केपी ओली कप फाइनल: विभागीय टिमलाई प्रदेश टिमको चुनौती – Nepal Press

केपी ओली कप फाइनल: विभागीय टिमलाई प्रदेश टिमको चुनौती

पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशबीच खेल हुँदैछ । आर्मी र मधेशबीचको फाइनल खेल आज मध्यान्ह साढे १२ बजेबाट पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु हुनेछ ।

आर्मीको कप्तानी विनोद भण्डारीले गरेका छन् भने मधेशको कप्तानी हरिशंकर शाहले गरेका छन् । आर्मीले यसअघिका सबै खेलमा शतप्रतिशत जित निकालेका छ भने मधेश एक खेलमा पराजित भएको छ । सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेट र मधेश प्रदेशले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)लाई ११ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

आर्मी राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण छ । कप्तान विनोदसँगै नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, अनुभवी सोमपाल कामी, जितेन्द्र मुखिया, कुशल मल्ल, भीम सार्की, विवेक यादव, अभिनाश बोहरा, सन्दीप रजाइली, राजेश पुलामी मगर, शाहब आलम, सन्तोष कार्की जस्ता खेलाडी आर्मीमा छन् । लाइनअफ हेर्दा आर्मीको ब्याटिङ एकदमै मजबुत देखिन्छ ।

बलिङमा पनि विश्वकप खेलिसकेका जितेन्द्र मुखियादेखि नेपालकै उत्कृष्ट बलर सोमपाल कामी आर्मीको टिममा छन् । आर्मीले प्रतियोगिता भरी नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । मधेश प्रदेशले पनि यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । आर्मीलाई पक्कै पनि मधेशसँग खेल्न सहज भने हुने छैन ।

पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको मधेश प्रदेश सुदूरपश्चिमलाई ठुलो अन्तरले पराजित गर्दै सेमिफाइनलको कमजोर यात्रा कायमै राखेको थियो । अप्रत्याशित रूपमा पुलिस सुदूरपश्चिमसँग पराजित हुँदा मधेशलाई सेमिफाइनलको ढोका खुलेको थियो ।

सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) लाई पन्छाउँदै मधेश फाइलनमा प्रवेश गरेको हो । मधेशमा लामो समय नेपालको किपिङ सम्हालेका अनिलकुमार शाह, पवन सराफ, हरिशंकर शाह, इम्रान शेख, प्रदीप पासवान, साम्सद अन्सारी, विशाल पटेल, विशाल सुस्लिङ, रुपेश सिंह जस्ता खेलाडी छन् ।

फाइनल खेल आर्मी र मधेश बीचको खेल मात्रै हुनेछैन । विभागीय टिम र प्रदेश टिमबीचको खेल पनि हुनेछ । घरेलु अधिकांश प्रतियोगितामा विभागीय टोलीको वर्चस्व रहँदै आएको थियो । तर, यो प्रतियोगितामा भने प्रदेशका टिमले बहादुरी प्रदर्शन गर्दै आएका छन् । घरेलु प्रतियोगितामा विभागीय टिमसँग प्रदेशको टिम खेल्न लागेको यो दुर्लभ खेल हो ।

समूह चरणका खेलमा प्रदेशका कुनै पनि टिम जितविहीन बनेर बाहिरिनु परेन । कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश एक खेलमा जित र एक खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । बागमती प्रदेश सेमिफाइनलबाट बाहिरिएको छ । मदेसले भने दुई बलियो विभागीय टिमलाई पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो ।

सेमिफाइनल खेल जस्तै फाइनलमा पनि नर्मल प्लानिङ बनाएको मधेश प्रदेशका कप्तान हरिशंकर शाहले बताए । ‘मिलाएर हेर्दा बलिङ, ब्याटिङ, फिल्डिङ तीन वटै राम्रो भयो । फाइनलमा पनि नर्मल प्लानिङ हो । त्यस्तो केही छैन । राम्रो ठाउँमा बलिङ गर्ने, ब्याटिङ अर्डरमै आउने नर्मल प्लानिङमै खेल्ने हो,’ उनले भने ।

सबैले राम्रो खेलिराखेकाले सोचेर अगाडि बढ्नुपर्ने स्थिति आएको आर्मीका कप्तान विनोद भण्डारीले बताए । उनले भने, ‘धेरै सोच्नुपर्छ जस्तो मलाई लाग्दैन । तर, प्लानिङ हो एपीएफ पर्छ की अरू कोही पर्छ की भनेर सोचिराखेका थियौँ । सबैले राम्रो क्रिकेट खेलिराखेको छ । हामीले सोच्नुपर्छ स्थिति छ कसरी अगाडि बढ्ने हो भन्ने कुरा चाहिँ ।’

प्रतियोगिताको च्याम्पियन टोलीले ५ लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीले २ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘वेस्ट बलर’ ले २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

‘प्रदेशले सुविधा दिएर राख्ने हो भने विभागभन्दा कमजोर हुँदैनन्’

प्रदेशले सुविधा दिएर राख्ने हो भने विभागभन्दा फरक नपर्ने आर्मीका कप्तान विनोद भण्डारी बताउँछन् ।

उनी भन्छन्, ‘प्रदेशमा खेलाडीहरू राम्रो छ । तर, प्रदेशबाट खेलाडी कहिलेसम्म खेल्ने भन्ने कुरा आउँछ । प्रदेशका खेलाडीलाई हेर्दिएपछि खेलाडीहरू प्रदेशबाट विभागमा जान बाध्य हुँदैन । विभागमा सबै सुविधा छ । १२ महिना नै प्राक्टिस गर्नुपर्ने हुनाले विभागका खेलाडीहरू अलिकति माथि देखिन्छन् । अरू केही पनि होइन । प्रदेशले पनि सुविधा दिएर राख्ने हो भने विभागभन्दा त्यति फरक पर्दैन ।’

सरकारले क्रिकेटमा ध्यान दिए क्रिकेटमा नेपाल धेरै माथि जाने मधेश प्रदेशका कप्तान हरिशंकर शाहले बताउँछन् ।

‘नेपाल नै यति सुन्दर ठाउँ हो । अब के भनौँ जति भने पनि कम हुन्छ हाम्रो नेपालको बारेमा यस्तो यस्तो सुन्दर ठाउँ छ । यहाँ यदि स्टेडियम भइदिएको भए पुरै देश, दुनियाँका टिम आएर सिरिज खेल्ने नै थिए । तर, हामीहरू अन लक्की छौँ,’ उनी भन्छन्, ‘हाम्रो यो सरकारले यो कुरामा ध्यान दिँदैन । ध्यान दिएको भए हाम्रो नेपालको क्रिकेट धेरै माथि जान्थ्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर