सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो कार्यदल – Nepal Press

सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनायो कार्यदल

काठमाडौं । सवारी दुर्घटना सँगसँगै मानवीयउ क्षति बढ्न थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका हुन् ।

सडक दुर्घटनाका त्रुटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदसीय कार्यदल गठन गरिएको छ । कार्यदलमा संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका इ. श्यामबहादुर खड्का, सवारी अनुगमण मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सीडीई सुरेश श्रेष्ठ सदस्य सचिव रहनेछन् ।

कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्ने गरी जिम्मेवारी दिइएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए । त्यस्तै थानकोट चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो ।

शनिबार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताए ।

उनका अनुसार कार्यदलललाई सडक दुर्घटना न्यूनीकरणका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरु सुझाउन पनि जिम्मेवारी दिइएको छ ।

सडक सुरक्षा परिषद्को आइतबार बसेको बैठकले पनि चार वटा निर्णय गरेको छ । मन्त्रालयका सचिव केशव शर्माको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनाको अध्ययन समिति बनाउने, सडक सुरक्षाविज्ञहरुको सूची तत्काल तयार गर्ने, तालिम र जनचेतनामा तत्काल काम थाल्ने र सडक सुरक्षा सम्बन्धमा बनेको विधेयक माथिल्लो समितिमा पठाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *