तमु समाजद्वारा जाजरकोटका भूकम्प प्रभावितलाई राहत वितरण – Nepal Press

तमु समाजद्वारा जाजरकोटका भूकम्प प्रभावितलाई राहत वितरण

जाजरकोट । क्वोने (घोताने–घोण्डे) गुरुङ (तमु) समाजले जाजरकोटका भूकम्प प्रभावितहरूलाई राहत वितरण गरेको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ कलपतका प्रभावितहरूलाई समाजले स्लिपिङ ब्याग वितरण गरेको हो ।

स्थानीय सरकार र स्थानीय प्रशासनको समन्वयमा प्रभावितहरुकोबीचमा पुगेर २ सय ५० थान स्लिपिङ ब्याग वितरण गरिएको क्वोने (घोताने–घोण्डे) गुरुङ (तमु) समाजका कोषाध्यक्ष नारायणकुमार गुरुङले बताए । चिसोमा सुत्नका सकिने स्लिपिङ ब्याग वितरण गरिएको उनको भनाई छ । हिउँदको चिसोमा प्रभावितहरूलाई सहयोग गर्न पाउँदा आफूहरू खुसी भएको कोषाध्यक्ष गुरुङले बताए ।

वितरणमा समाजका उपाध्यक्ष गुरुङ, नलगाड नगरपालिका वडा नम्बर १ कलपतका वडा अध्यक्ष धनबहादुर महर, वडा सदस्य मोतकला परियार, वडा सचिव मानबहादुर चतरा, इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटका, प्रहरी निरीक्षक (इन्स्पेक्टर) माधव प्रसाद चौधरी, इन्स्पेक्टरमाधव विष्ट लगायतको उपस्थिति रहेको थियो ।

राहत वितरणको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख तथा नायव उपरीक्षक (डीएसपी) सन्तोष रोकाले समन्वय गरिदिएको कोषाध्यक्ष गुरुङले बताए ।

गत १७ कात्तिकको मध्यराति जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोटमा मात्रै १०१ जनाको ज्यान गएको थियो । १५८ भन्दा बढी घाइते भए ।

उता भूकम्पबाट प्रभावित रुकुम पश्चिममा ५४ जनाको ज्यान गयो भने १७९ भन्दा बढी घाइते भए । तथ्यांकअनुसार भूकम्पले साढे ३४ हजारभन्दा बढी परिवारलाई विस्थापित बनाएको छ ।

भूकम्पले जाजरकोटमा करिब नौ हजार सात सय ९४ घरमा पूर्ण रूपमा क्षति भएको छ भने २४ हजार ७०७ घर बस्न नमिल्ने गरी आंशिक क्षति भएको अवस्थामा छन् । रुकुम पश्चिममा नौ हजार ४५८ घर पूर्ण रूपमा क्षति भएका छन् भने १६ हजार ४२८ घर आंशिक रूपमा क्षति भएका छन् ।

भूकम्पले जाजरकोटमा ३२८ विद्यालय भवनमा पूर्ण क्षति भएको छ भने ४०८ विद्यालय भवनमा आंशिक क्षति भएको देखिन्छ । अन्नपात, पशु चौपायालगायतको क्षतिको हिसाब गर्ने हो भने अर्बौँ पुग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *