सन्दीपले आफैं टीम छोडिसकेपछि ‘निलम्बन’ घोषणा गरिएकोमा क्यानभित्रै असन्तुष्टि – Nepal Press

सन्दीपले आफैं टीम छोडिसकेपछि ‘निलम्बन’ घोषणा गरिएकोमा क्यानभित्रै असन्तुष्टि

बोर्ड सदस्य पाठक भन्छन्- सफाइ नपाउँदासम्म आफैंले नखेल्ने भनिसकेको थियो, क्यानले हतारिएर निर्णय गर्नुपर्ने आवश्यकता नै थिएन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरिएको विषयलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) भित्रै असन्तुष्टि देखिएको छ । सन्दीप आफैंले क्यानलाई राजीनामा पठाइसकेपछि त्यसलाई स्वीकृत गर्नुको साटो ‘पपुलिस्ट’ बन्न खोजेको आरोप एक बोर्ड सदस्यले नै लगाएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै क्यान केन्द्रीय सदस्य तथा पूर्वप्रवक्ता दुर्गाराज पाठकले यो निर्णय अपरिपक्व र असान्दर्भिक रहेको बताए । अदालतले नै दोषी ठहर गरिसकेको तथा सन्दीपले स्वघोषणा गरिसकेको अवस्थामा क्यान बोलिरहन आवश्यक नै नपर्ने उनको भनाइ छ ।

‘अदालतबाट दोषी प्रमाणित भएको खेलाडीले खेल्न पाउने/नपाउने विषयमा कुनै कानूनी व्यवस्था छैन’, पाठक भन्छन्, ‘कुन कानूनमा टेकेर निलम्बनको निर्णय भयो, हामी नै अन्योलमा परेका छौं ।’

उनले सन्दीपको विषयमा छलफल गर्न क्यानको बोर्ड मिटिङसमेत नडाकिएको बताए । क्यान अध्यक्ष र सचिवले सल्लाह गरेर विज्ञप्ति निकालेको हुनसक्ने भन्दै उनले यो अभ्यासमा पनि प्रश्न उठाएका छन् ।

‘यस्ता संवेदनशील विषयमा बोर्ड बैठक बोलाएर छलफल गरिनुपर्ने हो । तर, तजबिजी रुपमा निर्णयहरु भइरहेका छन्’, उनले थपे ।

जिल्ला अदालत काठमाडौंले दोषी ठहर्‍याएलगत्तै सन्दीप आफैं क्रिकेटबाट अलग भएका थिए । त्यसबेला वीरगञ्जमा भएको प्रो-क्लव च्याम्पिसनशिप खेलिरहेका उनी अदालतको फैसलापछि प्रतियोगिताको फाइनलमा सहभागी भएनन् ।

अदालतले गत २५ पुसमा सजाय निर्धारणसम्बन्धी फैसला गरेपश्चात सन्दीपले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्राचार गर्दै क्रिकेटबाट अलग भएको घोषणा गरेका थिए । पत्रमा सन्दीपले सफाइ नपाउञ्जेल कुनै पनि स्तरको क्रिकेट नखेल्ने भन्दै आफूलाई निलम्बन गरिरहन आवश्यक नरहेकोसमेत बताएका थिए ।

त्यसको भोलिपल्ट क्यान अध्यक्ष चन्दले एक विज्ञप्ति निकाल्दै सन्दीपलाई निलम्बन गरिएको घोषणा गरे । क्यानमा अहिलेसम्म कुनै पनि विज्ञप्ति वा सूचना निकाल्दा सचिवले हस्ताक्षर गर्ने अभ्यास छ । तर, यो विज्ञप्तिमा भने सचिव पारस खड्काको साटो अध्यक्ष चन्दले नै हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा सन्दीपले पठाएको ‘राजीनामा’ को पत्रबारे केही उल्लेख छैन भने निलम्बनको अवधिबारे पनि केही उल्लेख छैन ।

त्यसो त चन्द स्वयम् पनि कानूनी व्यवस्था नभएकाले निलम्बन भनिरहनु नपर्ने पक्षमा नै थिए । तर, उनी स्वयम् दबाबमा परेको स्रोतको भनाइ छ । स्रोतका अनुसार यस्तो दबाब बाह्य र आन्तरिकसमेत थियो । बाह्य दबाब स्पष्ट भए पनि आन्तरिक दबाब कसको थियो भन्ने स्रोतले बताउन चाहेन ।

बोर्ड सदस्य पाठक क्रिकेट खेलाडीहरुको अभिभावक संस्थाको रुपमा अहिलेको नेतृत्वले भूमिका निभाउन नसकिरहेको दाबी गर्छन् ।

उनले थपे, ‘सन्दीपकै हकमा पनि उसले उच्च अदालतमा पुनरावेदन दिनसक्ने अप्सन बाँकी नै छ । पुनरावेदनको फैसलाबाट यदि सफाइ पायो भने फेरि क्रिकेटमा फर्किन सक्छ । सफाइ नपाउँदासम्म आफैंले नखेल्ने भनिसकेको थियो । क्यानले हतारिएर निर्णय गर्नुपर्ने आवश्यकता नै थिएन । खेलाडीलाई अभिभावकत्व दिनुपर्ने निकायले नै अनावश्यक पेलेको जस्तो देखियो । अहिले निलम्बन नगरेको भए माथिल्लो अदालतमा सन्दीपलाई अलिकति सजिलो पनि हुन सक्थ्यो ।’

यसअघि बलात्कार आरोपमा सन्दीपमाथि मुद्दा दायर भएपछि क्यानले उनलाई अनुशासनको कारबाही गर्दै निलम्बनमा राखेको थियो । त्यसपछि जिल्ला अदालतले उनलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दियो । त्यसपछि सन्दीपले उच्च अदालतमा पुनरावेदन गरे । उच्चले उनलाई छोड्ने आदेश दियो । सन्दीप थुनामुक्त भएपछि त्यसबेला क्यानको बोर्डले तत्कालै टीममा फर्काउने निर्णय लियो । यो निर्णयमा तत्कालीन कार्यवाहक सचिव पाठकको प्रमुख भूमिका थियो ।

उनी भन्छन्, ‘त्यसबेला मैले त्यत्रो आलोचना सहेर पनि सन्दीपलाई टीममा फर्काउने निर्णय गराएको थियो । अन्ततः त्यो निर्णय नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण सावित भयो । नेपाली क्रिकेट गर वा मरको अवस्थामा रहेको बेला सन्दीपले महत्वपूर्ण प्रतियोगिताहरुमा नेपाललाई जिताए । अहिलेको नेतृत्वले भने आलोचनासँग डराएर सन्दीपमाथि कठोरता देखायो ।’


प्रतिक्रिया

One thought on “सन्दीपले आफैं टीम छोडिसकेपछि ‘निलम्बन’ घोषणा गरिएकोमा क्यानभित्रै असन्तुष्टि

  1. पल साह र समिक्ष्या को बिचमा जसरी दुर्गेश थापा (हरु) ले खेले सन्दिप र गौ-२६ बीचमा त्येस्तै आपराधिक जमातले खेल्दै छ !! खुट्टा तान्ने प्रवृत्तिको निरन्तरता : असक्ष्यमले आफु अघि कोहि पुग्य भने चलाउने अस्त्र ‘युवती’ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *