हायर पर्चेज कर्जामा प्यान अनिवार्य, दुई प्रतिशत बढी पेनाल ब्याज लिन नपाइने – Nepal Press

हायर पर्चेज कर्जामा प्यान अनिवार्य, दुई प्रतिशत बढी पेनाल ब्याज लिन नपाइने

काठमाडौं । अब २५ लाख माथिको हायर पर्चेज कर्जाको हकमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० को चौथो संशोधन २०८० जारी गर्दै २५ लाख माथिको कर्जामा प्यान अनिवार्य गरेको हो । २५ लाख कमको हायर पर्चेज कर्जा प्रवाह गर्दा भने प्यान अनिवार्य हुनेछैन ।

संशोधनअनुसार हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई ब्याजबाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउनेछैन । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने प्रावधान संशोधनमा राखिएको छ ।

कार्यकारी प्रमुख/प्रबन्ध सञ्चालक नियुक्तिसम्बन्धी व्यवस्थामा कार्यकारी प्रमुख/प्रबन्ध सञ्चालकको रुपमा नियुक्त हुने व्यक्ति स्नातक उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान पनि ल्याइएको छ ।

त्यस्तै सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुखका लागि अयोग्य हुने अवस्थामा प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भइनसकेको भए सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुख पदको लागि अयोग्य मानिनेछ ।

टाटपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको, कालोसूचीमा समावेश भएको वा त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेको, आफ्नो पूर्व कारोबारमा बैंकबाट निलम्बन गरिएको वा बैंकबाट भएको अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरिएको, निलम्बनबाट फुकुवा भएको ५ वर्ष नपुगेको वा शंकास्पद कारोबारको संलग्नताबाट सफाइ नपाएको भए सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुख पदको लागि अयोग्य मानिने व्यवस्था संशोधनमा गरिएको छ ।

हायर पर्चेज कर्जा भनेको कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारीसाधन, मेशिनरी औजार, उपकरण खरिद गर्न किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिएको कर्जा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर