६५ कम्पनीले आकर्षक लाभांश दिँदा २८ वटाका लगानीकर्ताको हात खाली – Nepal Press

६५ कम्पनीले आकर्षक लाभांश दिँदा २८ वटाका लगानीकर्ताको हात खाली

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ६५ वटा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने भएका छन् ।

आर्थिक वर्षको पुस मसान्तसम्म सूचीकृत कम्पनीहरुले साधारणसभा गर्नुपर्ने व्यवस्था छ । सोहीअनुरुप केही कम्पनीले साधारणसभा गरिसकेका छन् । केही गर्ने चरणमा छन् । दुई दर्जनभन्दा बढी कम्पनीले भने लगानीकर्ताको हात खाली बनाएका छन् ।

कुनै पनि कम्पनीको शेयरमा सर्वसाधारणले लगानी गर्नुको उद्देश्य कि तत्काल शेयर बेचेर नाफा खान हुन्छ कि त दीर्घकालसम्म राखेर लाभांश खाने हो । लाभांश खाने लगानीकर्तालाई भने हरेक वर्ष कुन कम्पनीले कति लाभांश दिन्छ भन्ने विषयमा चासो हुने गर्छ ।

एनआईसी एसियाका लगानीकर्तालाई सबैभन्दा बढी लाभांश

वाणिज्य बैंकहरुमा एनआईसी एसिया बैंकले सबैभन्दा बढी लाभांश दिँदैछ । बैंकले आफ्ना शेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने भएको हो ।

एनएमबी र कुमारी बैंकका लगानीकर्ता भने हात खाली हुने भएका छन् । उनीहरुले लगानीकर्तालाई लाभांश नदिने घोषणा गरिसकेका छन् । एभरेष्ट बैंकले २० प्रतिशत लाभांश दिँदा स्ट्याण्डर्ड चार्टड बैंकका लगानीकर्ताले १९ प्रतिशत लाभांश पाउनेछन् ।

चार विकास बैंकले दिँदैछन् लाभांश

हालसम्म चार वटा विकास बैंकले लाभांश दिने घोषणा गरेका छन् । घोषणा गरेकाहरुमध्ये सबैभन्दा बढी साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश दिनेछ । साइन रेसुङ्गाले यस पटक ११ प्रतिशत लाभांश दिँदैछ ।

तीन वटा फाइनान्सको लाभांश घोषणा

त्यस्तै तीन वटा फाइनान्स कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । आईसीएफसी फाइनान्स कम्पनीले साढे ६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तमा युनिकले बढी लाभांश दिने

हालसम्म १२ वटा लघुवित्तले लाभांश घोषणा गरिसकेका छन । जसमा युनिक नेपाल लघुवित्तको लाभांश सबैभन्दा बढी देखिएको छ । युनिक नेपालले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिएको छ । ५ वटा लघुवित्तले भने १५ प्रतिशत लाभांश दिँदैछन् ।

सानिमा माइ हाइड्रोपावरका लगानीकर्तालाई १५ प्रतिशत लाभांश

जलविद्युत समूहअन्तर्गत सानिमा माइ हाइड्रोपावर कम्पनीले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिएको छ । यस समूहका ८ वटा कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।

यता सोल्टी होटलले ३१ प्रतिशत लाभांश दिएको छ । होटल समूहअन्तर्गत हालसम्म ३ वटा होटलले मात्र लाभांश घोषणा गरेका छन् ।

यस्तै लगानी समूहअन्तर्गत इमर्जिङ नेपाल र नेपाल इन्फ्रास्टक्चर बैंकले लाभांश घोषणा गरेका छन् ।

युनिलिभरको १ सय ५८० प्रतिशत लाभांश

युनिलिभरले १ हजार ५८० प्रतिशत लाभांश वितरण गर्दैछ । गत आर्थिक वर्षको नाफाबाट सो कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यो लाभांश हालसम्मकै उच्च हो ।

हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल, नेपाल ल्युव आयलले पनि लाभांश घोषणा गरेका छन् ।

यता १९ वटा म्युचुअल फण्डले पनि लाभांश घोषणा गरिसकेका छन् ।

निर्जीवन बीमा समूहअन्तर्गत नेपाल इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । उसले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी जम्मा १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

२८ वटा कम्पनीका शेयरधनीको हात खाली

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २८ वटा कम्पनीले भने आफ्ना शेयर धनीको हात खाली बनाएका छन् । वाणिज्य बैंकतर्फ एनएमबी र कुमारी बैंकले लगानीकर्ताको हात खाली बनाएका छन् ।

विकास बैंकतर्फ कामना सेवा विकासले लाभांश नदिने घोषणा गरिसकेको छ । यस्तै फाइनान्सहरुमा मञ्जुश्री, प्रोग्रेसिभ र नेपाल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएका छन् ।

लघुवित्ततर्फ हिमालयन, सामुदायिक, मनकामना स्मार्ट, गणपती, गुराँस, उपकार, फरवार्ड, साधना, नाडेप, युनिक नेपाल र सबैको लघुवित्तले पनि अघिल्लो आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने घोषणा गरिसकेका छन् ।

यस्तै जलविद्युत समूहअन्तर्गत पञ्चकन्या माई हाइड्रोपावर, नेशनल हाइड्रोपावर, आँखुखोला जलविद्युत, अप्पर सोलु, बुद्धभूमि नेपाल, मध्य भोटेकोशी जलविद्युतले पनि लगानीकर्ताको हात खाली बनाएका छन् ।

यता कालिञ्चोक दर्शन र सिटी होटलले पनि लाभांश नदिने भएका छन् । नेको इन्सुरेन्सले पनि लगानीकर्तालाई कुनै लाभांश वितरण नगर्ने घोषणा गरेको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङले पनि लाभांश नदिने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *