मिटरब्याजीले जग्गा हडपेर राेपेको धान पीडितहरुले भित्र्याए – Nepal Press

मिटरब्याजीले जग्गा हडपेर राेपेको धान पीडितहरुले भित्र्याए

जनकपुरधाम । सिरहा नगरपालिका- १९ सन्हैठाका मिटरब्याजी (सुदखोर) योगिन्द्रप्रसाद यादव (जोगी)ले हड्पेको जग्गाको धान मिटरब्याज पीडितहरुले भित्र्याएका छन् ।

यादवले हड्पेको तीन विघा बढी जग्गामा लगाएको धान बिहीबार मिटरब्याज पीडितहरुले काटेका हुन् ‌। धान काट्न विभिन्न स्थानका सयौं पीडित पुगेका थिए । उनीहरुले धान काटेर पीडित रामसौगारथ यादवको घरमा भित्र्याएका छन् ।

रामसौगारथले २०६३ सालमा गोलबजारमा इँटा उद्योग सञ्चालन गर्न जोगीसँग एक लाख रुपैयाँ ऋण लिएका थिए । ऋण दिएपछि जोगीले जग्गा दृष्टिबन्धक राख्नुपर्ने सर्त राखेका थिए ।

जग्गा दृष्टिबन्धक राख्न समय लाग्ने भएकाले ऋण दिएका बेला तत्कालै उनले रामसौगारथबाट चार लाखको कपाली कागज बनाए । त्यसको केही दिनमै १४ कट्ठा २ धुर जग्गा रजिस्ट्रेशन पास (राजीनामा) गराए । तर, कपाली कागज पछि दिने बहानामा जोगीले फिर्ता गरेनन् ।

रामसौगारथका छोरा सोभित भन्छन्, ‘यतातिर जति ऋण लिन्छन्, त्यसको तीन गुणाको कपाली तमसुक साहुले बनाउने गर्छन् । तर, जोगीले मेरो बुवालाई ढाटेर चार गुणा अर्थात् चार लाखको कपाली बनाए । जग्गा दृष्टिबन्धक राख्ने भनेर मातपोतका कर्मचारी मिलाएर जोगीले राजीनामा नै गराए ।’

बेइमानी गर्ने नियतले नै जोगीले कपाली पनि बढीको र जग्गा पनि राजीनामा गराए । तर, रामसौगारथले विश्वास गरे । उनले खोलेको इँटा उद्योगबाट जोगीलाई १ लाख ६७ हजार बराबरको इंटा दिए । २२ हजार एक पटक र ३५ हजार पुनः गरी ५७ हजार रुपैयाँ पनि फिर्ता गरे ।

एक लाख ऋणको १ लाख ६७ हजारको इंटा र ५७ हजार नगद दिएपछि रामसौगारथले जोगीसँग कपाली कागज र जग्गा फिर्ता मागे । तर, जोगीले कपाली कागज फिर्ता गर्नुको सट्टा अदालतमा मुद्दा हाले ।

लामो समयदेखि ऋण नतिरेको झूटो व्यहोरासहित कपाली कागज जोगीले अदालतमा लगाए । रामसौगारथले ५ वर्षसम्म मुद्दा लडे । तर, अदालतले रामसौगारथलाई न्याय गरेन ।

जिल्ला अदालत सिरहाले २०७१ मा मिटरब्याजी जोगीकै पक्षमा फैसला सुनायो । अदालतको फैसलाअनुसार जोगीले रामसौगारथको २ विघा ६ कट्ठा जग्गा पूरै हड्पे । जोगीले न्यायाधीशलाई पैसा खुवाएर आफ्नो पक्षमा फैसला गराएको पीडितको आरोप छ ।

सुरुमा रजिस्ट्रेशन पास गराएको १४ कट्ठा २ धुर र अदालतको आदेशपछि हड्पेको २ विघा ६ कट्ठा जग्गा अहिलेको चलनचल्ती मूल्यअनुसार करिब ४ करोड बढीको छ ।

एक लाख ऋणको १ लाख ६७ हजारको इँटा र ५७ हजार नगद फिर्ता गर्दा पनि चार करोड बढीको जग्गा जोगीले हड्पेपछि पीडित रामसौगारथले कैयौं पटक समाजलाई गुहारे । गाउँमा पटक पटक छलफल पनि भयो । समाजले दबाब दिएपछि जोगी २४ कट्ठा (एक विघा ४ कट्ठा) जग्गा फिर्ता गर्न तयार भए ।

पीडित रामसौगारथका छोरा सोभित भन्छन्, ‘समाजको दबाबपछि जोगीले २४ कट्ठा जग्गा फिर्ता गरे । तर, फेरि बेइमानी गरे । आफ्नो श्रीमती र छोराबाट अदालतमा हकसफी मुद्दा चलाउन लगाए र फिर्ता गरिसकेको जग्गा पुनः अदालतको फैसलाबाट फिर्ता लगे ।’

जोगीले आफूहरुको भएको सबै जग्गा लुटेको उनको आरोप छ ।

जग्गा हड्पे पनि खेत रामसौगारथले नै उब्जाउँदै आएका थिए । तर, तीन वर्षअघि खेती गर्न दिएनन् । यस वर्ष पनि मिटरब्याजी जोगीले नै धान रोपेका थिए । तर, बिहीबार धान भने मिटरब्याज पीडितहरुले काटेर पीडित रामसौगारथको घर भित्र्याएका छन् ।

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले पीडितले आयोगबाट पनि न्याय नपाएपछि बन्धक बनाइएको जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत धान काटेको बताए ।

उनले भने, ‘जमिन किसानको आमा हुन्छ । किसानको आमालाई बन्धक बनाइएको थियो । यो बुझ्नुस् कि हामी किसानको आमालाई बन्धकमुक्त गराउन सफल भएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर