माधवको दस्तावेज- कम्युनिष्टबीचको एकताले सार्थकता नपाउँदा सरकारको स्थिरतामा प्रश्न उठ्दैछ – Nepal Press

माधवको दस्तावेज- कम्युनिष्टबीचको एकताले सार्थकता नपाउँदा सरकारको स्थिरतामा प्रश्न उठ्दैछ

'संसदमा विभिन्न चरित्रका राजनीतिक शक्तिहरूबीच द्वन्द्व चलिरहेको छ, एमाले अत्यन्त गैरजिम्मेवार'

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी गठनको घोषणा गरेदेखि निरन्तर अहिलेसम्म नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने मान्यता अघि सार्दै बताएको छ ।

केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी निर्माणको क्रममा अहिलेसम्म कतिपय साना घटकहरुलाई पार्टीमा एकताबद्ध गरेको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, अहिले पनि कम्युनिष्ट क्रान्तिकारीहरु विशेषगरी समाजवादको पक्षमा तथा समाजवादी कार्यदिशा अवलम्बन गर्ने कम्युनिष्टहरुको बीचमा एकता हुनुपर्दछ भन्ने विषयमा जोड दिइरहेका पनि छौं । तर पनि तत्काल कम्युनिष्ट पार्टीहरुको बीचमा पार्टी एकता गर्ने विषयले सार्थकता पाउन सकेको छैन ।

लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र विकास गर्ने, समाजवादको पक्षमा रहेको मुलुकको वर्तमान संविधानलाई रक्षा, विकास र समृद्ध गर्ने, पुनरुत्थानवादी, यथास्थितिवादी, पश्चगामी र प्रतिगामीहरुको सामाजिक सद्भावलाई खलवल्याउने र मुलुकलाई प्रतिगमन र पश्चगमनको दिशामा धकेल्ने षडयन्त्र भइरहेको उल्लेख गरेका छन् ।

देशमा भएको समस्याको समाधान गर्दै कम्युनिष्ट तथा वामपन्थीहरुलाई एकताबद्ध र एकीकृत गर्न ऐतिहासिक महत्वको भूमिका खेल्ने अपेक्षा प्रतिवेदनमा छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थामा हामीले समाजवादी कार्यदिशा अँगालेर अगाडि बढ्ने अठोट गरेको छ । नेपाली विशेषताको समाजवाद निर्माणका लागि दृष्टिकोण, सिद्धान्त, कार्यक्रम र विचारको सवालहरुमा एकरुपता कायम गरी पार्टीलाई सैद्धान्तिक तथा वैचारिक जगमा एकताबद्ध गर्न आह्वान गरेका छन् ।

संघीय र सबै प्रदेशमा गठबन्धनका सरकारहरु बनेको उल्लेख गर्दै उनले दलहरुबीच आपसी समझदारीका साथ काम हुनपर्छ भन्नेमा पार्टीले जोड दिए ।

प्रतिवेदनमा भनिएको छ, ‘यतिवेला मुलुकमा राजनीतिक स्थिरता र सरकारको स्थिरताको प्रश्न पनि उठिरहेको छ । यसको मुख्य कारण सदनभित्र गणतन्त्रवादी र गणतन्त्रविरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयताविरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् । यी शक्तिहरूबीच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ । यसरी चलिरहेको द्वन्द्वले गर्दा मुलुकमा राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले भइरहेको छ ।’

सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैरजिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको उनले आरोप लगाए । विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत गरेको नेकपा एसको बुझाइ छ ।


प्रतिक्रिया

One thought on “माधवको दस्तावेज- कम्युनिष्टबीचको एकताले सार्थकता नपाउँदा सरकारको स्थिरतामा प्रश्न उठ्दैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर