रुपन्देहीको दक्षिणी क्षेत्रका पालिकामा बालिका जन्म तथा बीमा प्रोत्साहन कार्यक्रम – Nepal Press

रुपन्देहीको दक्षिणी क्षेत्रका पालिकामा बालिका जन्म तथा बीमा प्रोत्साहन कार्यक्रम

रुपन्देही । महिला हिंसा र बालविवाह बढी हुने रुपन्देहीका दक्षिणी क्षेत्रका पालिकाहरूमा बालिकाको संरक्षण तथा उनीहरूको शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भने विभिन्न पालिकाले अलग अलग कार्यक्रमलाई विशेष योजनाका साथ अघि सारेका छन् ।

छोरा जन्माउने चाहनामा छोरीको भ्रूण हत्या बढेको र जन्मेका बालिकाहरूको पनि सानै उमेरमा विवाह गरिदिँदा विभिन्न जोखिम आइरहेका कारण स्थानीय सरकारले त्यस प्रकारका समस्याहरू हटाउन विभिन्न योजना अघि सारेका हुन् ।

विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि तराई–मधेशका जिल्लामा बालविवाहको धेरै छ यही समस्या कम गर्न रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम शुरू गरेको छ ।

यो अभियान अघिल्लो कार्यकालमा रुपन्देहीकै ओमसतिया गाउँपालिका र गैडहवा गाउँपालिकाले शुरू गरेका थिए । गरिबी, अशिक्षा र परम्परागत सोचका कारण बालविवाह घट्न सकेको छैन ।

छोरीको सानैमा बिहे गरे पुण्य कमाइन्छ भन्ने अन्धविश्वास यहाँ व्याप्त छ । सानैमा बिहे गरे पालनपोषण तथा शिक्षामा खर्च गर्नुनपर्ने स्थानीयले पटक पटक बताउँदै आएका छन् ।

पालिकाका बर्थिङ सेन्टरमा बच्चा जन्माउनुपर्ने, रिफर गर्नुपर्ने अवस्था आए सिफारिस लिनुपर्ने कार्यविधिमा समावेश छ । २० वर्षमा समाजमा धेरै परिवर्तन भइसक्नेछ । आर्थिक अवस्थामा पनि उतारचढाव आउनेछ ।

विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि तराई–मधेशका जिल्लामा बालविवाहको समस्या भयावह छ ।
यही समस्या कम गर्न रोहिणी गाउँपालिकाले नै बीमाबापत २० हजार दिने भएपछि अभिभावकहरू पनि खुशी देखिएका छन् ।

गाउँपालिको चालू आर्थिक वर्षका लागि ३० लाख रुपैयाँ बजेट राखेर अभियान शुरू गरेको हो । आर्थिक वर्ष २०७९–८० र २०८०–८१ मा जन्मिएका बालिकाको बीमा गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले पालिकामा जन्मिएका छोरीको खातामा २० हजार रुपैयाँ जम्मा गरिदिने बताए ।

अभिभावकले इच्छाअनुसार जम्मा गर्न सक्नेछन् । अध्यक्ष यादव भन्छन्, ‘छोरी २० वर्ष पुगेपछि मात्र निकाल्न मिल्ने बीमा रकम त्यतिञ्जेल डेढ–दुई लाखसम्म पुग्छ,त्यो बेला यो रकम छोरीको लागि विवाह वा उच्च शिक्षा अध्ययन गर्नको लागि काम लाग्नेछ ।’

‘ ‘बालविवाहको अन्त्य गर्न, समयमै जन्म दर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि प्रेरित गर्न, बालिकाको उच्च शिक्षामा सहयोग पुर्‍याउन, बालिकाको मनोबल बढाउन र आर्थिक रूपमा कमजोर भएका परिवारलाई केही भए पनि सहयोग पुग्नेछ, छोरा र छोरीबीच गरिने भेदभावमा पनि कमी आउने विश्वास गरेका छौँ, यादवले थप्छन्’ उनले भनेका छन् ।

रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेडबीच बीमाका लागि सोमवार एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता पत्र अनुसार रोहिणी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा र स्वास्थ्य संस्थाले रेफर गरेकाहरूमध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले, ‘गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियान,’ अन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताए ।

उनले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभई बालविवाह रोक्न, घरमै सुत्केरी गराउने रोकी स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताए । कार्यविधिअनुसार एक बालिकाका लागि गाउँपालिकाले २० हजार रुपैयाँ एक पटक जम्मा गर्ने र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सकिनेछ ।

गाउँपालिकाका प्रवक्ता वीरबहादुर क्षेत्रीले गत वर्ष र चालू आवमा १९० जना बालिका गाउँपालिकामा जन्मिएका र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने बताए । उनले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।

बालविवाहको भयावह अवस्था हटाउन प्रोत्साहन र चेतनाका लागि यस्तो कार्यक्रम शुरूआत गरिएको उनको भनाइ छ । बीमा अभियानलाई प्रभावकारी भन्दै आसपासका अन्य स्थानीय सरकार पनि यस्तै प्रकृतिका अभियान सञ्चालन गर्ने तयारीमा छन् ।

रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको बालिका जन्म प्रोत्साहन भत्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । यो कार्यक्रम अन्तर्गत छोरी जन्मिएको ३५ दिनभित्र जन्म दर्ता गराउने परिवारलाई ५ हजार रुपैयाँ दिने योजना निरन्तर चलेको हो । छोरा जन्माउनलाई मात्र ध्यान दिने प्रचलन हटाउन यस्तो कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी बताउँछन् ।

‘छोरीलाई जन्मेपछि दुःख मात्र दिने वा जन्मनै नदिने (भ्रूण हत्या) गर्ने परिपाटीलाई पनि कम गर्न सकिन्छ कि भन्ने सोचले कार्यक्रम चलाएका छौँ,’ त्रिपाठीले भने, ‘यो कार्यक्रमले आफू छउन्जेल निरन्तरता पाउने छ ।’

बालिका जन्म प्रोत्साहन कार्यक्रम अन्तर्गत गत वर्ष १५ लाख रुपैयाँ छुट्याइएको पालिकाका लेखा अधिकृत निरन्जन ज्ञवालीले बताए । उनका अनुसार उक्त वर्ष ११ लाख ५ हजार रुपैयाँ वितरण गरिएको थियो । ‘यस वर्ष ८ लाख विनियोजन गरिएको छ,’ उनले भने, ‘यसभन्दा धेरै आवश्यक परे पालिकाको बैठकबाट पारित गरेर लागु गरिनेछ ।’

एक आर्थिक वर्षमा पालिकाभरि जन्म हुने हरेक छोरीले ५ हजार पाउने सुविधा भएकाले ३५ दिनभित्र उनीहरूको जन्म दर्ता गराइसक्न पर्ने प्रावधान राखिएको उनले जानकारी दिए । उनले यस वर्षका लागि हालसम्म संकलन भएका २० बढी निवेदनको भुक्तानी केही दिनमै सुरु गरिने बताए ।

यस कार्यक्रमले पालिकामा राम्रो प्रभाव परेको महशुस गरेको उनले बताए । गत वर्ष पालिकाबाट २ सय २१ जनाले सो प्रोत्साहन भत्ता पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *