दीपक मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री अनिच्छुक, माधव नेपाल असन्तुष्ट ! – Nepal Press

दीपक मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री अनिच्छुक, माधव नेपाल असन्तुष्ट !

पोखरा । चौथो पटक मन्त्रीको कोटा पक्कापक्की गर्न नेकपा एकीकृत समाजवादी प्रवेश गरेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) हालसम्म मन्त्री नियुक्त भएका छैनन् । मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित सांसद मनाङे मन्त्री बन्न नै गत मंसिर १९ गते नेकपा एस प्रवेश गरेको चर्चा थियो ।

तर, गत वैशाख २९ गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई समेटेनन् । त्यति बेला माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले समेत मनाङेलाई मन्त्री नबनाएर सहमति उल्लङ्घन गरेको बताएका थिए ।

पोखरामा शनिबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले ८ महिनाअघिको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखे । मन्त्रिमण्डलमा समाजवादीको सहभागिता सबै ठाउँमा हुनुपर्छ भन्ने गठबन्धनबीचको सहमति कार्यान्वयन नभएकोमा उनको दुःखेसो छ ।

‘सात प्रदेशमा कम्तीमा एउटा भए पनि सांसद छन् । त्यो भएको हुनाले पनि प्रत्येक ठाउँमा, मन्त्रिमण्डलमा हाम्रो सहभागिता सबै ठाउँमा हुनुपर्छ भन्ने हाम्रो सहमति छ’, उनले भने, ‘नीति योजना आयोगमा सामेल हुने सहमति छ । विभिन्न ठाउँमा समितिका सभापतिहरू पनि एकभन्दा बढी छ भने त्यो पनि प्राप्त गर्ने सहमति छ । यो सहमतिको कार्यान्वयन भइरहेको छैन ।’

मुख्यमन्त्री पाण्डे मनाङेलाई मन्त्री बनाउन सुरुदेखि नै सकारात्मक छैनन् । पाण्डेले एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनाउनै परे ६ महिना गैरसांसदलाई बनाउने तर, मनाङेलाई नबनाउने अडान त्यति बेला लिएका थिए ।

प्रदेश नीति तथा योजना आयोगमा एकीकृत समाजवादी कोटाबाट अञ्चला चौधरी सदस्य बनेकी छन् । चौधरी समाजवादीका अध्यक्ष नेपालको गृह जिल्ला रौतहटकी हुन् । समाजवादीलाई सरकारमा सहभागी बनाउन मुख्यमन्त्रीले आलटाल गरेको अध्यक्ष नेपालले आरोप लगाए ।

मनाङेलाई नेकपा एसमा भित्र्याउँदै नेता बेदुराम भुसाल ।

‘मन्त्रिमण्डलमा सामेल गर्ने कुरा त्यो भएको छैन । नीतिगत रूपमा हुन्छ भन्ने कुरा भएको छ । व्यवहारिक रूपमा यहाँका मुख्यमन्त्रीजीले आलटाल गर्दै हुनुहुन्छ’, उनले भने ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार अध्यक्ष नेपालले भनेअनुसार सरकार पुनर्गठनको तत्काल सम्भावना छैन ।

‘अहिले सरकार पूर्ण छ । तत्कालै सरकार फेरबदलको सम्भावना छैन । अध्यक्ष नेपालले फोन संवाद गरेको भन्नुभएको रहेछ । त्योबारेमा मलाई जानकारी छैन’, सचिवालयका एक सदस्यले भने ।

नेकपा एसका उपाध्यक्ष केशवलाल श्रेष्ठले गण्डकीमा मन्त्री बनाउँदा अहिलेसम्म मनाङेलाई बनाउने भने पनि निर्णय भइनसकेको प्रतिक्रिया दिए ।

उनले नेपाल प्रेससँग भने, ‘सहमतिअनुसार एकजना राख्ने भन्नेछ । अहिलेसम्म उहाँ (मनाङे) नै भन्ने छ । निर्णय भने भइसकेको छैन ।’

अध्यक्ष नेपालले मनाङेलाई भन्दा पनि पार्टीलाई सहभागी बनाउनुपर्ने जोड दिएको मुख्यमन्त्री निकट स्रोतको दाबी छ ।

मुख्यमन्त्री निकट स्रोत भन्छ, ‘समाजवादीलाई मन्त्री बनाउनलाई भने जस्तो लाग्दैन । समाजवादीको कुनै एक सहभागी हुनुपर्छ भन्ने हो । तर, मनाङेलाई नै मन्त्री बनाउने भनेर भन्नुभएन जस्तो लाग्छ’, उनले भने, ‘पहिला पनि मनाङेलाई मन्त्री बनाउन पहल गरे जस्तो लाग्दैन ।’

चुनावमा भएको कांग्रेस, माओवादी र एसको गठबन्धनकै कारण संघ र प्रदेशमा सोही गठबन्धनको सरकार बन्नेमा विश्वस्त हुँदै उनी गत मंसिर १९ गते एस प्रवेश गरेका थिए । तर, गण्डकी प्रदेशसभामा स्वतन्त्रकै हैसियतमा रहेका उनी केन्द्रमा माओवादी र एमालेसहितको गठबन्धन बनेपछि कोल्टे फर्किएका थिए ।

एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बन्न माओवादीसहितको समर्थन हुने भएपछि राजीवले अधिकारीलाई समर्थन रहेको हस्ताक्षर गरे । मन्त्री बन्न नपाउने भएपछि अधिकारीलाई विश्वासको मत दिएका थिएनन् । फेरि गठबन्धन उल्टिएर कांग्रेस-माओवादीको साझेदारी हुने भएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई समर्थन गरे, विश्वासको मत पनि दिए ।

सरकार गठन हुने बेला नै अध्यक्ष नेपालले गण्डकीका आफ्ना एकमात्रै सांसद राजीवलाई मन्त्री बनाउन दबाब दिएका थिए । तर, मुख्यमन्त्री पाण्डेले दबाबको सामना गर्दै कुटिल चाल चलेर माओवादीलाई २ मन्त्री दिई आफ्नो पार्टी कांग्रेसका भागमा ५ मन्त्रालय पारेका थिए ।

मनाङे यसअघि संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालको अन्तिममा युवा तथा खेलकुदमन्त्री भएका थिए । माओवादीसँगको साझेदारी टुटेर एमाले नेता पृथ्वीसुब्बाको सरकार ढल्दा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा फेरि उनै मुख्यमन्त्री बनेका थिए । त्यो १ महिनामा पनि पृथ्वीसुब्बाले मनाङेलाई दोस्रो पटक मन्त्री बनाएका थिए ।

पछि कांग्रेस नेता कृष्णचन्द्र नेपालीले माओवादी, जसपा र जनमोर्चासमेतको समर्थनमा गठबन्धन सरकार बनाउँदा स्वतन्त्र सांसद मनाङेको एकमत बहुमत अर्थात् ३१ सांसद पुर्‍याउन निर्णायक थियो । त्यही निर्णायक शक्तिसहित उनी पोखरेल सरकारमा पनि मन्त्री भएका थिए ।

तर, अहिले चौथो पटक मन्त्री हुने मनाङेको विश्वास भने मुख्यमन्त्री पाण्डेको अडानले रोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर