केपी ओली कप सेमिफाइनल : आर्मीविरुद्ध बागमतीको चुनौती – Nepal Press

केपी ओली कप सेमिफाइनल : आर्मीविरुद्ध बागमतीको चुनौती

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पहिलो सेमिफाइनलको खेल हुदैछ ।

समूह ए विजेता बागमती प्रदेश र समूह डी विजेता त्रिभुवन आर्मी क्लबबिचको पहिलो सेमिफाइनल खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।

आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी पहिलो पटक सन्दीप लामिछानेले गरेका छन् । दुवै टोलीले समूह चरणको खेलमा शतप्रतिशत जित निकालेका हुन् ।

आर्मी राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण छ । आर्मीमा विनोदसँगै राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, विवेक यादव, सोमपाल कामी, सन्दीप रजाइली, जितेन्द्र मुखिया, साहब आलम र उत्कृष्ट लयमा रहेका सन्तोष कार्की छन् ।

आर्मीका ओपनर सन्तोष कार्की लयमा छन् । उनले दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । आर्मीका ब्याटिङ अर्डर मजबुत छ । आर्मीले यो खेल कप्तान भण्डारीबाट ठुलो स्कोर चाहन्छ । दुवै खेलमा राम्रो प्रदर्शन गर्न नसकेका भण्डारीलाई सन्दीप र प्रतिशको बलमा खेल्न सजिलो भने हुने छैन । आर्मीकै रोहित पौडेलबाट जिम्मेवारी पूर्ण ब्याटिङ र भीम सार्कीले लयलाई निरन्तरता दिनुपर्नेछ । आर्मीले कुशल मल्ल र विवेक यादवबाट हिटको अपेक्षा गर्नेछ ।

बागमतीमा सन्दीप लामिछानेसहित प्रतिश जिसी, रित गौतम, इशान पाण्डे, शुभ कंशाकार, रोशन विक, प्रतीक श्रेष्ठ, गौरव खड्का, सुवास खत्री, रिजन ढकाल, दीपेश श्रेष्ठ छन् । अर्कोतर्फ बागमतीका बलर लयमा देखिन्छन् ।

बागमतीका कप्तान सन्दीप लामिछाने पहिलो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले दुई खेलमा ८ विकेट लिइसकेका छन् । सन्दीपलाई रोक्न आर्मीलाई चुनौती रहनेछ । सन्दीप ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा ४ बलमा १८ रन जोडेका थिए । त्यस कारण बागमतीलाई रोक्न ब्याटिङमा सन्दीपलाई पनि रोक्नुपर्ने हुन्छ ।

अर्कोतर्फ लयमा रहेका युवा ब्याटर रित गौतममा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन् । उनले पहिलो खेलमा ७४ र दोस्रो खेलमा ८२ रन बनाएका थिए । पछिल्लो खेलमा इशान पाण्डेले ७० रन जोडेका थिए । आर्मीका बलरसामु बागमतीलाई सजिलो हुनेछैन । नेपाली टोलीका नम्बर १ फास्ट बल सोमपाल कामी, २०१४ को विश्वकप खेलिसकेका जितेन्द्र मुखियासँग खेल्न बागमतीलाई चुनौती हुनेछ ।

आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘निलो’ लाई १ सय १० र कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको थियो । बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ लाई १ सय ९ र कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेको थियो ।

दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) र मधेस प्रदेशबिच दिउँसो १ बजे हुनेछ । फाइनल खेल शुक्रवार हुनेछ । प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर