राज्यको कमजोरीमा टेकेर दुर्गा प्रसाईंको संविधानविरोधी दुस्साहस – Nepal Press

राज्यको कमजोरीमा टेकेर दुर्गा प्रसाईंको संविधानविरोधी दुस्साहस

२०७४ फागुन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक हुनुअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईं राजनीतिक दृश्यमा थिएनन् । बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन नेताहरुको घरदैलोमात्रै गरिरहेका थिए ।

तर, ओली र दाहालसँग मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक भएपछि भने प्रसाईं चर्चामा आए । उनको नियत भने चर्चामा आउनुभन्दा पनि बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउनु थियो । जसका लागि तगारो बनिदिए डा. गोविन्द केसी । र, सँगै सरकारले ल्याएको चिकित्सा शिक्षा ऐनले पनि प्रसाईंको मेडिकल कलेज सञ्चालन गर्ने बाटो बन्द गरिदियो । प्रसाईं आफूले सम्बन्धन नपाउनुमा डा. केसीलाई कारक देख्छन् । र ‘दुईचार मान्छे मर्नुपर्छ’ भन्दै अमानवीय टिप्पणी गर्दै हिँड्ने गरेका छन् ।

आफ्नो स्वार्थ कतैबाट परिपूर्ति नभएपछि प्रसाईंले शीर्ष नेताहरुकै विरुद्धमा अराजक अभिव्यक्ति दिन थालेका हुन् । प्रसाईं यो व्यवस्थालाई नै दुत्कार्ने अवस्थामा पुगिसकेका छन् । अराजक व्यवहार र उत्तेजक अभिव्यक्तिका कारण उनले एक खालको भीड पनि बटुलिरहेका छन् । त्यसैको परिणति हो, मंसिर ७ गतेको प्रसाईंले आयोजना गरेको भेला ।

प्रसाईं प्रतिरोधमा एमाले

मंसिर ७ मै नेकपा एमालेले आफू निकट जनसंगठनहरुको विशेष प्रदर्शन आयोजना गर्दैछ । एमालेले जनसंगठनको भेला भनेर कार्यक्रम गर्ने भने पनि यसको पछाडिको कारण उनै प्रसाईं भएको बताउने गरिन्छ ।

प्रसाईं र एमालेको युवा संघले एकै दिन माइतीघरमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । तर, सरकारले एक महिनासम्मका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा जारी गर्‍यो । प्रसाईंलाई बल्खु र एमालेलाई तीनकुनेमा कार्यक्रम गर्न स्थान तोकिदियो ।

सरकारको निर्णयले तत्कालको लागि सम्भावित झडपको सम्भावना टरेको छ । तर, एमाले नेता महेश बस्नेत र प्रसाईंको वाकयुद्ध भने सञ्जालमा छरपस्ट छ । यी दुईको वाक युद्धलाई राम्रोसँग नियाल्ने हो भने बल्खु र तीनकुनेमा हुने सभाहरु प्रसाईं भर्सेज एमाले नै हुने देखिन्छ ।

६ वर्षअघिको मार्सी चामलसँग भातको गाँस हाल्दाको ओलीसँगको मित्रता तिक्ततामा बदलिएकै कारण पछिल्लो समय प्रसाईं एमाले र अध्यक्ष केपी ओलीविरुद्ध छुद्र टिप्पणी गरेर हिँड्ने गरेका छन् । नेकपा फुट्दा एमालेतिर लागेका प्रसाईं ओलीलाई ‘हजुरबा’ भन्ने गर्थे । हजुरबाको साथ पाएका उनले माओवादी र प्रचण्डविरुद्ध पनि उच्छृङ्खल टिप्पणी गरिरहन्थे । त्यसैको पुरस्कारस्वरुप २०७८ साल असोजमा भएको विधान महाधिवेशनमा प्रतिनिधि भने । जतिवेला उनी एमालेको साधारण सदस्यसमेत थिएनन् ।

तर, १०औं महाधिवेशनपछि केन्द्रीय सदस्यमा मनोनीत प्रसाईं गएको मंसिर ४ को निर्वाचनपछि भने एमाले नेताहरुको आलोचना गर्न उद्यत बने र एकाएक ‘राजावादी’ बनेर निस्किए । यही कारण उनलाई गत फागुन १३ गते एमालेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गर्‍यो ।

यसपछि एमालेसँग रुष्ट प्रसाईं र एमालेबीच शीतयुद्ध त्यतिवेला उत्कर्षमा पुग्यो, जतिबेला असोज २२ मा जमलस्थित होटेल येल्लो प्यागोडामा प्रसाईंलाई युवा संघका कार्यकर्ताले कालोमोसो छ्यापे । यस घटनालाई प्रतिशोधको रुपमा लिएका प्रसाईंले ओलीको कम्बोडियामा तीन हजार करोड लगानी भएको भन्दै भाषण गर्न थाले ।

प्रसाईंको आरोपको ओलीले सार्वजनिक रुपमै खण्डन गर्नुपर्‍यो । बालुवाटारमा गएर प्रधानमन्त्री प्रचण्डलाई समेत प्रसाईंलाई कारबाही गर्न ओलीले आग्रह गरेका समाचारहरु बाहिरिए । यसले के पुष्टि गर्‍यो भने प्रसाईंको अराजक हर्कत र उग्र अभिव्यक्तिले एमालेलाई कति ठूलो असर गरेको थियो ।

यही कारण आउँदो मंसिर ७ मै एमालेले २३ वटा जनसंगठन र सम्पर्क समन्वय समितिका सदस्यको विशेष भेलाको आयोजना गरेको छ । भेलाको नाम जेसुकै दिए पनि एमालेको यो शक्ति प्रदर्शन प्रसाईंविरुद्ध भएको ठम्याउन गाह्रो छैन । आफ्नो पार्टी अध्यक्षविरुद्ध नै संगीन आरोप लगाएपछि एमाले कार्यकर्तासमेत प्रसाईंविरुद्ध रुष्ट छन् ।

ओलीले पनि कार्यकर्तालाई आड दिँदै आएका छन् । गएको शनिबार एमाले पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रममा ओलीले प्रसाईंलाई इंगित गर्दै भनेका थिए, ‘प्रतिक्रियावादीहरु कसै कसैलाई देखाएर देशभरबाट मान्छे ल्याएर प्रदर्शनका नाममा देखावटी गर्नतिर लागेका छन् । तयारी अवस्थामा रहनुहोला ।’

विश्लेषक झलक सुवेदीको भनाइमा यदि एमालेको भेला प्रसाईंविरुद्ध हो भने यसले न एमालेलाई फाइदा हुन्छ न त राज्यलाई नै । यदि प्रसाईंको आरोपले ओलीको मानहानी भएको भए कानूनी उपचारको बाटो खोज्नुपर्ने उनको सुझाव छ ।

सुवेदी भन्छन्, ‘एमाले प्रतिपक्षमा छ, प्रतिपक्षमा भएको दलले सरकारलाई दबाब दिन रचनात्मक भूमिका निर्वाह गर्ने हो । सिस्टमलाई प्रभावकारी बनाउन दबाब दिने हो । तर, राज्यले दिने डेलिभरीको समस्याको समाधान सडकमा खोज्ने होइन । सरकारलाई दबाब दिन सडकमा जानु ठीकै होला । तर, एउटा व्यक्तिको विरुद्धमा सडक जानु रचनात्मक काम हुँदै होइन ।’

बस्नेत भर्सेज प्रसाईं

एमाले नेता बस्नेत र प्रसाईंबीचको वाक युद्धले पनि सञ्जाल दिक्क छ । मंसिर ७ गते एमाले र प्रसाईंको भेलालाई लिएर बस्नेत र प्रसाईं वाक युद्धमा होमिएका छन् । यी दुईको वाक युद्धले सुरक्षा निकायलाई मात्रै तनाव दिएको छैन, सरकारलाई पनि अप्ठ्यारोमा पारेको छ ।

जमलमा युवा संघका कार्यकर्ताले कालोमोसो दलेको आरोप प्रसाईंको छ । झापाको कार्यक्रममा आफ्नो गाडी तोडफोडमा प्रसाईंको भूमिका रहेको बस्नेतको आरोप छ । यी आरोप-प्रत्यारोपका बीच प्रसाईंले ओलीको लगानी कम्बोडियामा भएको आरोप लगाएपछि प्रसाईं-बस्नेत वाक युद्ध झनै तुच्छ भएर गयो ।

यिनै कारणहरुले अहिले प्रसाईं र बस्नेत एक-अर्काविरुद्ध अनर्गल टिप्पणी गर्न व्यस्त छन् । सञ्जालमा एक अर्कालाई निरन्तर आरोप लगाइरहेका छन् । बस्नेतका अभिव्यक्तिले प्रसाईं समर्थकलाई उग्र बनाएर लगिरहेको छ भने प्रसाईंको अभिव्यक्तिले एमाले कार्यकर्तालाई उग्र बनाइरहेको छ । यस्ता छुद्र र तुच्छ आरोप-प्रत्यारोपले राम्रो नजिता नदिने टिप्पणी भइरहेका छन् । अहिलेको परिस्थिति उत्पन्न हुनुमा बस्नेत र प्रसाईंको व्यक्तिगत इगो र द्वन्द्व कारक भएको टिप्पणी हुने गरेको छ ।

प्रसाईं प्रवृत्तिको जन्म

बैंकहरुबाट साढे पाँच अर्ब ऋण लिएको भनिएका प्रसाईंसित भीड छ । त्यो भीडको ठूलो हिस्सामा तिनीहरु छन्, जसले बैंकमा निक्षेपको रुपमा राखेको रकम नै प्रसाईंले कर्जाको रुपमा लिएका थिए । प्रसाईं भने बैंकलाई ऋण नतिर्ने ढिपी गरेर हिँडिरहेका छन् । उनका समर्थकहरु आफ्नै बचत रकम फिर्ता नगर्ने बताइरहेका प्रसाईंको पक्षमा हुटिङ लगाइरहेका छन् ।

प्रसाईंले वित्तीय संस्थाबाट ऋण लिँदा छलकपट गरेको महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनले इंगित गरेको छ । प्रसाईंले धितोको अधिक मूल्यांकन गरेर निक्षेपकर्ताको रकम दुरुपयोग गरेको आरोप छ । प्रसाईंले २०७७ सालमा ८ करोड थैली रकम कायम गरेर आफ्नै स्वामित्वको बी एण्ड सी अस्पताललाई बेचेको जग्गा दुई दिनपछि चार वटा बैंक तथा वित्तीय संस्थामा धितो राखेर एक अर्ब ७४ करोड रुपैयाँ ऋण लिएका थिए ।

प्रसाईंका पछिल्ला अभिव्यक्तिहरुलाई राम्रोसँग नियाल्ने मात्रै हो भने पनि उनी सामाजिक, धार्मिक, सांस्कृतिक सद्भावविरुद्ध खनिइरहेका छन् । संविधानले धर्मनिरपेक्षता स्वीकार गरेको छ । तर, प्रसाईं हिन्दू राज्यको वकालत गरिरहेका छन् । देशको निश्चित समुदायमाथि अनेक लाञ्छना लगाइरहेका छन् ।

प्रसाईंका अराजक राजनीतिक गतिविधिलाई विश्लेषक सुवेदी भारतीय हिन्दू राजनीतिको बढ्दो प्रभावको असर मान्छन् । सुवेदी भन्छन्, ‘यसले सामाजिक एकता र शान्ति सुरक्षामा खलल पुगेको देखिन्छ ।’

राजनीतिक दलहरुले पाखा लगाएपछि प्रसाईं राजतन्त्र र हिन्दू धर्मको सेन्टिमेन्ट बटुल्नतिर लागेका थिए । सार्वजनिक कार्यक्रम राखेर, पूर्वराजालाई मञ्चमा राखेर आफूलाई राजावादी र हिन्दूवादी घोषणा गरे । नेता, व्यापारीलाई नङ्ग्याउनेदेखि बैंकको ऋण नतिर्ने भन्दै भीड जम्मा गरेर हिँड्न थाले ।

संविधानविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका प्रसाईंलाई राज्यले कुनै लगाम लगाउन सकेको छैन । विश्लेषक सुवेदी भने प्रसाईं जस्ता अराजकहरुसँग अहिलेको सिस्टमलाई चुनौती दिन सक्ने ल्याकत नभएको बताउँछन् ।

सुवेदी भन्छन्, ‘उनलाई राजनीतिक दलहरुले नै संरक्षण दिए । कानूनी प्रक्रियामार्फत् कारबाही गरिएको थियो भने यस्तो अवस्था नै आउँदैन थियो । अहिले रोजगारी, आर्थिक सुरक्षा, सुशासन नभएकाले मान्छेमा असन्तुष्टि छ । त्यसलाई उच्छृंखल तत्वहरुले उपयोग गर्ने प्रयास गरेका छन् । यसको उपचार भनेको कानून र विधि नै हो ।’

मुलुकमा आर्थिक मन्दी छ । बेरोजगारी छ । महँगी छ । व्यापार, व्यवसायमा समस्या छ । सांस्कृतिक, धार्मिक, सामाजिक रुपमा एक खालको विचलन आएको छ । यस्तो बेला राज्यले विधि र विधानबाट काम गर्न नसक्दा प्रसाईं प्रवृत्तिहरुको जन्म हुने सुवेदीको विश्लेषण छ ।

उनी भन्छन्, ‘यस्तो वेला मान्छेहरुले विभिन्न ढंगले असन्तुष्टि व्यक्त गर्छन् । यस्तै वेला नै राज्यले बलियो भएर डेलिभरी दिन सक्नुपर्छ । अब राज्य नै कमजोर भएपछि यस्ता प्रवृत्तिहरुको जन्म हुने गर्छ ।’


प्रतिक्रिया

One thought on “राज्यको कमजोरीमा टेकेर दुर्गा प्रसाईंको संविधानविरोधी दुस्साहस

  1. लेखक महोदय अहिले
    ==========
    एमाले vs दुर्गा प्रसाई
    एमाले vs कांग्रेस
    एमाले vs घन्टी
    एमाले vs म्यौबादी
    एमाले vs राप्रपा
    एमाले vs माधब कम्पनी
    एमाले vs साइकल
    एमाले vs अदालत
    एमाले vs कथित विद्वान
    एमाले vs मिडिया
    एमाले vs पार्टी भित्रकै प्रतिपक्ष
    एमालेको लागि यो २०७९ को निर्वाचन एक असाधारण युद्द नै थियो।न थाक्यो न हार्यो न डगमगायो सति साल झै एमाले नेतृत्व र कार्यकर्ता लडि रहे, भिडी रहे फेरी भिड्न तयार छ 🙏✊❤️🇳🇵🌹

Leave a Reply

Your email address will not be published. Required fields are marked *