चितवनको माडीमा बढ्दो दुर्व्यसनी : विद्यार्थी रक्सी बोकेर कक्षामै गएपछि… (भिडिओ) – Nepal Press

चितवनको माडीमा बढ्दो दुर्व्यसनी : विद्यार्थी रक्सी बोकेर कक्षामै गएपछि… (भिडिओ)

सचेतना जगाउँदै युवा

चितवन । माडीको एक विद्यालयका शिक्षकले कक्षा ७ मा पढ्ने विद्यार्थीले कक्षाकोठामा नै रक्सी लिएर गएर गएर भेट्टाए । मिनरल वाटरको बोतलमा घरेलु रक्सी राखेर कक्षाकोठामा लगेको पाइएपछि शिक्षकले विद्यार्थीलाई चेतावनी दिए ।

दुई महिनाअघिको यो घटनाबारे शिक्षक तथा विद्यालय व्यवस्थापन समिति सदस्यले अभिभावकलाई पनि सूचना गरे । घरमै रक्सी बनाउने भएकोले कक्षा ७ मा नै पढ्ने छोरीले बोतलमा राखेर रक्सी विद्यालय लगेको आफूले थाहा नपाएको अभिभावकले बताए ।

माडीमा नगरपालिकामा घरेलु मदिरा र बढ्दो कुलतको प्रयोग विद्यालयमा पढ्ने विद्यार्थीमा मात्रै होइन । यो समस्या समुदायस्तरमा पनि बढ्दै गएर मदिराका कारण सामाजिक समस्या थपिन थालेपछि यहाँका सरोकारवाला चिन्तित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार चितवनको माडीमा चालु आर्थिक वर्षको ६ महिनामा १० जनाले आत्महत्या गरेका छन् । आत्महत्याको कारणहरूमध्ये पनि अधिकांश मदिराजन्य कुलत रहेका प्रहरीको अध्ययनले देखाएको छ ।

गएको मंसिरमा माडी ९ का ६० वर्षका मनराज दुराले आत्महत्या गरे । उनी भारतीय सैनिक सेवाबाट अवकाशप्राप्त व्यक्ति थिए । अत्यधिक मदिरा सेवन गर्ने बानी भएपछि परिवारले उनलाई मदिरा सेवन गर्न रोकेका थिए । प्रहरीका अनुसार दुराले रक्सी पिउन नपाएको चौथो दिनमा आत्महत्या गरेका थिए ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दीपक रिजाल माडीका घटनाहरूबारे विश्लेषण गर्दै भन्छन्, — घरेलु मदिरा जस्ता कुलतका कारण आत्महत्या, लैङ्गिक हिंसा लगायतका घटना थपिँदै गएको छ ।

विद्यालय तहमा पनि यो समस्या बढ्दै गएपछि चिन्तित भएर माडी नगरपालिकाले आफ्नो कार्यपालिका बैठकबाट विद्यालयको एक सय मिटर आसपास मदिरा, पान, गुड्का लगायतका कुलतजन्य सामग्री बिक्रीमा रोक लगाउने निर्णय गरेको छ ।

माडीको सोमेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति समेत रहेका माडीका अगुवा टिकाराम सुवेदी भन्छन्, — समुदाय हुँदै विद्यालयसम्म आइपुगेको कुलतको समस्याले हामीलाई निकै अप्ठ्यारो पार्न थालिसकेको छ ।

सोमेश्वर माध्यमिक विद्यालयकै प्राचार्य इन्दिरा तिवारी पनि विद्यालयमा कक्षा ६ ७ देखि नै विद्यार्थीहरूमा कुलतको समस्या देखिएकोमा चिन्तित छन् । उनले नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, प्रहरी लगायतका सर्वपक्षीय बैठकमा पनि समुदायको कुलतको प्रभाव विद्यालयमा देखिन थालेको भन्दै यसको समाधानको लागि अनुरोध समेत गरेकी थिइन् ।

माडी नगरपालिकामा कुल १० हजार २ सय २७ परिवारसंख्या रहेको छ । त्यसमध्ये अधिकांश आदिवासी जनजाति समुदायको बसोबास रहेको छ । नगरपालिकाका प्रमुख ताराकाजी महतो मदिरालाई सगुन मानेर पर्व मनाउने समुदाय भए पनि मदिरालाई लतको रूपमा उपयोग गर्न नहुने बताउँछिन् ।

उनले सार्वजनिक कार्यक्रममा नै आफ्नो परम्परादेखि नै मदिरा खाने छ भनेर बेवास्ता गर्न नहुने बताइन् । मदिरा तथा अन्य चुरोट, भोला, गाँजा लगायतका कुलतका कारण बालबालिका तथा समुदायको शान्ति नै प्रभावित हुन थालेको भन्दै उनले सचेत हुन सबैलाई आग्रह समेत गरेकी छन् ।

सचेतना जगाउँदै युवा

माडी नगरपालिकामा घरेलु मदिरा तथा अन्य कुलतहरूको प्रयोग समुदाय स्तरका व्यक्ति तथा युवाहरूमा बढ्दै गएको कारण समाजमा अपराधहरू बढ्दै गएका तथ्यांकहरु सार्वजनिक हुन थालेपछि यहाँका युवाहरूले जनचेतना अभियान थालेका छन् ।

यहाँका युवाहरूले सिर्जनात्मक तरिकाले जनचेतनाको अभियान थालेका हुन् । बागमती प्रदेश युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति चितवनको अगुवाइमा यहाँका युवाहरूले सडक नाटक मार्फत टोल टोलमा पुगेर दुर्व्यसनी नियन्त्रणको लागि अभियान थालेका हुन् ।

पहिलो चरणको अभियान कार्यक्रम अन्तर्गत माडीको विभिन्न चार स्थानमा यहाँका युवाहरूले सडक नाटक प्रदर्शन गरेका छन् । विद्यालयका किशोर किशोर किशोरी लागूऔषध प्रयोगकर्ता, ओसारपसार गर्ने कार्यमा समेत संलग्न रहेको अभियोगमा प्रहरी तथा स्थानीयहरूले युवाहरू भेटिन थालेको घटनाहरू सार्वजनिक भएपछि यस्ता घटना नियन्त्रणको लागि जनचेतनाको अभियान थालिएको प्रदेश युवा परिषद् चितवन जिल्ला समिति संयोजक रामचन्द्र लम्सालले जानकारी दिए ।

पहिलो चरणको जनचेतना अभियानमा आफै भित्र छ मजा शीर्षकको युवा केन्द्रित नाटक उनीहरूले प्रदर्शन गरेका हुन् । नाटकमा कुलतमा फसेका तीन युवाको कथा आत्मपरक शैलीमा निर्माण गरिएको छ । अभिभावकको रेखदेखको अभाव र उनीहरूमा जीवनप्रतिको सचेतना नहुँदा कसरी युवाको जीवन कुलतले बरबाद पार्छ भन्ने कथा नाटकले बोकेको छ ।

भूपराज पाठकको परिकल्पना, सरद भण्डारीको लेखन र सुमन तिमल्सिनाको निर्देशनमा बनेको नाटक माडी रंगमञ्चले प्रदर्शन गरेको हो । नाटकले युवा र अभिभावकलाई चेतनशील बनाउने प्रयास गरेको परिकल्पनाकार भूपराज पाठकले जानकारी दिए ।

माडीका अगुवा युवा विपिन पाठकले सचेतनाको अन्य कार्यक्रम पनि माडीमा जरुरी भएको बताए । उनले युवाहरूलाई कुलतबाट जोगाउनको लागि सबै पक्षले समयमा नै सचेतनाको अभियान चलाउन सके मात्रै माडीमा कुलतबाट आउने सामाजिक समस्या बेलैमा रोक्न सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *