उपेन्द्र यादवको दाबी- मल्ल राजाको पालामा दरबारिया भाषा मैथिली थियो – Nepal Press

उपेन्द्र यादवको दाबी- मल्ल राजाको पालामा दरबारिया भाषा मैथिली थियो

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देशमा गणतन्त्र आएपनि एक भाषा एक भेषको नीति कायम रहेको बताएका छन् ।

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राज्यसत्ताले मैथिली भाषासँग भेदभाव कायम राखेको बताए । उनले भने, ‘प्रभुत्व जब राज्यसत्ता र शक्तिमाथि जम्यो । एक भाषा एक भेषको निती लियो । त्यसपछि विस्तारै मैथिली भाषा, मैथिली साहित्य र मिथिलाभाषीको पहिचानलाई विस्तारै दबाउन थाल्यो ।’

‘मल्ल राजाहरुको कालमा दरबारिया भाषा मैथिली थियो’, अध्यक्ष यादवले भने, ‘काठमाडौंमा प्रताप मल्ल, हरिसिद्धि मल्ल, सिद्धि नरसिंह मल्लसहित धेरै मल्ल राजाको कालमा दरबारिया भाषा मैथिली थियो । त्यतिबेला दरबारमा मैथिली भाषाको नाटकलाई प्राथमिकता दिन्थ्यो ।’

मल्ल कालमा दरबारियाले कैयौ मैथिली नाटक रचना गर्न लगाएको भन्दै उनले राज्यसत्ता र शक्ति एक खास विशेषको हातमा पुगेपछि मैथिली भाषा विभेदमा परेको तर्क गरे । उनले भने, ‘हामीले नेपाली भाषालाई सम्मान गर्छौं । तर नेपालीभाषी मैथिलीको कति सम्मान गर्छन् इतिहासले बताउँछ ।’

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अब विभेद अन्त्य भएको बताएका थिए । उनलाई लक्षित गर्दै अध्यक्ष यादवले भने, ‘अहिले पनि विभेद कायम छ । काँग्रेसका सहमहामन्त्री महेन्द्र जी अहिले पनि एक भाषा एक भेषकै नीति छ । जिल्ला प्रशासन कार्यालयमा जानुस् त मैथिली भाषामा निवेदन लिन्छ ? लिदैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर