महाधिवेशनको तयारीमा नागरिक उन्मुक्ति: प्रधानमन्त्रीले उद्घाटन गर्ने, एक लाख बढी सहभागी हुने दाबी – Nepal Press

महाधिवेशनको तयारीमा नागरिक उन्मुक्ति: प्रधानमन्त्रीले उद्घाटन गर्ने, एक लाख बढी सहभागी हुने दाबी

कैलाली । नागरिक उन्मुक्ति पार्टीले आगामी पौष २६ २७ र २८ गते हुने प्रथम महाधिवेशनका लागि तीव्र तयारी गरिरहेको जनाएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नाउपाका संरक्षक रेशमलाल चौधरी पार्टीको पहिलो अधिवेशन ऐतिहासिक हुने बताए ।

‘देशभरिबाट ८ हजार महाधिवेशन प्रतिनिधि ल्याउने तयारी गरेका छौँ । ५२ जिल्लामा जिल्ला कार्यसमिति गठन भएको छ । नागरिक उन्मुक्ति पार्टी प्रति निकै राम्रो चर्चा छ उत्साह छ’ उनले भने, ‘हामी पहिलो महाधिवेशनलाई ऐतिहासिक बनाउँदै छौँ ।’

कार्यक्रममा सहभागी हुनेहरूलाई मासु भात नखुवाएर पहिचानको खाना खुवाउने योजना बनाएको उनले बताए । महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयारी भइरहेको उनले बताए ।

‘प्रधानमन्त्रीले उद्घाटन गर्नु हुन्छ । माधव, बाबुराम, डा सिके रावत, उपेन्द्र यादव सबैलाई भेटेरै निम्तो दिएका छौँ उहाँहरू पनि आउँछु हुन्छ’ उनले भने, ‘केपी ओली मिति हेरेर खबर गर्छु भन्नु भएको छ । शेरबहादुर देउवाले मुख्यमन्त्री सहित संघको मन्त्रीलाई पनि आफ्नो शुभकामना सन्देश पठाउँछु भन्नु भएको छ । ’

सबै दलको प्रमुख नेताहरू आउने बताउँदै उनले भारतबाट भाजपाका प्रतिनिधिहरू पनि महाधिवेशनमा आउने बताए । थाइल्यान्ड केन्याबाट पनि प्रतिनिधिहरू आउने उनले बताए । उनका अनुसार भारतको झारखण्डबाट टिकापुरमा कलाकारहरू आउने छन् ।

बिभिन्न प्रदेशबाट पहिचान सहितका झाँकी समेत आउने चौधरीले बताए । उनका अनुसार एक लाख भन्दा धेरै नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीको उद्घाटन सभामा उपस्थित हुने छन् ।

‘उक्त महाधिवेशनबाट ३९ पदाधिकारी सहित ५०१ सदस्य निर्वाचित हुने छन् । २४६ जना प्रत्यक्ष निर्वाचित हुने छ’ उनले भने ‘२५५ जनालाई मनोनीत गर्ने गरि महाधिवेशन गर्न लागिएको उनले बताए । ’

चौधरीले आफूहरूले स्थापना गरेको पार्टी छोटो समयमै स्थापित भएको दाबी गरे । २०७८ फागुन ३ गते पार्टीले आधिकारिकता पाएका हो । डेढ महिनामा १०० जना स्थानीय प्रतिनिधि जिताउन सफल भएको बताए । उनले भने,‘ त्यसको केही महिनामै प्रदेश सभामा १२ जना र संघीयमा ४ जना माननीय जित्यौँ । ’

अहिले नागरिक उन्मुक्तिका प्रदेशमा तीन जना र संघमा एक जना मन्त्री छन् । उनले ती मन्त्रीहरूले पनि देखिने गरि काम गर्न आवश्यक रहेको बताए ।

उनले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीले एक सिट पाउने र सुदूरपश्चिममा एक सिट दाबी गरिएको बताए। उनी भन्छन्, ‘हामीले सुदूरपश्चिम प्रदेशमा एक सिट दाबी गरेका छौँ २१ गते गठबन्धन दलको बैठक बस्दै छ । जुन कलस्टर हामीलाई पर्छ हामी त्यहि अनुसार नाम सिफारिस गर्छौ ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर