रोक्का जग्गा बैंक र मालपोतको मिलेमतोमा नामसारी, व्यवसायीले घेरे मालपोत – Nepal Press

रोक्का जग्गा बैंक र मालपोतको मिलेमतोमा नामसारी, व्यवसायीले घेरे मालपोत

सुर्खेत । सुर्खेतमा अदालतले रोक्काको आदेश दिएको जग्गा बैंक र कर्मचारीहरुको मिलेमतोमा नामसारी गरिएको विरोधमा व्यवसायीहरुले मालपोत कार्यालय घेराउ गरेका छन् ।

अदालतको आदेशविपरीत जग्गा पास गरेको भन्दै व्यवसायीहरुले बुधबार मालपोत कार्यालय सुर्खेत घेराउ गरेका हुन् ।

मालपोत कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गर्नुपर्ने र अदालतको आदेश मान्नुपर्ने उद्योग वाणिज्य संघ सुर्खेतका कार्यसमिति सदस्य भुवन ज्ञवालीले नेपाल प्रेसलाई बताए । उनले कर्मचारीलाई निलम्बन नगरेमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सुर्खेतका व्यवसायी प्रकाश उप्रेती र उनकी श्रीतमी अर्चना उप्रेतीले आफूहरुको नाममा रहेको ६ कित्ता जग्गा एनआईसी एसिया बैंक र मालपोत कार्यालय सुर्खेतका कर्मचारीले मिलेर देवीराम पौडेलको नाममा लिलाम गरी नामसारी गरेको आरोप लगाएका छन् ।

एनआईसी एशिया बैंकमा उप्रेतीको नाममा रहेको साबिक जर्बुटा गाविस वडा नं १ क कित्ता नं २०४० को क्षेत्रफल ०-०-१५ (बिघा) र सोही वडा १ ख कित्ता नं ८३५, १८६५, १४०१, १८६६ र १८६३ को क्षेत्रफलहरु क्रमश: ०-१-१०-०, ०-०-८-१, ०-०-१६-१, ०-०-११-३ र ०-०-८-१ (बिघा) जग्गालाई सुर्खेत जिल्ला अदालतले २०७९ फागुन ५ गते रोक्का गर्नु भनी बैंकलाई आदेश दिएको थियो । तर, बैंक र मालपोतका कर्मचारीहरुको मिलेमतोमा गत साउन २ गते बैंकबाट फुकुवा गराइ लिलामीमा देवीराम पौडेलका नाममा दाखिला गरेको जनाइएको छ ।

जग्गाधनी प्रकाश उप्रेतीले आफूहरुलाई थाहै नदिइ अदालतले रोक्का राख्नु भनी आदेश दिएको जग्गा बैंक र मालपोतका कर्मचारीहरुको मिलेमतोमा रोक्का फुकुवा गरी देवीराम पौडेलका नाममा दाखिला गरिएको बताए । उनले अदालतको आदेश उल्लंघन गरी बैंकले लिलामीमा आफ्नो जग्गा अर्कैलाई सकार गर्न लगाएको आरोप लगाए ।

आफूलाई पौडेलले नै ‘तपाईंको जग्गा मैले बैंकको लिलामीबाट लिएको’ भनेपछि मात्रै थाहा पाएको प्रकाशको भनाइ छ ।

विरोध भएपछि मालपोत कार्यालय सुर्खेतले मङ्सिर ४ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौंलाई देवीराम पौडेलका नाममा कायम भएका जग्गाहरु बदर गरी साविकबमोजिम नै कायम गरी आवश्यक कारबाही गर्न पत्राचार गरेको छ ।

मालपोत अधिकृत जनकबहादुर हमालले पठाएको पत्रमा एनआईसी एसिया बैंकमा २०७५ कात्तिक १४ गते रहेको उप्रेतीद्वयका जग्गाहरु २०७९ फागुन ५ गतेको जिल्ला अदालतले रोक्का राखेकोमा लिलाम सकारकर्ता देवीराम पौडेलका नाममा कायम भएको जग्गाहरु बदर गरी साविकबमोजिम नै कायम गर्न भनिएको छ ।

उनले अदालतबाट रोक्का राखेका जग्गाहरु के कति कारणले पौडेलको नाममा नामसारी भएको भनी कार्यालयका दुई जना कर्मचारीलाई तीन दिनभित्र स्पष्टीकरण सोधेका छन् । कार्यालय प्रमुख हमालले नासु राजकुमार सिंह र खरिदार राजेन्द्रबहादुर खड्कासँग स्पष्टीकरण सोधेका हुन् ।

तोकिएको समयभित्र जवाफ नदिएमा कानूनअनुसार कारबाही गरिने कार्यालयले जनाएको छ ।

यता एनआईसी एसिया बैंक सुर्खेतले बैंकले सवै प्रक्रिया पूरा गरेरमात्रै लिलाम गरेको भन्दै कुनै जालसाजी नगरेको दाबी गरेको छ । बैंकका सुर्खेत प्रबन्धक अशोक तिमिल्सेनाले ऋणीले समयमै ऋण नतिरेपछि लिलाम प्रक्रियाअनुसार गरेको बताए ।

‘समयमै ऋण नतिर्दा बैंकले धितो लिलाम गर्नु स्वाभाविक हो’, उनले भने, ‘सबै काम कानूनअनुसार नै प्रक्रिया पूरा गरेर गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर