राजतन्त्रको लागि केही मान्छे खुट्टा उचालिरहेका छन्, अब सम्भव छैन : माधव नेपाल – Nepal Press

राजतन्त्रको लागि केही मान्छे खुट्टा उचालिरहेका छन्, अब सम्भव छैन : माधव नेपाल

कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र फर्काउने गरी गतिविधि भइरहे पनि अब राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।

कैलालीको टीकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै उनले राजतन्त्र फर्किन सक्ने सम्भावना नरहेको प्रस्ट पारेका हुन् ।

‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ’, उनले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ, अब त्यो सम्भव छैन ।’

उनले पार्टी व्यवस्थाभन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरे । उनले भने, ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन । फेरि दास बनाउने गरी कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’

उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए । ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब, सबै पार्टी गलत भन्न मिल्दैन’, नेपालले भने ।

नेपालले रेशम चौधरी घटनामा प्रत्यक्ष रुपमा नरहेको बताएका थिए ।

‘सबै समुदायको बीचमा सम्मानको व्यवहार गर्नुपर्छ । यो देशको आफ्नो पहिचानलाई जोगाउनु पर्नेछ’, नेपालले भने, ‘हाम्रा युवाहरू विदेश पलायन भइरहेका छन्। त्यो संख्या कम गर्नु पर्छ । तीनै तहको सरकारको ध्यान दिनु पर्छ ।’

आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडि बढेको समेत बताए । सेती लोक मार्ग, रानीजमरा कुलरिया सिचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरु भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर