कुमाल जाति मधेशी कि अल्पसंख्यक आदिवासी ? मधेशी आयोगले सूचीकरण गरेपछि विवाद – Nepal Press

कुमाल जाति मधेशी कि अल्पसंख्यक आदिवासी ? मधेशी आयोगले सूचीकरण गरेपछि विवाद

चितवन । कुमाललाई नेपाल सरकारले भित्री आदिवासी जनजाति मध्ये सीमान्तकृत समुदायमा राखेको छ । अझ पछिल्लो जनगणना अनुसार कूल जनसंख्याको शून्य दशमलव ५० प्रतिशत भन्दा कम जनसंख्या भएकोले कुमाल अल्पसंख्यक जातिमा पनि पर्दछ ।

केही भित्री मधेशसहित पहाडी क्षेत्रमा बसोबास रहेको कुमाल जातिलाई मधेशी आयोगले भने मधेशी जाती अन्तर्गत समेटेको पाइएको छ ।

मधेशी आयोगको अघिल्लो आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७८/०८९ को वार्षिक प्रतिवेदनको अनुसूची ५ मा थर सूचीकरण अन्तर्गत कुमाल जातिलाई मधेशी समुदायमा राखिएको हो ।

मधेशी आयोगले आफूहरूलाई मधेशी अन्तर्गत समावेश गरी मधेशी जातिको जनसंख्या बढाउने प्रपञ्च गरेको भन्दै कुमाल समुदायले भने आपत्ति जनाएका छन् । मधेशी आयोगको प्रतिवेदनको अनुसूची ५ (२०) मा कुमाल जातका थरहरू मधेशी जातिमा पर्ने उल्लेख गरिएको छ ।

कुमाल समाज नेपालका अध्यक्ष तेलबहादुर कुमालले मधेशी आयोगले आफ्नो संख्या बढाउन कुमाल आदिवासी जनजातिको पनि सीमान्तकृत समुदायमा रहेको आफ्नो समुदायलाई मधेशी जातिको समूहमा राखिएको आरोप लगाए ।

उनले कुमाल समुदाय देशभरका ७० जिल्लामा पाइने आदिवासी जनजाति अन्तर्गतको लोपोन्मुख जाति भएको पनि बताए । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कुमाल जातिको संख्या देशभरमा १ लाख २९ हजार ७ सय २ जना रहेका छन् ।

तीमध्ये नवलपरासी, चितवन, दाङ लगायतका भित्री मधेशसहित गोरखा, धादिङ, कास्की, झापा, कालिकोट लगायतका ७२ जिल्लामा अन्तर्गतका कुमाल समुदाय रहेका अध्यक्ष तेलबहादुर कुमालले जानकारी दिए । उनले मधेशी जातिबाट हटाउन यसअघि नै मधेशी आयोगलाई अनुरोध गरे पनि अहिलेसम्म नहटाएको आरोप समेत लगाए ।

चितवनमा कुमालको माघी मेला

आफ्नो समुदायलाई मधेशी जातिबाट हटाउने, कुमाल समुदायको सबैभन्दा ठूलो पर्व माघे सक्रान्तिलाई राष्ट्रिय पर्वको रूपमा राजपत्रमा प्रकाशित गर्नुपर्ने, निजामती सेवामा सीट सुरक्षित गरिनुपर्ने लगायतका माग सरकारलाई सुनाउन देशभरका कुमाल समुदाय चितवनमा भेला हुने भएका छन् ।

उनीहरूले आउँदो माघ १ गते माघे संक्रान्तिको अवसर पारेर देशभरका ६ हजार बढी कुमाल समुदायको सहभागितामा पहिलो पटक चितवनमा माघे संक्रान्ति मेलाको आयोजना गर्न लागेका हुन् । मेलाको प्रचारप्रसार संयोजक राजन कुमालका अनुसार कुमाल समुदायका लागि माघी पर्व दसैँभन्दा ठूलो भए पनि राज्यले राष्ट्रिय पर्वको रूपमा मान्यता दिएको छैन ।

राज्यलाई कुमालको पर्वबारे जानकारी गराउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कुमार समुदायको मौलिक परम्परा तथा संस्कृतिबारे जानकारी दिने र आफूहरूको माग समेत सार्वजनिक गर्नको लागि राष्ट्रिय रूपमा मेलाको आयोजना गरिएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *