकास आवश्यक छ ।’

एउटाले गरेको विकासको अर्कोले संरक्षण गरेमात्र समग्र विकास सम्भव हुने उनको भनाइ छ ।

परिवार र समाजमा रहेका विवादहरु समाधान गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले भने, ‘मेलमिलापको माध्यमबाट समाजमा फाटेका मनहरु विश्वासिलो रुपमा सिउन सकिन्छ । यसले स्रोत र समयको समेत बचत हुनेछ ।’

तालिम फागुन ४ गतेसम्म चल्ने जिल्ला अदालत डोटीका तहसिलदार बसन्त पाध्यायले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *