डा. रामेश कोइरालाको चेतावनी फासफुस, एक दिन घरायसी विदा बसेपछि नियमित काममा – Nepal Press

डा. रामेश कोइरालाको चेतावनी फासफुस, एक दिन घरायसी विदा बसेपछि नियमित काममा

ट्विटरमा अचानक निस्क्रिय बने ‘गुगल डाक्टर’

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले बिरामीको शल्यक्रिया नगर्ने व्यक्तिगत अडानबाट आफैँ ब्याक भएका छन् ।

सांसद सुमना श्रेष्ठले आफूमाथि प्रश्न उठाएको भन्दै उनले यो विषयको किनारा नलागेसम्म अपरेशन नगर्ने घुर्की सामाजिक सञ्जालबाट दिएका थिए ।

कोइरालाले गत माघ १० गते एउटा ट्विट गर्दै माघ १४ गते (अघिल्लो आइतबार) बाट बिरामीको शल्यक्रिया नगर्ने बताएका थिए । त्यसमा उनले निकै आलोचनाको सामाना गर्नुपर्यो ।

ट्विटरबाट सबैभन्दा प्रश्न उठाउने व्यक्तिले आफूलाई भने प्रश्नभन्दा माथि राखेको धेरैले टिप्पणी गरे ।

त्यसको ३ दिनपछि माघ १३ गते उनले अर्को ट्विट गरेर भोलि (आइतबार) बाट अपरेशन नगर्ने दोहोर्याए । तर आइतबार उनी अस्पताल गएर खुरुखुरु काम गरे । सोमबार भने विदा बसे । उनले घरायशी काम भन्दै एक दिनका लागि विदा मागेका थिए ।

आफूले शल्यक्रिया नगर्ने भनेर कुनै पनि सूचना वा जानकारी दिएका थिएनन् । अस्पताल स्रोतका अनुसार मंगलबारबाट फेरि उनी नियमित अस्पताल आएर काम गरिरहेका छन् ।

ट्विटरमा अत्यधिक सक्रिय डा.कोइराला केही दिनदेखि चुपचाप देखिन्छन् । पहिले दैनिक २–४ वटा ट्विट गर्ने उनी एकाएक गुमानाम बनेका हुन् । २७ जनवरीयता डा. कोइरालाको नयाँ ट्विट आएको छैन । आफ्नो पेशागत सरोकारबाहिरका हरेक विषयमा विज्ञजसरी टिप्पणी/कटाक्ष गर्ने प्रतिभाका कारण  उनलाई ट्विटरमा ‘गुगल डाक्टर’ भन्ने गरिएको छ ।

डा.कोइरालाको एउटा ट्विटलाई आधार बनाएर रास्वपा सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सीललाई केही प्रश्न सोधेकी थिइन् । त्यसैबाट झोक्किएर कोइरालाले अपरेशन नै नगर्ने घुर्की देखाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर