नेकपा एसमा १७५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव, ७० वर्षे उमेरहद नराख्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा १७५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव भएको छ । माघ १४ र १५ मा पार्टीको केन्द्रीय परिषद्को बैठकले विधान टुंग्याउनेगरी भइरहेको छलफलमा केन्द्रीय समिति घटाउने प्रस्ताव भएको हो ।
हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको जिल्ला तहबाट सुझाव लिएर विधानलाई पूर्णता दिने निर्णय गरेको थियो ।
नेकपा एसका सचिव जीवनराम श्रेष्ठका अनुसार वैकल्पिकसहित १७५ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा एक तिहाइ महिला हुने उनले बताए ।
उनका अनुसार १९ सदस्यीय स्थायी कमिटी र ५७ सदस्यीय पोलिटब्युरो बनाउन प्रस्ताव आएको छ ।
उनले भने, पदाधिकारीमा विभिन्न प्रस्ताव आएका छन्, कसैले उपाध्यक्ष ९ जना चाहिन्छन् भनेका छन् कसैले दुई, कसैले सचिव नै जना भनेका छन् । त्यसैले पदाधिकारीको विषयमा अब तल्लो तहबाट आएको सुझावपछि मात्रै टुंग्याउँछौं ।
नेकपा एसमा अहिले २४ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । त्यसो त उनले पार्टीभित्र बहसमा रहेको ७० वर्षे उमेरहद नराख्न सुझाव आएको समेत बताए ।
अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई आगामी महाधिवेशनमा नेतृत्वमा दोहोरिन नेकपा एसले उमेरहद नराख्ने तयारी गरेको छ ।