एमालेको मध्यपहाडी यात्रा : पहिचानवादीको आन्दोलन निस्तेज पार्न कोशीमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरु) – Nepal Press

एमालेको मध्यपहाडी यात्रा : पहिचानवादीको आन्दोलन निस्तेज पार्न कोशीमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)

काठमाडौं । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तेह्रौं दिन आज केपी ओली नेतृत्वको एमाले टोली कोशी प्रदेश प्रवेश गरेको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै केही बेरअघि कोशी प्रदेश छिरेको हो । बाँकी ६ दिन एमालेले यही प्रदेशमा बिताउनेछ ।

कोशी प्रदेशको नामकरणलाई लिएर असन्तुष्ट पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्ने उद्देश्यसहित आन्दोलनको घोषणा गरेका कारण यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । ओखलढुंगा प्रवेशद्वार सुनकोशीको पुलबाटै सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । अभियानको रुट र सभास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालित छन् ।

गोपाल किरातीलगायत पहिचानवादी नेताले एमालेको यात्रालाई अवरोध गर्ने भन्दै भड्किलो अभिव्यक्ति दिएका थिए । तर, प्रदेशका सुरक्षा निकायका प्रमुखले सुरक्षा प्रत्याभूतिमा कुनै कमी नहुने बताएको छ । जनपथ र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुखहरू कार्यक्रमस्थलको अनुगमनमा खटिएका छन् ।

कार्यक्रम बिथोल्न खोज्ने जोकोहीलाई पनि कारबाही गरिने सुरक्षा निकायको भनाइ छ । अवरोध गर्न खोज्ने सम्भावित व्यक्ति र समूहमाथि निगरानी राखिएको एक अधिकृतले बताए ।

रामेछाप मन्थलीबाट हिँडेको टोली सिन्धुलीको खुर्कोटमा भेटघाट कार्यक्रम राखिएको छ भने घुर्मीमा सभा हुँदैछ । हर्कपुरमा पनि मञ्च व्यवस्थापन भइसकेको छ । आज घुर्मीको सभा सकेर टोली खोटाङ सदरमुकाम दिक्तेल बास बस्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर