मल्टिप्लेक्सभित्रको अर्थतन्त्र- किन नहोस् निर्माताको दिमाग खराब ? – Nepal Press

मल्टिप्लेक्सभित्रको अर्थतन्त्र- किन नहोस् निर्माताको दिमाग खराब ?

काठमाडौं । अहिले फिल्म ‘दिमाग खराब’ टीमले तड्कारो प्रश्न तेस्र्याएर हल सञ्चालकहरुको दिमाग हराम गरिदिएको छ । भलै कात्तिक ३० गते हल सञ्चालक र ‘दिमाग खराब’का निर्माता, निर्देशकबीचको छलफलले आउँदो मंगलबारसम्मका लागि फिल्म चलाउने निर्णय भएको छ । तर, ‘दिमाग खराब’ टीमले जुन प्रश्न तेर्स्याएको छ, त्यो प्रश्नले आउँदा सयौं मंगलबारसम्म हल सञ्चालकहरुको दिमाग हराम भने गरिरहनेछ ।

दिमाग खराब टीमले कार्तिक २९ गते एक विज्ञप्ति जारी गर्दै मूलभूत रुपमा दुई प्रश्न हल सञ्चालकहरुमाथि तेस्र्यायो । पहिलो प्रश्न थियो- नेपाली फिल्म र विदेशी फिल्मलाई समान व्यवहार किन गरिँदैन ? दोस्रो- विदेशी फिल्मलाई पहिलो र दोस्रो हप्ता बढी शोज दिइन्छ भने तेस्रो हप्ता नेपाली फिल्मका निर्मातालाई ५० प्रतिशत शेयर किन नदिने ?

विगतदेखि नै नेपाली निर्माताहरुले यी सवाल उठाउँदै आएका थिए । तर, हल सञ्चालकहरुले नेपाली निर्माताहरुको आवाजलाई दबाएर राख्ने गरेका थिए । यसपटक भने ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेत र निर्माता रौनकविक्रम कँडेलसँग फिल्म प्रदर्शकहरु वार्ताको टेबुलमा बस्न बाध्य भए । यसको कारण थियो, ‘दिमाग खराब’ले पाएको सकारात्मक समीक्षा र दर्शकको माउथ पब्लिसिटी ।

दर्शकको माग हुँदाहुँदै ‘टाइगर ३’मा गरिएको लगानी उठाउन वितरक र प्रदर्शक (जो टाइटर ३ किनेर ल्याउन पैसा लगानी गर्ने हल सञ्चालक)ले शोज घटाए । फिल्म चलाउन हल पनि सानो दिए । हल सञ्चालकहरुको नियत थाहा पाएपछि ‘दिमाग खराब’ टीम विद्रोहमा उत्रियो । उनीहरुको विद्रोहलाई दर्शकहरुले सदर गरिदिए । अनि हल सञ्चालकहरु वार्ताको टेबलमा बस्न बाध्य भए ।

‘दिमाग खराब’को निर्माण टीमले एक विज्ञप्ति जारी गर्दै आफूहरुमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै फिल्मको प्रदर्शन रोक्ने चेतावनी दिए । बरु फिल्म प्रदर्शनका लागि वैकल्पिक माध्यम खोज्ने बताए । शोहरुको वितरणमा विभेद भएको र शेयर बाँडफाँट पनि अन्यायपूर्ण भएको जानकारी दर्शकहरुलाई दिए ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको ‘दिमाग खराब’ले सुरुमा सन्तोषजनक शोज नै पाएको थियो । मल्टिप्लेक्स चेन क्यूएफएक्समा उपत्यका र बाहिर गरी ६० शो पाएको थियो । आईएनआई सिनेमाजमा १२, वान सिनेमाजमा १०, एफक्युबमा ६ र विग मुभिजमा ५ शोज पाएको थियो ।

सँगै प्रदर्शन भएको हलिउड सुपरहिरोइन फिल्म ‘द मार्भल्स’लाई क्यूएफएक्सले ४८ शोज दिएको थियो । तर, लक्ष्मी पूजाको दिन सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ आएपछि भने शोजमा उथलपुथल भयो । ‘टाइगर ३’ लाई साढे दुई करोडभन्दा बढी लगानी गरेर नेपाल भित्र्याएको र उक्त लगानीमा केही हल सञ्चालकको समेत शेयर भएको स्रोत बताउँछ । आफ्नै लगानी भएपछि हल सञ्चालकहरुले स्वाभाविक रुपमा शोज बढाउने नै भए । यसले नेपाली फिल्मलाई क्षति हुने नै भयो । जब कि ‘टाइगर ३’ र ‘दिमाग खराब’ वितरक मनोज राठी स्वयंले नै वितरण गरेका थिए ।

तर, ‘दिमाग खराब’ टीमको विद्रोहमा दर्शक र निर्माता संघलगायत चलचित्रकर्मीहरुको साथ भएपछि हल सञ्चालकहरुले वार्ता गर्‍यो । कात्तिक ३० गते भएको वार्ता सकारात्मक ढंगले अगाडि बढेपछि आउँदो मंगलबारसम्म ‘दिमाग खराब’ हलहरुमा प्रदर्शन हुनेछ । यदि आफ्ना मागहरु पूरा नभए पुनः विद्रोह गर्ने निर्माता कँडेलले नेपालप्रेसलाई बताए ।

‘दिमाग खराब’ टीमले हल सञ्चालकहरुविरुद्ध विद्रोह गरेपछि सर्वत्र चासो छ, आखिर हल सञ्चालकहरुले कमाउँछन् कसरी ? निर्माताको करोडौं लगानी भएको फिल्म प्रदर्शन गरेकै आधारमा कसरी ५० प्रतिशत शेयर पाउँछन् ? हल सञ्चालकहरुको अन्य कमाइका स्रोतहरु के के हुन् ? हामीले यस विषयमा खोतल्ने प्रयास गरेका छौं ।

हल सञ्चालक र निर्माताले कति कति प्रतिशत पाउँछन् ?

नेपालमा हलमा लागेको कुनै पनि फिल्मको पहिलो र दोस्रो हप्ताको बक्स अफिस कलेक्सनमा हल सञ्चालक र निर्माताको ५०-५० प्रतिशत शेयर हुन्छ । तर, भारतलगायत मुलुकमा भने दोस्रो हप्तामा ४५ या ४५.५ प्रतिशत शेयर हुन्छ । यसपछि क्रमिक रुपमा निर्माताको शेयर घट्दै जान्छ । नेपालमा तेस्रो हप्तामा पुगेपछि निर्माताले ३५ प्रतिशत र हल सञ्चालकले ६५ प्रतिशत शेयर पाउँछन् ।

तेस्रो हप्तासम्म फिल्म चल्दा हलमा अकुपेन्सी कम हुँदै जाने तर, विद्युतलगायत हलले गर्नुपर्ने खर्चहरु यथावत रहने भएकाले संसारभर निर्माताको शेयरको अनुपात हप्तैपिच्छे घट्दै जाने गरेको छ ।

बक्स अफिस कलेक्सनको शेयर बाँडफाँटमा मुख्य रुपमा करको दरले असर गर्छ । करको दर पनि देशपिच्छे फरक हुन्छ । नेपालमा भने नेपाली फिल्मको हकमा बिक्री भएका टिकटहरुमा १३ प्रतिशत भ्याट लाग्छ । ५ प्रतिशत स्थानीय कर लाग्छ । मानौं, फिल्मले पहिलो र दोस्रो हप्ता एक करोड ग्रस कलेक्सन गर्‍यो । यसमध्ये १३ लाख भ्याटको रुपमा र ५ लाख स्थानीय कर काटिन्छ । अब ८२ लाख रुपैयाँ बाँकी रहन्छ ।

८२ लाखमा निर्माता र सञ्चालकको ४१-४१ लाख शेयर हुन आउँछ । निर्माताले आफ्नो शेयर ४१ लाखमध्ये वितरकलाई पनि कमिसन दिनुपर्ने हुन्छ । किनभने हल सञ्चालक र निर्माताबीच मध्यस्थकर्ताको काम वितरकले गरेको हुन्छ ।

‘दिमाग खराब’ले एक करोड ग्रस गरेको खण्डमा निर्माताको नेट आम्दानी ४१ लाखको पाँचदेखि १० प्रतिशतसम्म कमिसन वितरक मनोज राठीलाई दिनुपर्छ । अनि बाँकी बचेको रकम निर्माताको आफ्नो भयो । यस हिसाबले ३ करोड लगानी भएको फिल्मले हलबाट मात्रै लगानी उठाउन ६ देखि ७ करोडको बीचमा ग्रस कलेक्सन गर्न सक्नुपर्छ ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार गत बैशाखमा प्रदर्शनमा आएको फिल्म ‘जारी’ले दोस्रो हप्तासम्ममा १३ करोड हाराहारी ग्रस कलेक्सन गरेको थियो । जसमा एक करोड ६९ लाख त १३ प्रतिशत भ्याटमात्रै हुन आउँछ । स्थानीय करको रुपमा ६५ लाख काटिन्छ । बाँकी रहन्छ, १० करोड ६६ लाख । यसमा आधा रकम ५ करोड ३३ लाख रुपैयाँ हल सञ्चालकहरुले लैजान्छन् । बाँकी रकममध्ये वितरकलाई सम्झौताअनुसार ५ देखि १० प्रतिशत कमिसन निर्माताले दिनुपर्छ ।

हेर्दाखेरि ‘जारी’को कमाइ १३ करोड देखिन्छ । तर, बाँड्दै बाँड्दै आइपुग्दा निर्माताको हातमा चानचुन पाँच करोड पर्छ । तेस्रो हप्तामा पुगेपछि निर्माताको शेयर प्रतिशत झनै कम भएर जान्छ । तर, विदेशी फिल्मको हकमा भने चलचित्र विकास शुल्क भनेर थप १५ प्रतिशत चलचित्र विकास बोर्डले लिने गरेको छ । नेपाली फिल्मलाई भने चलचित्र विकास शुल्क लाग्दैन ।

हल सञ्चालकले कसरी कमाउँछन् ?

हल सञ्चालकको मुख्य कमाइ टिकट बिक्री नै हो । यसपछिको प्रमुख कमाइ भनेको पपकर्न, सफ्ट ड्रिंक्स र अन्य स्न्याक्सहरु हुन् । तेस्रो कमाइ भनेको हलमा फिल्म सुरु हुनुअघि बज्ने विज्ञापनहरु हुन् । अन्य विविध इभेन्ट, निजी तरिकाले गरिने हल बुकिङहरु पनि हल सञ्चालकको आम्दानीको स्रोत हो ।

सबैलाई थाहै छ, फिल्म हलमा २० देखि ३० रुपैयाँ पर्ने पपकर्नलाई २०० रुपैयाँ तिर्नुपर्छ । ६० रुपैयाँ पर्ने कोकलाई १७० रुपैयाँ बढी तिर्नुपर्छ । बढीमा २० रुपैयाँ पर्ने पानीलाई कम्तीमा ५० रुपैयाँ तिर्नुपर्छ ।

दर्शकहरुले बाहिरको खानेकुरा लान पाउँदैनन् । हलभित्र छिर्ने वेला सबै चेकजाँच हुन्छ । खानेकुरा लगेका छन् भने बाहिरै राख्नुपर्छ र फिल्म हलको क्याफेबाट किनेर मात्रै खान पाइन्छ । जहाँ एमआरपी मूल्यभन्दा बढी रकम तिर्नुपर्छ ।

यसरी दर्शकलाई फिल्म हलले एमआरपीभन्दा बढी मूल्य लिएपछि सन् २०१२ मा इजरायलको संसदमै सवाल उठेको थियो । ‘पपकर्न बिल’लाई लिएर उठेको उक्त सवालपछि इजरालको उपभोक्ता संरक्षण ऐन (१९८१) नै संशोधन भयो । यो ऐन संशोधन भएपछि दर्शकहरुले सिनेमा हलमा घरबाटै खानेकुरा लिएर जान पाउने बाटो कानूनी रुपमै पास भएको थियो ।

यस प्रकरण ‘पपकर्न ल’ नामले संसारभर प्रसिद्ध छ । तर, नेपाललगायत संसारका अधिकांश देशमा भने सिनेमा हलले आफ्नै ब्राण्ड बनाएर सानो बोतलको पानीको मात्रै ५० रुपैयाँभन्दा बढी एमआरपी राखेर बेचिरहेका हुन्छन् । हल सञ्चालकहरुले खानेकुरा बेच्दा खुलेआम कानूनलाई छलेका हुन्छन् । उनीहरु कोकको बोतल बेच्दैनन् । कागजको गिलासमा कोक हालेर मनमौजी मूल्यमा कोक बेच्ने गर्छन् ।

सामान्यतया बजारमा पाइने खानेकुराभन्दा फिल्म हलमा पाइने खानेकुरा २५० प्रतिशतदेखि ४०० प्रतिशतसम्म बढी मूल्य दर्शकले तिर्ने गरेका छन् । हेर्दा सामान्य लाग्ने, तर दर्शकले असामान्य मूल्य तिरिरहेको विषयमा राज्यले नियमन गरेको पनि देखिँदैन ।

एक ठाउँमा आइपुगे सम्पूर्ण निर्माता

‘दिमाग खराब’ टीमले हल सञ्चालकहरुमाथि प्रश्न उठाएपछि अहिले सिंगो चलचित्र क्षेत्र नै ‘दिमाग खराब’को पक्षमा उभिएको छ । निर्माता संघदेखि लिएर निर्देशक, कलाकारहरु हल सञ्चालकहरुसँग न्यायपूर्ण व्यवहार मागिरहेका छन् ।

‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित विडारीले आफूले भोगेको तीतो अनुभव उल्लेख गर्दै लेखेका छन्, ‘दिमाग खराबले दर्शक नै नहुँदा शो मागेको हो र ? दया गर भनेको हो र ? पूँजीवादी अर्थ व्यवस्थाको मुख्य जग हैन र माग र आपूर्तिको सन्तुलन ?’

उनले अगाडि लेखेका छन्, ‘ऐना झ्यालको पुतलीका वितरकले नै ‘ब्रह्मास्त्र’ भित्र्याएपछि मैले वितरकलाई सोधेको थिएँ, ‘यो त मिलेन नि हैन र ?’ अनि ती वितरकको जवाफ थियो, ‘मैले नल्याए अर्कोले ल्याइहाल्छ ।’ ‘ऐना झ्यालको पुतली’कै हालत अहिले ‘दिमाग खराब’ले झेलिरहेको छ । हलमा लागिरहेको ‘टाइगर ३’ र ‘दिमाग खराब’का वितरक एकै हुन् ।

फिल्मको टीमसँग वार्ता गर्न बाध्य भएका वितरकहरुको संगठन चलचित्र संघले पनि कार्तिक ३० गते एक विज्ञप्ति जारी गर्दै छलफल सकारात्मक भएको उल्लेख गरेको छ । महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ५ गतेसम्मका दिन पनि अन्य बाँकी बुँदाहरुमा छलफल गरी निष्कर्षमा पुग्ने सहमतिअनुसार पूर्ववत रुपमा ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म गर्ने निर्णय गरियो ।’

‘दिमाग खराब’का निर्माता रौनकविक्रम कँडेलले पनि आफूहरुको मागलाई सकारात्मक ढंगले संघले हेरिदिएकाले मंगलबारसम्म फिल्मको प्रदर्शन जारी राख्ने नेपालप्रेसलाई बताए । कँडेलले भने, ‘नेपाली फिल्म कहिलेसम्म अन्यायमा रहने ? हिन्दी फिल्महरु पनि सबै चलेका छैनन् । तर, हिन्दी फिल्मलाई प्राथमिकता दिने र नेपाली फिल्मलाई प्राथमिकता नै नदिने प्रचलन छ । हामीले ‘दिमाग खराब’को तर्फबाट सवाल उठाए पनि यो मुद्दा सिंगो निर्माताहरुको हो ।’ कँडेलले अबदेखि शोज पनि बढेर आउने बताए ।

एफक्युबका म्यानेजर रामहरि कोइराला आफूहरुले ‘दिमाग खराब’लाई ‘टाइगर ३’लाई भन्दा बढी नै शोज दिएको बताउँछन् । कोइरालाले भने, ‘हामीलाई त हलमा फिल्म चलिरहनुपर्छ । नत्र हामीलाई नै चल्न गाह्रो हुन्छ । दिमाग खराब सुरुमा चलेन, बल्ल चल्दैछ । अब शोज पनि बढ्दैछ ।’

‘दिमाग खराब’ले उठाएको सवालको अन्तर्य

चलचित्र विकास बोर्डको २०७९ को बक्स अफिस रिपोर्ट हेर्दा पनि विदेशी फिल्मको चपेटामा नेपाली फिल्म कसरी परिरहेको छ, स्पष्ट भइन्छ । उक्त रिपोर्टअनुसार दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ले मात्रै १९ करोड २९ लाख, ‘पठान’ले १३ करोड २७ लाख कमाएको छ । ‘अवतार द वे अफ वाटर’ले आठ करोड ३० लाख कमाएको छ । त्यस्तै ‘ब्रह्मास्त्रः पार्ट वान शिव’ले चार करोड ४७ लाख कमाएको छ ।

जब कि यस वर्ष नेपाली फिल्म ‘कबड्डी ४’ (२१.३८ करोड) र ‘छक्का पञ्जा ४’ (१६.९४ करोड) मात्रै सुपरहिट रह्यो । बाँकी चारपाँच फिल्मले मात्रै लगानी जोगाउन सके । समीक्षकहरुबाट राम्रो समीक्षा पाएका फिल्महरुले हलमा पानी पनि भन्न पाएनन् । किन त ?

समीक्षक तथा निर्देशक मनोज पण्डित भन्छन्, ‘पहिलो शुक्रबार र शनिबार त्यति धेरै दर्शक नआउन सक्छन् । नयाँ कथावस्तु र कलाकार भएका सिनेमा विस्तारै हिट हुन सक्छन् । तर, यहाँ त शुक्रबार र शनिबार दर्शक थोरै कम हुनासाथ स्क्रिन यसरी घटाइन्छ कि नेपाली फिल्म झुर नै रहेछ भन्ने न्यारेटिभ बनाइन्छ । ‘दिमाग खराब’ पनि त्यही नियतिको शिकार भएको हो ।’

पण्डितको विश्लेषण छ, राम्रो समीक्षा पाइरहेको र वर्ड अफ माउथ राम्रो भइरहेको ‘दिमाग खराब’ जस्तो फिल्मको स्क्रिन हटाएर भारतीय फिल्मलाई स्क्रिन दिइन्छ भने भोलि अन्य जुनसुकै नेपाली फिल्मलाई पनि हल सञ्चालकहरुले शहीद बनाउन सक्छन् ।

पण्डित भन्छन्, ‘दिमाग खराब टीमले यस्तो हुन दिनुहुन्न भनेर ९५ प्रतिशत नेपाली फिल्मको पक्षमा सवाल उठाएको हो । नेपाली फिल्मको पक्षमा दिमाग खराब बलियो आवाज भएर आएको छ र अहिले उठिरहेको सवाललाई किनारा लगाउने हो भने नेपाली फिल्मले भोगिरहेको समस्याको दीर्घकालीन समाधान निस्कन सक्छ ।’

नेपाली फिल्मलाई हलवालाले हनी ट्रयाप जस्तै ‘स्क्रिन ट्र्याप’मा पार्ने गरेका छन् : पण्डित

अहिले ‘दिमाग खराब’ले भोगिरहेको समस्यालाई मैले हनी ट्रयाप भन्ने गरेको छु । हामी स्क्रिनका लागि फिल्म बनाउँछौं । तर, नेपाली फिल्मले स्क्रिन नै पाउँदैन । स्क्रिन ट्रयापमा दुई दिनको अकुपेन्सीले फिल्मको सबै कुरा निर्धारण गर्ने भयो । यसले दबाब के दिन्छ- शुक्रबार र शनिबार हलमा दर्शक भर्ने तनाव निर्मातालाई हुन्छ । यही कारण स्टार र सिक्वेल सिस्टम आयो, जसले सृजनात्मकतामा असर पार्‍यो ।

फिल्म प्रदर्शन सुरु हुनेबित्तिकै नेपाली फिल्मको स्क्रिन यसरी घटाइन्छ कि नेपाली फिल्म झुर नै रहेछ भन्ने न्यारेटिभ बनाइन्छ । यही कारण नेपाली मेकरहरु स्क्रिन ट्रयापमा छन् । ‘दिमाग खराब’ त्यसैको शिकार भएको हो ।

जुन स्क्रिनमा फिल्म चल्नुपर्ने थियो, त्यहाँ हिन्दी फिल्म ल्याइयो । त्यो पनि नेपाली फिल्म वितरण गरिरहेको वितरकले नै । हिन्दी फिल्म ल्याउने काममा हलवाला पनि संलग्न छन् । अनि हलवालाको आफ्नो लगानी भएपछि फाइदाका लागि नेपाली फिल्मको घाँटी च्याप्ने भए । ‘दिमाग खराब’को त हालत यस्तो हुन्छ भने अरु फिल्मको त घाँटी चुँडाएर फालिदिन्छन् यिनीहरुले ।

वितरक र प्रदर्शकको सिण्डिकेटले नेपाली फिल्मलाई अचानोमा राखेर शहीद बनाउने गरिरहेको थियो । यसविरुद्ध ‘दिमाग खराब’ले आवाज उठायो । अगाडि पनि आवाज त उठेकै थिए । तर, अगाडिको भन्दा अहिलेको आवाज बलियो छ । यो समस्या सधैंका लागि समाधान गर्ने ठूलो अवसर पनि हो ।


प्रतिक्रिया

One thought on “मल्टिप्लेक्सभित्रको अर्थतन्त्र- किन नहोस् निर्माताको दिमाग खराब ?

  1. म जस्ता फिल्म नहेर्नेका लागि हर्ष न विश्मात ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *