‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित ! न्यायका लागि अदालत धाउँदै पीडित – Nepal Press

‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित ! न्यायका लागि अदालत धाउँदै पीडित

जनकपुरधाम । बलात्कार कुनै सामान्य अपराध होइन । मुलुकी अपराध संहिताको दफा २ (च) अन्तर्गत यो जघन्य अपराधको सूचीमा पर्छ । यो व्यक्तिविरुद्ध मात्रै नभएर सिंगो समाजविरुद्धकै अपराध हो । त्यसैले बलात्कारीलाई कडा कारबाही हुनुपर्ने माग अधिकारकर्मीहरु जोडतोडले उठाउँदै आएका छन् ।

तर, अनेक बहाना र आर्थिक चलखेलमा बलात्कारीहरु अदालतबाटै छुट्ने गर्छन् । महोत्तरीमा ‘फिल्मी शैली’मा एक बलात्कार आरोपित छुटेका छन् । बलात्कार जस्तो जघन्य अराधमा संलग्न व्यक्ति एक महिना थुनामा नबसी ‘फिल्मी शैली’मा छुटेका हुन् ।

‘मानसिक सन्तुलन ठीक नरहेको’ नाटक गरेपछि बलात्कार आरोपमा थुनामा गराएका आरोपितलाई अदालतले धरौटीमा छाडिदिएको पीडित पक्षको आरोप छ ।

उनी हुन् महोत्तरीको मटिहानी नगरपालिका- ३ का कैसर अली । अन्दाजी ३७ वर्षीय कैसर मोलवी हुन् । उनी गाउँकै मदरसामा मुस्लिम समुदायका बालबालिका पढाउँथे । मदरसामा बालबालिका पढाउने शिक्षकलाई ‘मोलवी’ भनिन्छ ।

गएको असोज २५ मा मदरसा भएकै टोलकी एक महिला (२१ जलेश्वर)लाई जबरजस्ती करणी गरेको आरोप कैसरमाथि छ । पीडित महिलाले जबरस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय जलेश्वरमा दर्ता गराएपछि उनी फरार भएका थिए ।

जाहेरी परेपछि तीन महिना बढी सम्पर्कविहीन बनेका कैसर पुस १८ मा जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । प्रहरीले उनलाई अदालतमा पेश गर्‍यो । अदालतले पुर्पक्षका लागि उनलाई थुनामा पठायो । तर, २२ दिनमै उनी छुटे । माघ १० गते अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको बुझिएको छ ।

कैसर छुटेको थाहा पाएपछि पीडित परिवार असुरक्षित बनेका छन् । छुटेलगत्तै धाकधम्की दिन थालेको पीडितका पतिले बताए ।

उनले भने, ‘बलात्कार जस्तो घटना घटाउने व्यक्ति एक महिना नबित्दै कसरी छुटे ? छुटेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय जलेश्वर पुगे । त्यहाँका डीएसपीले ‘यति छिटो छुट्नै सक्दैन, छुटेको छैन’ भनेपछि घर फर्के । तर, बिहानै गाउँमा घुमिरहेको देखें ‌।’

कैसरलाई गाउँमा देखेपछि आश्चर्य लागरे अदालतमा बुझ्न जाँदा एक कर्मचारीले एक लाख रुपैयाँ धरौटीमा छुटेको बताएको उनले बताए ।

‘सोधखोज गर्दा उनले जेलमा नाङ्गै घुम्न थालेको र मानसिक सन्तुलन गुमेको नाटक गरेको रहेछ । त्यही बहानामा अदालतले उनलाई छाडेको थाहा पाएँ’, पीडितका पतिले सुनाए । नाटकीय ढंगले छुटेका कैसरलाई पुनः पक्राउ गर्न माग गर्दै उनले उच्च अदालत जनकपुरमा रिट हालेका छन् । उनी चार दिनदेखि उच्च अदालत धाइरहेका छन् ।

कसरी भयो घटना ?

पीडितका पति सिटी रिक्सा चलाउँछन् । आम्दानीको अन्य कुनै स्रोत छैन । केही दिनअगाडि मात्रै उनले ऋण लिएर सिटी रिक्सा किनेका थिए ।

घटना भएको दिन रिक्सा लिएर उनी धनुषाको लोहनामा आयोजित जलसामा पुगेका थिए । राति घर फर्किन सकेनन् । पत्नीले उनलाई फोन लगाइन् । त्यो फोन मोलवी कैसरको मोबाइलमा गयो ।

पत्नी पढेलेखेकी छैन् । मोबाइलमा मोलवी कैसरको नम्बर सेभ थियो । उनका छोरालाई मदरसामा उनै मोलवीले पढाउँछन् । त्यसैले उनको घरमा मोलवी आवतजावत थियो ।

पतिलाई सोधखोज गरेको फोन आफूलाई आएपछि मोलवी कैसरको मनमा पाप जाग्यो । फोनमा मोलवीले आफू घरमा आउँ भनी सोधेको ती महिलाले बताइन् ।

उनका अनुसार आफूले गल्तीबस फोन आएको भनेर फोन राख्न नपाउँदै मोलवी ढोका तोडेर घर आएको र आफ्नो मोबाइल खोसेर कुट्दै जबरजस्ती करणी गरे । आफू कराएको सुनेर सुतिराखेका छोरा उठेपछि मात्रै मोलवी भागेको पीडित महिलाले नेपालप्रेससँग भनिन् ।

भोलिपल्ट बिहान पति आएपछि आफूले रातिको घटना सुनाएको उनले बताइन् । पतिले उनलाई उपचारका लागि अस्पताल लगे र त्यसपछि प्रहरीकहाँ पुगेका थिए ।

प्रहरीको महिला सेलमा घटना सविस्तार सुनाएपछि उजुरी लेखेर ल्याउन भनिएको उनका पतिले बताए । उनले भने, ‘प्रहरीले जाहेरी लेखाएर ल्याउन भन्यो । वकिलहरुकहां गएपछि कोहीले ८ हजार त कोहीले १५ हजार रुपैयाँ माग्यो जाहेरी लेख्न । त्यति रुपैयाँ थिएन, अनि घर फर्के ।’

उनका अनुसार आरोपितका मान्छेहरुले मिलापत्र गर्न धेरै दबाब दिएका थिए । ‘१० लाख रुपैयाँमा मिलापत्र गर्न पनि दबाब दियो । म जसरी पनि न्यायका लागि लड्छु, पैसाको लोभमा पर्दिनँ भने’, उनले थपे, ‘पैसा अभावमा जाहेरी लिएर गएका थिएनौं । जिल्ला प्रहरी कार्यालयमा पुगेर पैसा छैन, के गर्ने भन्दा प्रहरीले उल्टै तिमीहरु पैसा लिएर मिलापत्र गर्ने भनेर मेरी पत्नीलाई नै थुनिदियो । पैसा लिएर मिलापत्र गरेछ भनरे कसैले प्रहरीलाई भनेको रहेछ ।’

त्यसपछि आफूले जसरी पनि आरोपितमाथि मुद्दा दर्ता गराउने भनेपछि प्रहरीले पत्नीलाई छाडेको उनले सुनाए । उनका अनुसार जाहेरी दिन ऋण खोज्दा कसैले दिएनन् ।

गहना बेचेपछि प्रहरीले निःशुल्क लेखिदियो जोहरी

कतैबाट ऋण नपाएपछि पत्नीको गहना ३० हजारमा बचेको उनले बताए । गहना बेचेको पैसा लिएर जिल्ला प्रहरी कार्यालय पुगेपछि डीएसपीले एकजना प्रहरीलाई बोलाएर निःशुल्क जोहरी लेखिदिएर दर्ता गराएको उनले बताए ।

प्रहरीबाट अदालत पुगेको मुद्दामा आफूले अहिलेसम्म न्याय नपाएको पीडितहरुको गुनासो छ । श्रमितीको न्यायका लागि अदालत धाइरहेका पतिको प्रश्न छ, ‘अदालतमा पनि चलखेल भयो । मैले कहिले न्याय पाउने ?’

जेलमा मोलवीको नाटक !

करिब २ वर्ष अगाडि कैसर मोटरसाइकल दुर्घटनामा परेका थिए ‌। विराटनगरमा उपचार गराए । त्यहांका चिकित्सकले टाउकोको अप्रेशन गर्नुपर्छ भनेपछि आफ्नो परिवारले उपेन्द्र देवकोटा मेमोरियल अस्पताल बाँसबारी काठमाडौंमा लगेपछि अवस्थामा सुधार भएको कैसरले बयानमा भनेका थिए ।

उनले बयानमा भनेका थिए, ‘डाक्टरको सल्लाहअनुसार बेलाबखत उपेन्द्र देवकोटा मेमोरियल अस्पताल बाँसबारी काठमाडौंमा उपचार गराई आउने गरेको र सोही अस्पतालको सिफारिसमा औषधिसमेत सेवन गर्दै आएको छु ।’

तर, उक्त बयानपछि उनी थुनामा नाङ्गो भएर घुम्न थालेको बताइएको छ । उनको गतिविधिकै आधारमा अदालतले पनि कैसरलाई उपचार गराउनू भनी धरौटीमा छाडेको प्रहरीले जनाएको छ । तर, अहिले उनी गाउँमा निष्फ्रिकी घुमिरहेका छन्, कुनै स्वास्थ्य समस्या देखिँदैन ।

पीडितका पति भन्छन्, ‘घटनाको अघिलो दिनसम्म स्वास्थ्य ठीक थियो । उनी मदरसामा पढाउँथे । घटनापछि कसरी मानसिक सन्तुलन गुम्यो ? यो सबै उनको नाटक हो । जेलमा पागल थियो भने बाहिर निस्किने लगत्तै कसरी ठीक भयो ?’

अदालतमा रकमको चलखेल गरी नाटकीय ढंगले कैसर छुटेको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर