बरहथवा गोलीकाण्ड: दोषीमाथि कडा कारबाही गर्ने सिडिओको प्रतिबद्धता – Nepal Press

बरहथवा गोलीकाण्ड: दोषीमाथि कडा कारबाही गर्ने सिडिओको प्रतिबद्धता

जनकपुरधाम । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बरहथवामा प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर प्रसाद साहको मृत्यु भएको घटनाका दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रजिअ धमलाले स्थानीयवासीसँग संयमता अपनाउन अपिल गर्दै सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले मानवीय क्षतिको उचित सम्बोधनको प्रतिवद्धता व्यक्त गरेका छन् ।

उक्त घटनालाई लिएर थप अप्रिय घटना घटन नदिनेतर्फ जिल्ला सुरक्षा समिति संवेदनशील रहेको व्यहोरा उनको अपिलमा उल्लेख छ ‌। वार्ता र संवादको माध्यमबाट समस्या समाधानको पहल भईरहेको उनको भनाई छ ।

मृतक साहको शव अहिलेसम्म सडकमै छ । पीडित परिवारले साहलाई शहिद घोषणा, बरहथवाका मेयर र गोली चलाउनेलाई कारबाही, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी मृतकको नामबाट नामाकरण र शालिक निर्माण गर्नुपर्नेसहितका माग राखेका छन् ।

वडा नम्बर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि शुक्रवार ५ दलले आन्दोलन गरेको थियो । आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा व्यवसायी साहलाई लागेपछि तत्कालै मृत्यू भयो ।

मृतक साह आन्दोलनमा थिएनन् । आन्दोलन अझ उग्ररुप लिएपछि प्रशासनले आज विहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । आज विहान ८ बजेदेखि प्रशासनले भोली विहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर