सर्वत्र आलोचित भएपछि मन्त्री ज्वालाको प्रष्टीकरण- बालकुमारीको आन्दोलनबारे सुरक्षा निकायले केही भनेन (भिडिओ) – Nepal Press

सर्वत्र आलोचित भएपछि मन्त्री ज्वालाको प्रष्टीकरण- बालकुमारीको आन्दोलनबारे सुरक्षा निकायले केही भनेन (भिडिओ)

शुक्रबार खास के भएको थियो ? मन्त्री प्रकाश ज्वालाकै शब्दमा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको प्रष्टीकरण दिएका छन् ।

आज राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस महामन्त्री गगन थापा, आईजीपी वसन्त कुँवरलगायतले प्रदर्शन भइरहेको बेला मन्त्री ज्वालाको आगमनले आन्दोलन उग्र भएको बताएका थिए । संसदीय समितिले उक्त घटनाको सम्बन्धमा मन्त्रीको भूमिकामाथि छानबिन गर्न सरकारलाई निर्देशन दिइसकेको छ ।

सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिनपनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए । आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरू बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भएपनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको प्रष्ट्याए ।

आफूहरू निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आफूहरू नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरूको कमजोरीलाई आफूहरूतिर थोपरिएको उनको गुनासो छ ।

मन्त्री ज्वालाको भनाइ जस्ताको तस्तै

यो बालकुमारी घटना आफैँमा आफैँमा दुःखद् घटना हो । दुई जना युवाहरुको ज्यान गएको छ । केही घाइते भएका छन् । र यो नघट्नुपर्ने, नहुनुपर्ने घटना भएको छ । यसमा हामी दुःखी छौँ । यसप्रति म दुःख पनि व्यक्त गर्न चाहन्छु । त्यसदिन हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । त्यो बैठक दुई दिन अघिदेखि चलिरहेको थियो । अन्तिम दिन बैठक भइरहेको थियो । त्यस बैठकमा म बिहानैदेखि सहभागि थिएँ । अर्कोतिर यता सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो मेरो । त्यो बैठक शुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागि भएर फेरि बैठकमा फर्किने उद्देश्यले म त्यो पार्टी प्यालेस बैठक कक्षबाट बाहिर निस्केँ । बाहिर निस्किनुभन्दा अगाडी बालकुमारी क्षेत्रमा के अवस्था छ ? त्यहाँ डिस्टर्ब छ कि छैन ? अथवा परिस्थिति के छ ? रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रुपमा बाहिर निस्कियौँ । संयोगले त्यतिबेलै हाम्रै मन्त्रालयको राज्यमन्त्रीज्यूको गाडी भित्र पस्यो । उहाँको गाडी भित्र पस्यो । हामी बाहिर निस्कियौँ । राज्यमन्त्रीज्युको गाडी भित्र पस्दासम्म सामान्य नै अवस्था छ ।

हामी निस्किसकेपछि बीचमा अलिकति अगाडी बढिसकेपछि पारीपट्टी केही डिस्टर्ब हामीले महसुस गर्‍यौं । अब के गर्ने भन्ने त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडि बढ्न पनि नसकिने पछाडी फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौं । मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरू आएर गाडी रोक्ने प्रयास भयो । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे । र प्रदर्शनकारीहरू रोक्ने मध्येकै पनि कतिपय व्यक्तिहरूले यो गाडीलाई अगाडी जान दिऊँ भनेर निकै धेरै प्रयास पनि गरे । त्यति हुँदाहुँदै पनि भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा झन उत्तेजित होला भीड भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरी बैठकस्थलमै फर्किइहालेँ । फर्केपछि म बैठकमा बसेँ । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा । गोली चलेको कुरा । गोलि चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो यो कुरा पछि छानबिनबाट पनि थाहा होला । त्यहाँ गाडी पुग्यो । म केही समय त्यहाँ रोकिएँ । रोकिएपछि त्यहाँको अवस्था तनावपूर्ण हुन्छ कि भन्ने उद्देश्यले आफ्नो बैठक कक्षमा फर्किइहालेँ । फर्किएपछि त्यसपछिको अवस्था के भयो ? कसरी अगाडी बढ्यो ? त्यस विषयमा पनि जानकारी छैन ।

हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ । प्रदर्शनकारीहरूले घेरिरहेका छन् । छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उसले कम्युनिकेशन गरिरहेका थिए । त्यति हुँदा पनि करिब २०/२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मी पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिदैनौँ । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । हामीचाहीँ सामान्य अवस्थामा बैठक कक्षबाट मन्त्रालयमा आउने क्रममा बाटोमा गाडी रोकियो । यो घटना भयो । यस विषयमा हामी प्रष्ट के छौँ भने, न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ । न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ । हामी यो घटनासँग कुनै पनि हिसावमा जोडिदैनौँ । अब भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रुपमा गलत कुरा हो । किनकी सडक खुला छ । सडकमा गाडी त चल्छन् । अरु गाडीहरु पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्नेकुरा जानकारी भएपनि त्यो बाटोमा हामी जादैन थियौँ । त्यो जानकारी पनि भएन । यो घटनासँग हाम्रो कुनै संलग्नता पनि छैन । हाम्रो गाडी त्यो बाटोमा हिँडेकै कारणले यो घटना उत्तेजक बनेको पनि होइन । त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भीडन्त भएको रहेछ । त्यसपछि पनि भीडन्त भइराख्यो । जहाँ गाडी जलाइयो त्यो ठाउँमा भीडन्त भएको पनि छैन । त्यो ठाउँमा कुनै गोली चलेको पनि छैन । त्यसकारण यो घटनामा हामीलाई जोड्ने अथवा हाम्रो गाडी सडकमा गएको कारणले यो घटना घटेको हो अथवा प्रदर्शनकारी बढी उत्तेजित भएका हुन् भन्नेकुरा गलत छ ।

त्यतिबेला म बैठक कक्षबाट निस्किएँ । त्यसपछि मैले पिएसओ र ड्राइभरलाई हामी सिंहदरबार जाऔँ भने । हामी सबै गाडीमा बस्यौँ । गाडीबाट हिड्यौँ । हिँड्दाहिँड्दै पिएसओले हामी बालकुमारीबाट मन्त्रालय जाँदैछौँ भनेर आफ्नो सेन्ट्रलमा उनले खबर गरिरहेको मैले सुने । त्यतिबेला सम्म पीएसओले वा अरु सुरक्षाकर्मीले कहिँ कतैबाट यो बाटो डिस्टर्ब छ । यो बाटोमा जानु हुँदैन । अथवा अर्को कुनै रुट प्रयोग गरौँ । भन्ने किसिमको जानकारी कहिँ कतैबाट आएन । यो जहाँबाट पनि पुष्टि हुन्छ । त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मुर्खतापूर्वक त्यो बाटो त जाँदैन । बरु हामी त्यो बाटोमा प्रवेश गरिसकेपछि जो डिस्र्टबेन्स् देखियो । त्यसपछि हामी सर्तक भयौँ र अब कसरी सुरक्षित हुने भन्ने किसिमले हामीले प्रयत्न गर्‍यौं । प्रयत्न गर्दागर्दै हामी सफल भएनौँ त्यो एउटा पाटो भयो । तर अहिले मन्त्रीको गाडी आएकै कारणले यो घटना यसरी अगाडि बढ्यो भन्ने कुरा जुन भनिदैछ । यो आफ्नो दोष अरुतिर पन्छाउने खालको प्रयत्न/कसरत हो भन्ने मलाई लाग्छ । त्यसकारण यो घटनाको बारेमा हामी दुःखी छौँ । घटना घट्यो । नघट्नुपर्ने थियो । दुई जना युवाहरुले ज्यान गुमाए । यो एउटा दुःखद् पक्ष हो । तर हाम्रो त कहिँ कतैबाट सम्बन्ध नै छैन यसमा । हामी सामान्य रुपमा त्यो बाटो प्रयोग गरेर मन्त्रालय आउन खोजेको हो । आउने क्रममा अवरोध भयो । अबरोध भएपछि म आफ्नो बैठकतिर फर्किएँ । त्यहाँ गाडी आगलागि भयो । हामी त पीडित पक्ष हौँ । साच्चिकै भन्दाखेरी ।

मान्छेको ज्यान जानेभन्दा गाडी आगलागि हुने कुरा सानो कुरा होला । तर हाम्रो मन्त्रालय त पीडित पक्ष हो । हामी बिना कारण, निर्दोष हुँदाहुँदै, त्यसमा हाम्रो कुनै संलग्नता नहुँदा नहुँदै, कुनै सम्बन्ध नहुँदा नहुँदै हाम्रो त गाडी क्षति भएको छ । सरकारी सम्पत्ति क्षति भएको छ । त्यसकारण पीडित पक्षतिर नै फेरी यो घटनालाई पन्छाएर जो सुरक्षाकर्मीले कमजोरी गरेका छन् । चाहेँ सुरक्षा सम्बन्धी सूचना दिने कुरा होला । चाहे गोलि चलाउने अवस्था थियो कि थिएन त्यस्तो अवस्थामा गोलि चलाइएको कुरा होला । यो तमाम कुरामा आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढंगले अभिव्यक्ति आउन थाल्यो कि भन्ने कुरामा मलाई अनुभुति हुन थालेको छ । कतिले त्यहाँ किन गएको मन्त्री भन्नेपनि प्रश्न गरेछन् । दुनियाँलाई थाहा छ, तिन दिनदेखि बैठक चलिरहेको छ । केन्द्रिय कमिटी बैठकमा त मन्त्री भएको केन्द्रिय सदस्य पनि जान्छ नि । बैठकमा दिनदिनै गएका छौँ हामी । दिनदिनै बैठकबाट मन्त्रालयमा काममा आएका छौँ । त्यसकारण आउने जाने त तीनदिनदेखि हाम्रो चलिरहेकै छ । यस्ता कुरामा जे सत्य र वास्तविक हो त्यही नै कुरा सबैले गर्नुपर्छ । हाम्रो तर्फबाट सत्य कुराहरु प्रष्ट पारिएको छ । हामी प्रष्ट पार्न तयार छौँ । जुनसुकै हिसावले पनि यो कुरालाई सत्य सावित गर्न हामी सक्षम छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर