१६ वर्षपछि मणिमुकुन्दद्वारा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना – Nepal Press

१६ वर्षपछि मणिमुकुन्दद्वारा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना

रुपन्देही । राष्ट्रिय खेलाडीको बाहुल्य रहेको रुपन्देहीमा मणिमुकुन्द भलिबल संघले नवौं राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । भलिबलको क्रेज रहेको रुपन्देहीमा लामो समयको अन्तरपछि ठूलो राशी पुरस्कार रहेको प्रतियोगिता हुने भएको हो । यो प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् लुम्बिनीले मुख्य प्रवर्द्धन र नेपाल भलिबल संघले समन्वय गरेको छ । माघ २६ देखि फागुन २ गतेसम्म आयोजना गर्ने यो प्रतियोगितामा सबै विभागीय टीम तथा राष्ट्रिय खेलाडीको सहभागिता रहने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिताको विभिन्न उपसमिति गठन गरी परिचालन भएको क्लबका अध्यक्ष लोकेन्द्रबहादुर भण्डारीले बताए । २०६४ सालपछि निकै मेहनतका साथ राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको उनले बताए ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ गरी ३ विभागीय टीमसहित कोशी, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी सातै प्रदेशका गरी १० टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टीमले नगद २ लाख रूपैयाँ, कप, मेडल प्रमाणपत्र, उपविजेता टीमले नगद १ लाख ५० हजार, रूपैयाँ, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी तृतीय टिमले नगद १ लाख तथा सान्त्वना टिमले नगद ५० हजार रुपैयाँ, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सर्भर, स्पाईकर, डिफेन्स, ब्लकर, सेटर, प्रशिक्षक तथा अनुशासित खेलाडीहरंलाई समेत पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले भलिबल खेलको क्रेजलाई उचाईमा लैजान रुपन्देहीमा रहेका क्लबहरूको भलिबलको महत्वपूर्ण योगदान रहेको बताए । राष्ट्रिय प्रतियोगिता भएको हुँदा पनि यसलाई सफल बनाउने गरी यहाँका सबै खेलकुद संस्थाहरुको समन्वय जरुरी रहने उनले बताए । उनले परिषदले आवश्यक आर्थिक सहयोग पनि गर्ने र यसको मुख्य जिम्मेवारी लिने बताउँदै प्रदेश तथा जिल्ला भलिबल संघलाई विशेष ध्यान दिन आग्रह गरे । प्रतियोगितामा सबै विभागीय टीम र राष्ट्रिय खेलाडी सहभागी हुने भएकाले उनीहरुको कुनै गुनासो नआउने गरी तयारीमा लाग्नुपर्ने सुझाए ।

कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग बहादुर गुरुङ, क्लबका सल्लाहकार टुक बहादुर क्षेत्री, जिल्ला अध्यक्ष सुरेन्द्र शाक्य, युवा परिषद लुम्बिनीका अध्यक्ष गोबिन्द केसी, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले सबै क्षेत्रबाट सहयोग हुने बताए ।

एकैपटक २ हजार ५ सय जना दर्शकले सहज ढंगबाट हेर्न मिल्ने गरी प्याराफिट तयार गरिएको क्लबका सहसचिव सुदिप केसीले बताए । तिलोत्तमा नगरपालिका वडा नं २ स्थित खेलमैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न ३४ लाख ३० हजार रूपैयाँ खर्च हुने अनुमान रहेको क्लबका संरक्षक तथा खेल संयोजक सुरेन्द्र गुरुङले बताए ।

नेपाल पुलिस क्लबका भलिबल खेलाडी बाग्लुङ जिल्लाका आयुष्मा पुन स्वास्थ्य समस्या भई उपचारमा रहेको र कलेजो ट्रान्सप्लान्टको प्रक्रियामा रहेको हुँदा १५ हजार रुपैयाँ क्लबबाट सहयोग गरिएको थियो ।

प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई यातायात, खाना र बसोबासको व्यवस्थापन आयोजकबाट गरिएको उनले बताए ।

यसैगरी खेलाडीलाई १ लाखसम्मको दुर्घटना बिमा गरिएको उनले बताए । प्रतियोगिताको मुख्य प्रायोजकलाई ५ लाख तथा सहप्रायोजनको ३ लाख रुपैयाँ तथा ब्यानरमा १५ हजार रुपैया तोकिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *