बुटवलमा निर्माण सम्पन्न हुँदै अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, अस्थायी संरचनाको लाखौँ रकम बच्ने भएपछि व्यवसायी खुसी – Nepal Press

बुटवलमा निर्माण सम्पन्न हुँदै अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, अस्थायी संरचनाको लाखौँ रकम बच्ने भएपछि व्यवसायी खुसी

रुपन्देही । दशकौँ अस्थायी संरचनामा मेला महोत्सव आयोजना गर्न थालेका बुटवलका उद्योगी–व्यवसायीलाई स्थायी संरचना बनेपछि धेरै झमेलाबाट जोगिएका मात्रै छैनन् एउटै कार्यक्रममा लाखौँ रकम कम खर्च हुने भएपछि उत्साहित भएका छन् ।

बुटवलमा निर्माण सम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा मेला महोत्सव आयोजना हुन थालेपछि हरेक वर्ष हुने यस्तो खर्च कटौती भएको हो ।

अस्थायी संरचनामा औद्योगिक प्रदर्शनी गर्न लागेको ३५ वर्षपछि स्थायी संरचनामा प्रदर्शनी गत वर्षदेखि सुरु भए पनि अझै निर्माण सकिएको छैन । बुटवलमा रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघले पालैपालो प्रदर्शनी, मेला महोत्सव आयोजना गरिरहेका छन् ।

गत वर्ष निर्माण भइरहेको यो स्थलमा रुपन्देही उद्योग संघले टिन र त्रिपालले बारेर औद्योगिक प्रदर्शन गरेको थियो त्यो ठाउँमा अहिले सुविधा सम्पन्न भवन अन्तिम निर्माणको अन्तिम चरणमा पुगेको छ । अन्य संरचना निर्माण बाँकी रहे पनि मुख्य प्रदर्शनी स्थलको बाहिरी काम धेरै सकिएको छ ।

रुपन्देही उद्योग सङ्घले २०४५ सालमा पहिलो पटक काठमाडौँबाहिर बुटवलमा औद्योगिक प्रदर्शनीको आयोजनाको सुरुवात गरेपछि त्यसयता मेला प्रदर्शनीले निरन्तरता पाउन थालेको हो ।

बुटवल मण्डपमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण करिब ७० प्रतिशत सकिएको छ ।

६ दशमलव ४ बिघा क्षेत्रफलमा सहरी विकास मन्त्रालयमार्फत निर्माणाधीन प्रदर्शनी केन्द्र सरकारी स्तरको नेपालको सबभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ । यहाँ एउटा ठूलो प्रदर्शनी हल निर्माण भइरहेको छ भने दुई वटा बैठक हल, प्रशासनिक भवन र खाजा घरको निर्माण कार्य जारी छ ।

१२ हजार स्क्वायर मिटरमा निर्माण हुने ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल सहभागी हुनसक्ने छन् । त्यही हलमा यस पटक प्रदर्शनी आयोजना गरिएको छ ।

बैठक हल भने एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका निर्माण भइरहेका छन् । सबै हलको निर्माण कार्य सम्पन्न हुँदा झण्डै साढे ८ सय स्टल सहभागी हुनसक्ने छन् ।

बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकताअनुसार अलग÷अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । जहाँ एकै पटक १० हजार जनाले अवलोकन गर्न सक्ने छन् ।

त्यस्तै, २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकै पटक खाजा खाना सक्ने गरी फुड कोर्ट पनि निर्माण भइरहेका छन् । बुटवल मण्डपको लागि जग्गा छुट्टाएपछि कम्पाउन्ड वाल निर्माण गर्दा नै बुटवल उपमहानगरपालिकासँगै रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही व्यापार सङ्घले ५र५ लाख रुपैयाँ लगानी गरेका थिए ।

ढिलै भए पनि स्थायी प्रदर्शनी केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको र पहिलो पटक स्थायी प्रदर्शनी केन्द्रमा प्रदर्शनी आयोजना गर्न पाउँदा उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष तथा रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष टंकप्रसाद पोखरेलले स्थायी प्रदर्शनी स्थलले जोखिम र खर्च घटाउने मात्र सुरक्षाका हिसाबले सबै सहज भएको बताए ।

‘उद्योगी व्यवसायीलाई मात्र होइन उपभोक्तालाई पनि धेरै सहज भएको छ, हरेक वर्ष हुने ठूलो सुरक्षा खर्च जोगियो, धुलो कम भयो, तर अझै काम सकिएको छैन’ उनले भने, ‘कार्यविधि नबनेर समस्या छ । तत्काल यसलाई अगाडि बढाउनुपर्छ । सञ्चालनको मोडालिटीका विषय अहिलेबाट छलफल गर्नुपर्ने निजी क्षेत्रको जिम्मेवारी हो । अब विद्यागत मेला महोत्सव गरम, सबै एकै ठाउँमा सम्भव हुँदैन ।’

निर्माणाधीन अवस्थामै रहेको संरचनामा मेला महोत्सव आयोजना गर्दा केही चुनौतीको सामना गर्नुपरे पनि खुला आकाशमुनि टेन्ट टाँगेर प्रदर्शनी गर्नुपर्ने बाध्यता हटेको रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा बताउँछन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले स्थायी प्रदर्शनी स्थल बनेका कारण यो क्षेत्रका उद्योगी व्यवसायी तथा उपभोक्तालाई धेरै सहज बनाएको तर यसको बाँकी निर्माणको काम छिटो सक्नुपर्ने बताए ।

अहिलेसम्मकै ठूलो लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलाको यस्तो छ तयारी

यही सुविधा सम्पन्न केन्द्रमा अहिले रुपन्देही व्यापार संघले यो क्षेत्रमै नमुना देखाउने गरी लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने अन्तिम तयारी गरेको छ ।

पुस ५ गतेदेखि हुन लागेको मेलामा १० अन्तर्राष्ट्रियसहित ६ सय स्टल दर्ता भइसकेका छन् । १० लाख दर्शकलाई अवलोकन गराई ५० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य संघले राखेको जनाएको छ ।

आर्थिक मन्दीका बीच रुपन्देहीमा आयोजना हुने व्यापार मेलामध्ये यो स्टल संख्या सबैभन्दा धेरै भएकाले पनि आयोजक उत्साहित बनेको जनाएका छन् ।

एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान, कोरियालगायतका देशबाट १० वटा राष्ट्रका उत्पादनका स्टल रहने संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।

उनले विगतदेखि नै कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण, स्थानीय साना तथा घरेलु व्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा सञ्चार, शैक्षिक, सेवामूलक, वैकल्पिक ऊर्जा, स्वदेशी उत्पादनका व्यवसायलाई महत्त्वपूर्ण ढंगले समावेश गर्ने प्रयास यस पटकको एक्स्पोमा पनि व्यवहारमै कार्यान्वयन गरिएको जनाए।

सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि, महिला उद्यमी एवं सामाजिक संघसंस्थाहरुलाई निःशुल्क रूपमा केही स्टल उपलब्ध गराइएको उनले बताए । एक्स्पोबाट बचत भएको रकमको केही अंश बुटवलकै आर्थिक र सामाजिक क्षेत्रमा लगानी हुने भएकाले यसलाई सफल बनाउन सबैको साथ र रचनात्मक सुझाव अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताए ।

एक्स्पोलाई सुरक्षित बनाउन नीजि सुरक्षा कम्पनीको सहभागितामा आवश्यकता अनुसार सुरक्षा प्रबन्ध मिलाइएको र सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती रहने उनले बताए । एक्स्पोमा सबैभन्दा धेरै गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१ स्टल दर्ता भएका छन् ।

होटल तथा रेष्टुरेन्टका २३, कृषिका ४३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका ७८ स्टल रहने घिमिरेले जनाए । शृङ्गार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिकका ५३, बैंक/वित्तीय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहने छन् ।

मेलामा बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्त्व बोकेका सम्पदा तथा स्थलको प्रचारप्रसारसमेत गरिने महासचिव दयानिधि भण्डारीले बताए ।

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने मूल नाराका आयोजना गरिएको एक्स्पो पुस १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रवेशद्वारमा लुम्बिनीको झल्को

एक्स्पोको मुख्य प्रवेशद्वार शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको आकारको निर्माण गरिएको छ । मूल प्रवेशद्वार मायादेवी मन्दिरको दुरुस्तै आकार झल्किने गरी निर्माण गरिएको छ ।

संघले अर्थतन्त्रको सबलताका लागि वाणिज्य, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायात र कृषिको विकास आवश्यक आधारहरू हुन् भन्ने मान्यताका साथ त्यसको विकासका लागि मेलालाई एक थलो बनाउने जनाएको छ ।

गौतम बुद्धको जन्मभूमि, तत्कालीन ब्रिटिश साम्राज्यवादलाई पराजय गराउन सफल ऐतिहासिक जितगढी किल्ला, आघिमानव रामापिथेकसको भूमि भएकोले पनि यस क्षेत्रको महत्त्व अझै बढेकाले त्यसको प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रको विकासमा जोड दिने योजना बनाएको महासचिव भण्डारीले जनाए ।

संघका पूर्व अध्यक्ष तथा एक्स्पो २०७५ को मूल आयोजक समितिका संयोजक पदमप्रसाद श्रेष्ठले मेलाको आयोजनाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको व्यापार केन्द्रको रूपमा विकास गर्ने, युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्दै स्थानीय वस्तु तथा सेवाको बजार प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य लिएको बताउँछन् ।

अर्थतन्त्रमा देखिएको शिथिलतालाई चलायमान बनाउने र स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै आम नागरिकमा व्यावसायिक चेतना अभिवृद्धि गर्दै पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी गर्ने कुरामा मेला सहयोगी बन्ने उनको भनाइ छ ।

संघलाई आयोजक नेपाल चेम्बर अफ कमर्श र सहआयोजकहरु देवदह व्यापार संघ, तिलोत्तमा व्यापार संघ, सैनामैना व्यापार संघ र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर, नेपाल पर्यटन बोर्ड, काठमाडौं, बुटवल उपमहानगरपालिका, बुटवल प्रवर्द्धक रहेर साथ दिएका छन् ।

सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक प्रकाश पौडेलले मेला अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुतिसँगै प्रतियोगितात्मक कार्यक्रमहरू धेरै समावेश गरिएको जनाए ।

मेलामा लोक संस्कृतिलाई जोगाउने उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, डान्स आइडल–२०८०, लोक भजन प्रतियोगिता समेत राखिएको छ । यस पटक युवाहरूलाई समेट्ने गरी र्याप प्रतियोगिता राखिएको छ । त्यस्तै संस्कृतिको संरक्षण गर्न विभिन्न जनजातिका भेषभुषा र संस्कृति झल्किने प्रस्तुति रहने जनाइएको छ ।

एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरू गठन गरिएको छ ।

स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष संवाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले काठमाडौं बाहिर २०६६ मा व्यापार मेला अटो प्रदर्शनी, २०६९, २०७२ र २०७५ मा लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेला सफलताका साथ सम्पन्न गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *