यू १९ एसिया कप – कठिन पिच र बलिया टीमसँग नेपालको ब्याटिङ एक्सपोज – Nepal Press

यू १९ एसिया कप – कठिन पिच र बलिया टीमसँग नेपालको ब्याटिङ एक्सपोज

काठमाडौं । यू १९ एसिया कपमा भाग लिन यूएई जाँदै गर्दा नेपाली युवा टीम निकै उत्साही थियो । कप्तान देव खनालले भारत र पाकिस्तानजस्ता टीमलाई समेत हराएर सेमिफाइनल पुग्ने महत्वाकांक्षा प्रस्तुत गरेका थिए । तर, नेपाल तीन खेलबाट एक अंक पनि नबटुलिकन प्रतियोगिताबाट बाहिरिएको छ ।

यो अनपेक्षित नतिजा होइन, किनकी समूह चरणमा तीनवटै प्रतिस्पर्धी टेस्ट मान्यताप्राप्त राष्ट्र हुन् । भारत, पाकिस्तान क्रिकेटका हस्ति राष्ट्रहरु नै हुन् भने अफगानिस्तानले पनि पछिल्लो समय हस्ति राष्ट्रहरुलाई टक्कर दिइरहेको छ । त्यसैले उनीहरुसँग हार व्यहोर्दा लज्जित हुनुपर्दैन । तर, नेपाली टिीमबाटट जुन स्तरको प्रदर्शनको आशा राखेको थियो, त्यो चाहीँ पूरा भएन । खासगरि नेपालको ब्याटिङ यूएईको कठिन पीचमा नराम्ररी उदांगो भएको छ ।

मंगलबार दुबईको आइसीसी एकेडेमी ओभल–२ मैदानमा भएको खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अलआउट भयो । राष्ट्रिय टिमको अनुभव प्राप्त दुई ब्याट्सम्यानसमेत रहेको टीमबाट यस्तो आशा थिएन । हारे पनि नेपालले ‘मुकाबिला’ गर्ने छ भन्ने अपेक्षा फ्यानहरुले राखेका थिए । तर, ब्याट्सम्यानमा धारिलो फास्ट बलिङ सामना गर्ने खुबी र धैर्य देखिएन । फास्ट बलरलाई सहयोग गर्ने पीचमा नेपाली ब्याट्सम्यानले धेरै मिहिनेत गर्न बाँकी छ भन्ने पुष्टि भयो ।

यो प्रतियोगितालाई आउँदो जनवरीमा हुने आइसीसी विश्वकप क्रिकेटको तयारीको रूपमा हेरिएको थियो । कम्तिमा एउटा जीत निकालेको भए त्यो अभूतपूर्व उपलब्धी हुन सक्थ्यो । तर, प्रतियोगिताभर नै नेपालको ब्याटिङ सम्झन लायक रहेन । ३ वटै खेलमा पूरा ५० ओभर खेल्न नसक्नुले नेपालको कमजोरी झल्किन्छ ।

पहिलो खेलमा पाकिस्तानविरुद्ध ४७ ओभर २ बलमा अल आउट भएको नेपाल दोस्रो खेलमा अफगानिस्तानविरुद्ध ४० ओभर १ बलमा अलआउट भएको थियो । अन्तिम खेलमा भारतविरुद्ध नेपाल २२ ओभर १ बलमै समेटियो । ओपनर अर्जुन कुमालले अफगानिस्तानविरुद्ध र उत्तम थापा मगरले बलियो पाकिस्तानविरुद्ध गरेको ब्याटिङ मात्रै सम्झनयोग्य रहे । उनीहरुको दुई इनिङबाट पुष्टि हुन्छ कि ब्याट्सम्यानले धैर्यता र सुझबुझ राखेको खण्डमा रन बन्न सक्थ्यो ।

३ वटै खेलमा नेपालले २ सय रन कटाउन सकेन । पाकिस्तानविरुद्ध १ सय ५२ मा समेटिएको नेपालले अफगानिस्तानसँग जेनतेन १ सय ८८ रन पुर्यायो । तर भारतसँग ५२ रनमै प्याक भयो । नेपालको ३ वटै खेलमा राम्रो साझेदारी बन्न सकेन । दीपेश कँडेल र उत्तम थापामगरले पाकिस्तानविरुद्ध गरेको ६८ रनको साझेदारी नै सर्वाधिक ठूलो रह्यो ।

नेपाललाई ब्याटिङमा सबैभन्दा निराश बनाए कप्तान देव खनाल र स्टार अलराउन्डर गुल्शन झाले । उनीहरु दुवै राष्ट्रिय टीमका अनुभवप्राप्त हुन् । उनीहरुको ब्याट चलेको खण्डमा भारत–पाकिस्तानलाई पनि स्तब्ध पार्न सक्छन् भन्ने थियो । तर, दुवै फ्लप भए ।

पहिलो खेलमा गोल्डेन डकआउट भएको कप्तान खनालले दोस्रो खेलमा २४ रन जोडे । तेस्रो खेलमा उनी २ रनमा आउट भएका थिए । तीन खेलमा उनको कुल स्कोर रह्यो २६ रन ।

अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट समेत पाकिस्तान र भारतसँग खेलिसकेका छन् । राष्ट्रिय टीमका लागि थुप्रै उत्कृष्ट इनिङ खेलेका उनले युवा टीममा धमाल नै मच्चाउलान् भन्ने सोचिएको थियो । उनी अन्तिम समयमा यू–१९ टोलीमा समेटिएका थिए । तर, झाले तीन खेलमा जम्मा २२ रन बनाए ।

नेपालको बलिङले पनि कुनै चमत्कार देखाउन सकेन । पीचमा फास्ट बलरलाई प्रशस्त अवसर थियो । त्यसको पुरा फाइदा उठाउन सकेनन् नेपाली बलरले । सिनियर टिममा जस्तै जुनियरमा पनि फास्ट बलिङको कमजोरी देखियो । स्पिनमा सबैभन्दा बढी आशा गरिएका दिपेश कँडेल पनि चम्किन सकेनन् । उनलाई पिचबाट खासै मद्दत पनि थिएन ।

नेपालले अफगानिस्तानलाई ४९ ओभर ३ बलमा अलआउट गर्न सफल भयो । पाकिस्तानको तीन विकेट लिन सफल भयो । पाकिस्तानका तीन विकेट लिन सफल भयो । गुल्शनले बलिङमा चार विकेट लिए । उनको बलिङ सुधार हुनु नेपालका लागि सकारात्मक पक्ष हो ।

नेपालका अधिकांश ब्याटर पाकिस्तान, अफगानिस्तान र भारतका पेस बलरको सिकार भए । टेस्ट राष्ट्रका पेस बलरसामु नेपाली ब्याटिङ धराशायी बन्यो । नेपालविरुद्ध पाकिस्तानका पेस बलर मोहम्मद जिशानले ६ विकेट लिएका थिए । भारतका पेस बलर राज लिम्बानीले एक्लै सात विकेट लिए ।

हरेक जितले आत्मविश्वास बढाउँछन् भने हारले पाठ सिकाउँछन् । दुबईमा युवा टिमको प्रदर्शनले खेलाडीहरुको कमजोरी उजागर भएको छ । अब विश्वकपअघि ती कमजोरीलाई कसरी न्यूनिकरण गर्ने भन्नेमा टीम व्यवस्थापन र प्रशिक्षकको ध्यान जानुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर