जनकपुरधाममा बन्दै ७० क्विन्टल अन्नबाट सीता-रामको विशाल प्रतिमा, अयोध्याको विश्व रेकर्ड तोडिने – Nepal Press

जनकपुरधाममा बन्दै ७० क्विन्टल अन्नबाट सीता-रामको विशाल प्रतिमा, अयोध्याको विश्व रेकर्ड तोडिने

जनकपुरधाम । साताव्यापी सीता-राम विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार ११ स्क्वायर फिटको सीता-रामको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ ।

रंगभूमि मैदानको उत्तर-पूर्व कुनामा मंसिर २४ बाट अन्नबाट सीता-रामको प्रतिमा निर्माण भइरहेको छ । प्रतिमाको लम्बाइ १२० फिट र चौडाइ ९१ फिट रहेको छ । यसमा ११ प्रकारको करिब ७० क्विन्टल अन्न प्रयोग हुने अनुमान छ ।

प्रतिमा निर्माणमा दुई नेपालीसहित १० कालिगढ जुटेका छन् । जसमा आठ जना भारतको मध्यप्रदेशका हुन् । मध्यप्रदेशकै सतिश गुजरले प्रतिमा निर्माणको नेतृत्व गरिरहेका छन् ।

गुजरकै नेतृत्वमा गत वर्ष भारतको अयोध्यामा अन्नबाटै १० हजार ८०० स्क्वायर फिटको सीता-रामको प्रतिमा बनाइएको थियो । अयोध्या भगवान रामको जन्मस्थल हो । त्यहाँ बनाएको प्रतिमा अहिले विश्व रेकर्डमा छ ।

अब जनकपुरधाममा अन्नबाट बन्न लागेको ११ हजार ११ स्क्वायर फिटको सीता-रामको प्रतिमाले अयोध्याको रेकर्ड तोड्नेछ । अब जनकपुरधामको प्रतिमा विश्व रेकर्ड बन्ने दाबी गरिएको छ । यो प्रतिमा यसवर्षको विवाह पञ्चमीको मुख्य आकर्षण हुनेछ ।

अन्नबाट निर्माण भइरहेको सीता-रामको प्रतिमामा कुनै रंग प्रयोग नहुने प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठले बताए । उनका अनुसार ११ प्रकारको अन्नबाटै रंग संयोजन गरिनेछ ।

उनले प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको बताए । संयोजक महासेठले भने, ‘तीब्र गतिमा प्रतिमा निर्माण गर्न कालिगढ जुटेका छन् । आज रातिसम्म प्रतिमा तयार हुने जानकारी पाएको छु ।’

प्रतिमाले बन्ने विश्व रेकर्ड कालिगढ, जनकपुरधाम उपमहानगरपालिका र उद्योग वाणिज्य संघको नाममा रहने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर