लुम्बिनी प्रादेशिक अस्पतालमा पीआईसीयू सेवा सुरु – Nepal Press

लुम्बिनी प्रादेशिक अस्पतालमा पीआईसीयू सेवा सुरु

रुपन्देही । लुम्बिनी प्रदेशमा बढ्दै गएको नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पीआईसीयू) सेवा सुरु गरेको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले उक्त सेवाको उद्घाटन गरेका छन् ।

परिवारका सदस्यहरू र विशेषज्ञसहित बच्चा जन्माउने सुविधासहितको बर्थिङ सेन्टर र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न पीआईसीयू सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताए ।

उक्त अवसरमा स्वास्थ्यमन्त्री खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पताल व्यवस्थापन गर्दै आएको बताए ।

उनले अस्पतालहरूमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई चिर्ने काम भइरहेको बताउँदै जनताले अहिले विश्वास गर्ने अस्पतालको रुपमा विकास हुँदै जानु राम्रो पक्ष भएको जनाए ।

प्रादेशिक अस्पतालमा रोकिएको भवन निर्माणको काम पनि सुरु गर्न कानूनी अड्चन हटेको बताउँदै ८०० बेड क्षमताको भवन निर्माण कार्य सुरु हुने उनको भनाइ छ ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक डा. विनोद गिरीले सामान्य केसहरूलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

अस्पतालमा सुरु भएको बर्थिङ सेन्टरको बेड बढाउन आवश्यक रहेको भन्दै उनले आमा र बच्चा रिफर गर्न नपर्ने अवस्था सिर्जना गर्न आग्रह गरे ।

बालरोग विभाग प्रमुख डा. किरणमणि पौडेलले बालबालिकाको स्याहारसुसारमा समस्या रहेको अवस्थामा अहिले निकै राम्रा पहलहरू भइरहेको बताए । उनले प्रदेश सरकारको सहयोगमा ६ बेडबाट सुरु गरेको र गुणस्तरीय सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता बताए ।

प्रसूति विभाग प्रमुख डा. भक्तबस्य राउतले नवजात शिशु मृत्युदर र मातृ मृत्युदर घटाउन यो प्रभावकारी हुने बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तारसँगै गुणस्तरीय सेवा दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर