राप्ती बस दुर्घटनाः प्रत्यक्षदर्शी भन्छन् – ट्राफिक छलेर तीव्र गति नै दुर्घटनाको मुख्य कारण – Nepal Press

राप्ती बस दुर्घटनाः प्रत्यक्षदर्शी भन्छन् – ट्राफिक छलेर तीव्र गति नै दुर्घटनाको मुख्य कारण

रुपन्देही । बाँकेको कोहलपुरबाट काठमाण्डौं हिडेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार बेलुका पौने ७ मा खचाखच यात्रु भरेर हिडेको थियो । बाँके, दाङमा माघी लागिसकेकाले केही स्थानीय उभिएर पनि जानका लागि चढिरहेका थिए । केही अमिलियामा झरे केही लमहीमा झरेपछि गाडीमा सीटभन्दा कम भइसकेका थिए ।

समथर बाटो, वरिपरी कुनै कुनै खाल्डाखुल्डी नि छैन । पूर्वपश्चिम राजमार्गमा रहेका खाल्डा-खुल्डीको बाटो सकेर सजिलो बाटो रहेका स्थानमा पुगेको थियो । दुर्घटनामा सामान्य घाइते भएका सल्यान त्रिवेणी गाउँपालिका वडा नं ४ का २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। चालक नेपालीले बस गुड्दागुड्दै पट्टा भाँच्चिएर चक्का नघुमेपछि अनियन्त्रित भएर नदीमा खसेको बताएपनि बसमा रहेको यात्रु, स्थानीय र प्रहरी कसैले पनि त्यो अवस्था नरहेको बताइरहेका छन्। उनीहरुले चालकले भनेजस्तो सिधा पुलमा स्टेरिङ घुमाउनुपर्ने अवस्था भने देखिदैन।

१२ जना यात्रुको ज्यान जानेगरी भएको सार्वजनिक यात्रुवाहक रात्रीबस दुर्घटनामा चालकको गम्भीर लापरबाहीले भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

बाँकेबाट हिंडेपछि लमहीमा खाना खाएर हिंढेको सो बस राति करीब १०:३० बजे बस दाङको राप्ती गाउँपालिकास्थित राप्ती पुलबाट नदीमा खस्दा त्यसमा सवार १२ जनाको मृत्यु भएको थियो भने र २३ जना घाइते भएका छन्।

घटनाका एक प्रत्यक्षदर्शीले तीव्र गतिमा हुइकिएको रात्रीबस भालुवाङस्थित पुलको मुखै रहेको प्रहरी चेकपोस्टमा समेत दर्ता नगरी भागेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले समेत त्यसलाई पुष्टि हुनेगरी उक्त गाडी भालुवाङ चेकपोस्टमा दर्ता गरेको नदेखिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले बस मानवीय त्रुटिका कारण दुर्घटना भयो कि प्राविधिक कमजोरीका कारण भन्नेबारे अनुसन्धान भइरहेको बताए।

बस तीव्र गतिमा रहेको, भालुवाङमा रहेको प्रहरीको चेकपोइन्टमा हरेक बस चेकजाँच गर्ने भएपनि त्यो बस चेकपोइन्टमा समेत नरोकी गएको उनको भनाइ छ । चेकप्वाइन्ट कटेको बस सय मिटर नपुग्दै दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार बस उल्टो परेर पल्टिएका कारण बसभित्र रहेका यात्रुहरूलाई उद्धार गर्न निकैबेर लागेको थियो। साढे १० बजे दुर्घटना भएको बसबाट सबैको उद्दार गर्दा बिहान ३ बजेको थियो।

सो दुर्घटनाका घाइते बुटवल सिटी अस्पतालमा उपचाररत रौतहटका २८ वर्षीय सन्जय कार्कीका भनाइमा पनि घटनामा चालककै दोष देखिन्छ । कार्की मामा र उनी कोहललपुर नजिकबाट चढेको, आफू पनि बस चलाउने भएकाले बस धेरै बढी गतिमा चलाएकाले बसेदेखि नै डर लागिरहेको बताउँछन् । ‘बसको पट्टी भाचिएको भन्ने कुरा छ बाटोमा कुनै खराबी थिएन त्यो हो जस्तो लाग्दैन, गति तीव्र थियो, खाना खाएपछि चालक झपक्क भएको हुनसक्छ ।’ उनले भने– ‘लमहीमा खाना खाएपछि सीट परिवर्तन गरेर बसेको थिएँ, त्यहाँबाट हिंडेको केही समयपछि बस सडक छुउमा ढल्केपरेकोजस्तो लागेको थियो तर एकछिनमा जोडले बजारियो, त्यसपछि केही होस छैन । मामा र भान्जा दुवै होसमा आएपछि खोलाबाट बाटोमा जाने कुरा गर्र्यों, तर मामा सक्नुभएन एक्लै बाटोमा गएँ, अनि प्रहरी आयो, एम्बुलेन्स मगाएर अस्पताल लागें, मैले अर्को गाडी खोजेर मामालाई लिएर बुटवल जाने योजना बनाउँदै थिए, मामाको मृत्यु भइसकेको कुरा प्रहरीले सुनाए । मलाई सोच्नै नसकिने पीडा भयो ।’

घटनाका प्रत्यक्षदर्शी कपिलवस्तुका टेकराज पौडेलका अनुसार बसमा क्षमताभन्दा बढी यात्रु र तीव्र गति तथा प्रहरी चेकजाँचमा भाग्नु नै घटनाको मुख्य कारण हो । उनले त्यो बसमा बाँकेबाटै चढ्न खोजेपनि कोचाकोच भएर नचढेको तर सँगै अर्को बसमा आएको र भालुवाङमा दुर्घटनामा परेको समयमा आफ्नो गाडी त्यही गाडीको पछि आएको र घटनाको सबै प्रकृति हेर्दा चालकको गम्भीर लापरबाही भएको बताउँछन् । ‘मेरो त्यो घटनामा नपर्ने भाग्य रहेछ, त्यो बसमा चढेर पनि म सीट नपाएर ओर्लेको हो, बसका सहयोगीले कोचेर यात्रु राखिरहेका थिए, तर म त्यसरी नजाने भन्दै झरेको हुँ, दुर्घटना हुँदा त्यसपछिको बसमा थिएँ, झरेर सबै घटना हेरेको हुँ’ उनले भने । ‘दुईवटा बस सँगै थिए। जसमध्ये हाम्रो बस चेकिङमा अडियो। त्यो तीव्र गतिमा अघि बढ्यो।

ट्राफिक जाँच छलेर तीव्र गतिमा गुडेको बस पुलमा प्रवेश गरेलगत्तै फलामको रेलिङ भाँचेर दक्षिण किनारमा खसेको हो’ उनले भने ‘दुर्घटना हुनेजस्तो स्थान त होइन। तर, बस खस्यो, भालुबाङ बजारमा बाटो फराकिलो छ। तर, पुलमा जोडिने बेलामा साँघुरो छ। तीव्र गतिमा गुडेको गाडी नियन्त्रणमा आउन कठिन भएको हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *