राष्ट्रिय खेलाडीले भरिभराउ विभागीय टीमविरूद्ध प्रदेशका टीमकाे बहादुरी – Nepal Press

राष्ट्रिय खेलाडीले भरिभराउ विभागीय टीमविरूद्ध प्रदेशका टीमकाे बहादुरी

पोखरा । पोखरा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल थियो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।

सुदूरपश्चिमको ब्याटिङ सुरु नहुँदै धेरै क्रिकेट प्रेमीले आँकलन गरिसकेका थिए- पुलिसले सुदूरपश्चिमलाई सजिलै हराउँछ । आँकलन पनि किन नगरुन् राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका खेलाडीको वर्चस्व थियो पुलिस टिममा ।

लगातार उत्कृष्ट प्रदर्शन गरेका र अनुभवी खेलाडीहरू कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउन, दिलीप नाथ, सुनिल धमला, सागर ढकाल, रसिद खान पुलिसमा थिए । पुलिसमा ब्याटिङ, बलिङ र फिल्डिङ मजबुत देखिन्थ्यो ।

क्रिकेट प्रेमीले गरेको आँकलनअनुसार नै सुदूरपश्चिमविरुद्ध पुलिसले राम्रै सुरुआत गरेको थियो । ७ ओभर ४ बलमा ४६ रनमै ५ विकेट गुमाइसकेको थियो । सुदूरपश्चिमका माथिल्लो क्रममा ब्याटरहरु सस्तो मै आउट भइसकेका थिए । ५ विकेटपछि क्रिजमा थिए किरण ठगुन्ना र नरेन साउद ।

उनीहरूमध्ये एक जना पनि आउट भएका खण्डमा खेल पुलिसको पोल्टामा ढल्किने पक्का जस्तै थियो । सो कुरा सुदूरपश्चिमका ब्याटरले बुझेका थिए । उनीहरूले जुन सोझ बुझका साथ ब्याटिङ गरे । जुन सुदूरपश्चिमलाई जितका लागि पर्याप्त भयो । ठगुन्ना र साउदले ९३ रनको उत्कृष्ट साझेदारी गरे ।

जसले अप्रत्याशित रूपमा सुदूरपश्चिमलाई जितको बाटो दोहोर्यायाे । नेपाली राष्ट्रिय टोलीका उत्कृष्ट बलर करण केसी र ललित राजवंशी महँगो साबित भए । साउद ३० बलमा ३९ रन बनाएर आउट भए । साउदपछि आएका नारायण जोशी पनि ७ बललाई १७ रन प्रहार गर्दै आफ्नो टिमलाई जितसम्म पुर्याए । ३४ बल खेलेका थुगुन्ना ५१ रनमा अविजित रहे ।

सुदूरपश्चिमसँग पुलिसको हार, हार मात्रै रहेन । उपाधि दाबेदारसमेत रहेको पुलिस पहिलो पटक घरेलु प्रतियोगितामा समूह चरणबाटै बाहिरिन पुग्यो । पुलिसले हार बेहोर्दा मधेस प्रदेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्कोतर्फ अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले पनि केपी ओली कपमा सुरुआत राम्रो हुन सकेन । घरेलु टोली गण्डकी प्रदेशसँग राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपीएफ १ सय १ रनमा समेटिएको थियो । गण्डकीको बलिङसामु एपीएफका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । एपीएफलाई सस्तोमा समेट्न गण्डकीका युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे ।

जवाफी ब्याटिङ गरेको गण्डकीले सुरुआतमा केही धरमराए पनि मुस्कान थापा र दिनेश बुढामगरको जिम्मेवार पूर्ण ब्याटिङले एपीएफविरुद्ध गण्डकीलाई ऐतिहासिक जित दिलाए । रनरेटका आधारमा सेमिफाइनलमा गए पनि गण्डकीसँगको हार एपीएफलाई विर्सनलायक बनेको छ ।

एपीएफविरुद्ध बनाएको प्लानिङ प्रभावकारी हुँदा एपीएफलाई जित्न सफल भएको गण्डकी प्रदेशका प्रशिक्षक रिजन प्रजु बताउँछन् । ‘यसअघि एपीएफसँग ३ खेल खेलेका थियौँ । धेरै खेलहरू हाम्रो विभागीयको एपीएफसँग पर्छ । अहिलेसम्म हामीले पुलिससँग खेलेका छैनौँ । हामीलाई सबै कुरा थाहा थियो ।

त्योअनुसार कमीकमजोरीको हिसाबले प्लानिङ ग¥यौँ । उहाँहरूको ब्याटिङ राम्रो थियौँ । जतिसक्दो छिटो कोल्याब्स गर्न सक्यौँ भने चेज गर्न सक्ने भन्ने हिसाबले प्लानिङ गरेका थियौँ । जुन सफल पनि भयो र खेल जितियो,’ उनी भन्छन् ।

यस प्रतियोगितामा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबको प्रदर्शन पनि सानदार हुन सकेको छैन । खेलेका दुवै खेल जिते पनि आर्मी ठुलो जित निकाल्न भने सकेन । समूह चरणका खेलमा प्रदेशका कुनै पनि टिम जितविहीन बनेर बाहिरिनु परेन । कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश एक खेलमा जित र एक खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।

पराजित भएका खेलमा पनि प्रदेशका टीमको प्रदर्शन उत्कृष्ट रह्यो । अनुभवी र राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण विभागीय टोलीविरुद्ध प्रदेशका खेलाडीले खुलेर प्रदर्शन गरे । सधैँभरि घरेलु प्रतियोगितामा विभागीय टोलीको हुने दबदबालाई यस पटक प्रदेशको प्रदर्शनले राम्रै झापड दिएको छ । मधेश प्रदेश र बागमती प्रदेश विभागीय टोलीलाई पन्छाउँदै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

सिनियर खेलाडीहरू विभागीय जाँदा युवा खेलाडीले मौका पाएको पूर्व क्रिकेटर एवम् प्रतियोगिताका संयोजक शक्ति गौचन बताउँछन् । उनी भन्छन्, ‘पोजेटिभ नोट छ । सिनियर खेलाडीहरू विभागीय जाँदा युवा खेलाडीले मौका पाएका छन् । उनीहरूमा जोस र जागर छ । अहिले ब्याटिङको स्तर बढेको छ ।’

प्रदेश टिम पनि पहिलाको दाँजोमा राम्रो भएको प्रशिक्षक प्रजु सुनाउँछन् । ‘पिच कन्डिसनले पनि प्रभाव पार्छ । विभागीय टोलीहरूको जति भए पनि अन्तर्राष्ट्रिय पिचहरूमा खेलिराखेको हुन्छ । प्रदेशहरूमा आउँदाखेरि हल्का विकेटहरूमा पनि स्पाइक्सहरु प्रयोग हुँदैन ।

‘विकेट अलि लो बस्ने हुनाले उनीहरूलाई एड्जस्त गर्न गाह्रो हुन्छ । प्रदेशको खेलाडी यो पिचमा खेलिराखेको हुनाले प्रदर्शन गर्न सजिलो भयो र त्यसले गर्दा फरक देखिएको हो । प्रदेश टिम पनि पहिलाको दाँजोमा राम्रो छ’, उनी बताउँछन् ।

युवा टोलीको प्रदर्शनले आउने दिनमा नेपाली क्रिकेटमा राम्रो ब्याक अप देखिएको पूर्व क्रिकेटर गौचन सुनाउँछन् । उनी भन्छन्, ‘नेपाली क्रिकेटका लागि एकदमै राम्रो म्यासेज हो । कि विभागीय टोलीबाहेक पनि अरू प्रदेशको टोलीले पनि राम्रो प्रदर्शन गरिराखेको छ । आउने दिनमा नेपाली क्रिकेटमा राम्रो ब्याकअफ देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर