पोहोरभन्दा बढ्यो चाकुको व्यापार, व्यवसायी भन्छन्- दैनिक डेढ लाखसम्मको बेच्दैछौं (तस्बिर/भिडिओ) – Nepal Press
माघे संक्रान्ति

पोहोरभन्दा बढ्यो चाकुको व्यापार, व्यवसायी भन्छन्- दैनिक डेढ लाखसम्मको बेच्दैछौं (तस्बिर/भिडिओ)

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखामा चाकु बनाउन भ्याइनभ्याइ छ । काठमाडौंको टोखा चाकुका लागि प्रसिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् ।

जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ । माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तिब्रता दिएका हुन् ।

चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । हिजो आज टोखामा तराइबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ ।

सख्खरलाई करिब तीन घण्टा सम्म पकाउने, करिब आधा घण्टा सम्म चिस्याउने र राम्रोसँग तन्काएर ताडनुपर्छ । जसले गर्दा चाकुको रंग रातो हुन्छ भने खानको लागि पनि नरम र स्वादिलो हुन्छ । उद्यमीहरुका अनुसार ५० केजी चाकु बनाउन करिब ५ घण्टा लाग्छ ।

चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिसहरु चाकु किन्नका लागि टोखा सम्म पुग्ने गर्छन् । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै बिक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।टोखा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा टोखाको चाकु ब्राण्डिङ गर्ने योजना अघि सारेको थियो ।

चाकु व्यवसायी हुछे नारायण श्रेष्ठले पोहोरको भन्दा यसपाला व्यापार राम्रो भएको बताए । दिनको डेढलाख सम्म व्यापार हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर