गोल्ड मेडलिस्ट मनुषालाई शिक्षक बन्नुछ – Nepal Press

गोल्ड मेडलिस्ट मनुषालाई शिक्षक बन्नुछ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औं दीक्षान्त समारोहमा पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली गत मंसिर २७ गते प्रकाशित गरेको थियो ।

पनिकाले हरेक वर्ष दीक्षान्त समारोहमा एमफील, स्नातकोत्तर र स्नातक तहबाट पदक एवं पुरस्कार पाउने विद्यार्थीहरुको नाम प्रकाशन गर्छ ।

स्नातक तहबाट दीक्षान्त पुरस्कार पाउने सूचीमा मनुषा चौलागाईं परिन् । शिक्षाशास्त्रतर्फ ७५.५० प्रतिशत ल्याएर प्रथम श्रेणीमा स्नातक तह उत्तीर्ण मनुषा त्रिविले प्रदान गर्ने सुशीलादेवी शर्मा पुरस्कार २०७९ बाट पुरस्कृत भइन् ।

सुशीलादेवी शर्मा पुरस्कार शिक्षा संकाय (बीएड)को परीक्षामा सहभागी महिलामध्ये सर्वोत्कृट अंक ल्याउने परीक्षार्थीलाई दिइन्छ । जुन पुरस्कार यस वर्ष मनुषाले पाइन् । उनलाई गत सोमबार दशरथ रंगशालामा भएको त्रिविको ४९औं दीक्षान्त समारोहमा पुरस्कृत गरियो ।

भक्तपुरको सानोठिमी क्याम्पसबाट मनुषाले शिक्षा संकायमा प्रथम श्रेणीमा स्नातक उत्तीर्ण गरेकी हुन् । दोलखाकी मनुषाको लागि दीक्षान्त समारोहमा पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको सूचीमा नाम आउनु स्नातकोत्तरमा अझ गोल्ड मेडलिस्ट बन्न हौसला बन्यो ।

त्यसमा पनि शिक्षाशास्त्रमा महिला विद्यार्थीहरुमध्ये उत्कृष्ट अंकसहित पुरस्कार प्राप्त गर्नु उनको लागि सानोतिनो खुशी थिएन । उनले स्नातक तहमा दीक्षित हुने रहर लागेपछि दीक्षान्त समारोहका लागि फर्म भरेकी थिइन् । पनिकाले यस वर्ष दीक्षान्त पुरस्कार पाउने सूचीमा आफ्नो नाम समावेश गर्दा मनुषा अचम्ममा परिन् । उनले यो सोच्दै नसोचेको बताइन् ।

मनुषा भन्छिन्, ‘यो त मैले सोचेको पनि थिइनँ । मैले यसरी टप गर्छु भन्ने सोचेको होइन । म सरप्राइज नै छु । आफैंलाई अच्चम लागिराखेको छ ।’

आफ्नो नाम त्रिविको दिक्षान्त पुरस्कार पाउनेहरुके सूचीमा आएपछि विश्वास नलागेर पनिकाको कार्यालयमै फोन गरेर सोध्नुपरेको उनी बताउँछिन् ।

उनले नामावलीपछि प्रतिक्रिया नेपालप्रेससँग साटिन्-

‘ म त बिहान कलेज पढ्न गएको थिएँ । त्यसपछि स्कुल जानुपर्ने काम थियो । स्कुल पुगेपछि फेसबुक खोलेर हेरें ‘बधाई छ’ भनेर आयो । अलमलमा परें । मैले त केहीमा परीक्षा दिएको थिएनँ । एउटा शिक्षक सेवामा दिएको त्यसमा त रिजल्ट आएकै थिएन । मलाई धेरै साथीहरुले ट्याग गरेको रैछ । विश्वास नलागेर बल्खुमा फोन गरेर कन्फर्म गरें । त्यसपछि बल्ल हो रहेछ भन्ने भयो । (हास्दै) त्यसपछि मै छक्क परें, कसरी म परें ? कसरी मेरो नाम आयो ?’

मनुषाले कक्षा १ देखि १२ सम्म सरकारी स्कुलमा पढेकी हुन् । उनले कक्षा ८ देखि १२ सम्म हनुमन्ते माध्यमिक विद्यालयमा पढिन् । एईई सकेपछि उनले शिक्षा संकाय लिएकी थिइन् । शिक्षा संकायमा सरकारी क्याम्पस सानोठिमीबाटै मनुषाले स्नातक पास गरेकी छन् ।

पहिला स्कुलदेखि नै सबैले तिम्रो उद्देश्य के हो भनेर सोध्दा उनी शिक्षिका बन्ने भन्ने जवाफ दिन्छिन् । उनको सपना शिक्षक बन्नु थियो । सोही सपना साकार बनाउन कक्षा ११ देखि नै शिक्षाशास्त्र लिएर पढेको उनी बताउँछिन् ।

मनुषा भन्छिन्, ‘अब पहिलादेखि नै टिचर बनिन्छ भन्छिन नि ! उद्देश्य के हो भन्दाखेरि टिचर बन्ने भनेर जवाफ दिन्थें । मलाई टिचिङ एकदमै मनपर्छ । मलाई पढाउने टिचरहरुले गरेको व्यवहार, पढाउने स्टाइल देखेर मलाई टिचिङ फिल्ड एकदमै मन पर्थ्यो ।’

उनले कक्षा १२ सकाएपछि काभ्रेको बनेपास्थित भक्तेश्वर माध्यमिक विद्यालयमा पढाइन् । उनले दुई दिन मात्र भयो पढाउन छोडेको । उनी आफैं पढ्नलाई समय नपुगेपछि शिक्षण पेशालाई केही समयको लागि विश्राम दिएकी छन् ।

उनी अहिले सानोठिमी क्याम्पसमै शिक्षाशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । मनुषाले सँगै शिक्षक सेवा आयोगको पनि तयारी गरिरहेकी छन् । उनी भन्छिन्, ‘अहिले म मास्टर्स् रनिङमै छु । सेकेण्ड सेमेस्टरमा पढ्दैछु । पढाउँदै थिएँ । यता शिक्षा सेवा तयारी गर्न समय नपुगेपछि केही समयको लागि पढाउन छाडें ।’

उनले पहिलो प्राथमिकता सरकारी शिक्षण पेशालाई राखेकी छन् । त्यसपछि सम्भव भएन भने लोकसेवामा प्रयास गर्ने उनी बताउँछिन् ।

त्रिविका गोल्ड मेडलिष्टहरु धमाधम विदेश जाने बताइरहँदा उनी भने विदेश जाने सोच नबनाएको बताउँछिन् । त्रिविका यस वर्षका गोल्ड मेडलिस्टहरु नेपालमा भविष्य नदेखेरे विदेशिने तयारीमा छन् । उनीहरुले विभिन्न पदकबाट विभूषित भएकै दिन नेपालमा आफ्नो भविष्य नदेखेको बताउँदै विदेशिने बताएका थिए । तर, मनुषा भने नेपालमै आफूले पढेको विषयमा जागिर गर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘मेरो चाहिँ विदेश जाने भन्ने छैन । नेपालमै आफूमा भएको ज्ञान अरुलाई सिकाउँ भन्ने छ । विदेश चाहिँ जान्न ।’

मनुषाका बुबा पनि शिक्षण पेशामा थिए । उनी बुबाबाटै प्रभावित भइन् । उनका अनुसार उनले पदक पाएपछि घरपरिवार खुशी नै हुनुभयो । उनका बुवाले ‘प्रगति भयो, राम्रो भयो’ भन्नुभयो । उनीहरु ६ जना दिदीबहिनीको पढाइ पहिलादेखि नै राम्रो थियो । एक जना दिदी पनि स्थायी शिक्षिका छन् ।

उनले त्रिविबाट प्रमाणपत्रसहित पुरस्कारस्वरुप ५ हजार रुपैयाँ पाइन् । मनुषा भन्छिन्, ‘रकम धेरैथोरै भएर मतलब छैन । त्रिविबाट शिक्षाशास्त्र लिएर पढ्ने महिलाहरुमध्ये सबैभन्दा पहिला हुन पाएको र सोही कारण पुरस्कृत हुन पाएकोमा खुशी छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *