माधव नेपाललाई हराएर चर्चा कमाएका झक्कु सुवेदी माओवादीबाट राष्ट्रियसभा उम्मेदवार – Nepal Press

माधव नेपाललाई हराएर चर्चा कमाएका झक्कु सुवेदी माओवादीबाट राष्ट्रियसभा उम्मेदवार

काठमाडौं । आसन्न राष्ट्रियसभा चुनावमा गठबन्धनमा ६ सीट पाएको नेकपा माओवादी केन्द्रले लुम्बिनीबाट झक्कुप्रसाद सुवेदीलाई उठाउने भएको छ ।

सीट भागबन्डापछि बालुवाटारमा बसेको पदाधिकारी बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कम्फर्टेबल मतभारका कारण सत्तागठबन्धनका उम्मेदवारको जित निश्चित प्राय छ । झक्कु सुवेदी तीनै हुन् जसले २०६४ चैत २८ को पहिलो संविधानसभाको चुनावमा तत्कालीन नेकपा (एमाले) का तत्कालीन महासचिव माधव नेपाललाई हराएर ‘जाइन्ट किलर’ को उपमा पाएका थिए ।

काठमाडौं-२ मा खसेको ३७ हजार ७२७ मतमा सुवेदीले १३ हजार ८५८ मत ल्याएका थिए । माधव नेपाल १२ हजार ३२५ मतमा रोकिएका थिए । दुईजनाको अन्तर १ हजार ५३३ थियो । सुवेदी २०४९ मा रोप्पा जिविस सभापतिसमेत भएका थिए ।

माओवादीले आफ्नो पहिलो संसदीय मोर्चामा सानदार उपस्थिति देखाएको चुनावको चर्चामा झक्कु सुवेदी हुनुमा मुलतः तीन कारण थिए । एक, उनी माधव नेपालको तुलनामा चर्चित अनुहार थिएनन् । दुई, उनी काठमाडौंका परिचित अनुहार थिएनन् । तीन, माओवादीले काठमाडौंमा एमालेसँग चुनावी तालमेल गर्ने संकेत गरेको थियो । तर, एमालेले आफ्नो बलियो आधार भएको भन्दै अस्वीकार गरेको थियो ।

७४ मा भने काठमाडौं-६ मा उठेका सुवेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले हराए । प्रधानले १६ हजार ७८५ मत ल्याउँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए ।

माधव नेपाललाई चुनाव जितेर चर्चामा आएका झक्कु आफ्नो कार्यकालमा मतदाताको झापड खाएर पनि उत्तिकै चर्चित बनेका थिए । गोरखाबाट काठमाडौं बसाइँ सरेर आएका मतदाता ५० वर्षका प्रेमराज देवकोटाले झक्कु सुवेदीलाई झापड हानेका थिए । सुनसरी इटहरीमा देवीप्रसाद रेग्मीले झलनाथ खनाललाई झापड हानेको सार्वजनिक भएपछि झक्कु सुवेदीलाई झापडको प्रकरण आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर