एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव – Nepal Press

एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएका हुन् ।

उनले विद्यार्थीहरुको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा विद्यार्थीहरुको गुणस्तर खस्किने बताए ।

उनले एसइइ हटाउँदा विद्यार्थीहरुले राम्रो गर्छन् भन्नेमा आफूलाई विश्वास नभएको बताए । कक्षा ८ पछि एकैपटक १२ कक्षामा परीक्षा लिँदा विद्यार्थीहरुको उत्तिर्ण हुने दर घट्ने उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा कुनै रिसर्च बिना त्यत्तिकै १० कक्षाको परीक्षा हटाइदिउँ भनेर कसरी भन्न सकियो ? विधेयक बनाउने प्रक्रियामा यो प्रश्न मैले गर्न चाहेँ । एसइइ हटाएपछि फेरि नयाँ विद्यार्थीहरुले परिक्षा राम्रो गर्छन् भन्ने विश्वास मलाई छैन । म राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको हैसियतले यो कुरा भन्छु कि हामीले कक्षा ८ पछि एकैचोटी १२ को मात्रै बोर्ड परीक्षा लिने हो भने कक्षा १० देखि १२ सम्म अहिले ५० प्रतिशत विद्यार्थी पास भएका छन् । भोलि यदी हामीले १० कक्षामा परीक्षा लिएनौँ भने ति ५० प्रतिशत पास हुने विद्यार्थी २०÷३० प्रतिशतमा झर्छन् । झन १२ कक्षामा गइसकेपछि ति विद्यार्थीहरुको मनोविज्ञान ? अहिले त कक्षा १० मा फेल भएपनि उनीहरु पढ्छन् अझै । किनभने उमेरको कारणले । तर १२ मा फेल भएभने विद्यार्थी फेरि भर्ना भएर पढ्दैनन् । यो मनोवैज्ञानिक कुरा पनि हेर्नुपर्छ । मेरो कुरा के छ भने कक्षा १० को परीक्षा आवश्यक छ । तर कक्षा १० को केन्द्रले गर्न आवश्यक छैन । प्रादेशिक रुपमा गर्ने । प्रदेशले त्यो सबै कुराहरु गर्ने । तर गुणस्तर मापनको कुरा कायम गर्न आवश्यक छ ।’

उनले कोभिड १९ को महामारीपछि कक्षा ११ को परिक्षा पनि सम्बन्धित विद्यालयले नै लिइराखको उल्लेख गर्दै सो कक्षामा शतप्रतिशत विद्यार्थी उत्तिर्ण भइराखेका बताए । कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तिर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्यांकनमाथि पनि प्रश्न उठ्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *