जलशा ! – Nepal Press
कथा

जलशा !

‘जलशा’ भन्नाले कुनै उत्सव, समारोह, अधिवेशन या रंगारंग कार्यक्रम भन्ने बुझिन्छ अनि ‘जल-शा’ भनेपछि जल जस्तै कञ्चन, सफा र संग्लो यानि निश्चल भन्ने अर्थ राख्छ ।

मैले कथामा बुन्न खोजेको ‘जलशा’ पात्र पनि मनको कोमल अनि जल जस्तै पवित्र, कञ्चन र निश्चल छिन् । अनि उनको नृत्यमा उत्सव, भाषणकलामा अधिवेशन, व्यवस्थापन कलामा समारोह र पाककलामा सिङ्गो ‘नेवारी भोजनालय’ झल्किन्छ । अनि उनका असीम प्रतिभाहरु रंगारंग टल्किन्छ ।

‘जलशा’को जन्म शिवधारा भन्ने गाउँमा भएको रे ! यो शिवधारा भन्ने गाउँ कौडेलेखको काखमा लुकेको छ कतै । कौडेलेखबाट निस्केको ‘शेरा खोला’ शिवधारालाई अंगालो मारेर बगेको छ । सुन्दर पहाडी बस्ती, शान्त र सौम्य गाउँ, मिलनसार गाउँलेहरु, अर्म र फर्म, मिलेर चाडपर्व मनाउनु यो सबै यस गाउँको लक्षिन हो । यो गाउँका छिमेकीहरु ज्युँदोका जन्ती अनि मुर्दाका स्वघोषित मलामी हुन् ।

पाँच बहिनी छोरीकी कान्छीभन्दा अलि माथिकी छोरी हुन् ‘जलशा’ । अनि ‘जलशा’ नै जन्मेपछि किन अर्काे छोरी जन्माएको त ? जिज्ञासा राम्रो आयो । यसको जवाफ दिन केही समय अझै पछाडि जानुपर्छ । झर्को नमान्नुस् है !

‘जलशा’का बाबाममीलाई लामो समय बालबच्चा भएनन् । सन्तानका लागि बाबाममीले गाउँका सिमे, भुमे भाके । चौतारो चिने । लाख बत्ती र लक्ष्य बत्ती बाले । कहींकतै उपाय लागेन । बिहे गरेको १५ वर्ष भयो । बालबच्चाको छाँटकाँट देखिएन । अब हिम्मतले पनि जवाफ दिन थाल्यो । अब कर्मै खोटो रहेछ भनेर सबै आश यो दम्पतीले मार्‍यो ।

एक दिनको कुरा हो, कौडेलेखमा ध्यान गर्न जान हिँडेका भिक्षु शिवधारा गाउँमा आए । ‘जलशा’को घर भिक्षाटनको लागि पुगेका भिक्षुले दम्पतीलाई नै निरास देखेपछि कारण खोतल्न थाल्छन् । बुवाले गहभरी आँसु झारेर भने- ‘गुरुदेव सन्तान भएनन् ।’ भिक्षुले निधार खुम्चाउन लगाए । हातका रेखाहरु हेरे । अनि लामो सास तान्दै भने- ‘चार बैनी छोरी हुन्छन् । अनि पाँचौं पटकमा छोरा हुन्छ । यो बुटीलाई गलामा बाँध्नू ।’

भिक्षुको कुरा सही निस्कियो । चार वटी छोरी भए । अन्तिममा ‘जलशा’ जन्मिइन् । ‘जलशा’ रुपवती, गुणवती छिन् । बत्तीस लक्षिनले युक्त ‘कुमारी देवी’ झैं । बाबाआमाले साक्षात लक्ष्मी नै पाएपछि हर्क बढाइँ गरे । गाउँकी वयोवृद्धा हजुरआमाले ‘जलशा’को बाबाको शीरको ढाका टोपीमा पाँच रुपैयाँको नोट सिउरिँदै भनिन्- ‘छोरी होस् त जलशा जस्तै ।’

अब पालो छोराको । भिक्षुले बताएअनुरुप दम्पतीलाई छोराको व्यग्र प्रतीक्षा थियो । दम्पतीलाई पाँचौं सन्तान पनि भयो । तर, छोरा थिएन । यसपालि पनि छोरी जन्मिएकी थिइन् । छोराको असीम आश थियो । दम्पतीलाई छोरा नभए कसले बुढेसकालमा पाल्छ, मरेपछि कसले दागबत्ती दिन्छ, कुल र खान्दानलाई कसले अगाडि बढाइदिन्छ भन्ने पिरलोले घर गर्न थाल्यो ।

अव ‘जलशा’ तिर कहानी लैजान्छु है !

‘जलशा’ राम्री र सुयोग्यमात्र हैन, साहसी र मेहनती पनि छिन् । सानैदेखि पढाइमा अब्बल, खेलकुदमा पनि रुचि राख्ने अनि घरधन्दामा पनि सघाउने गर्छिन् । बाबाआमाको पिरलाई नजिकबाट बुझेकी छिन् । एकदिन साँझ बाबाले स्थानीय मदिरामा मुख चोपल्दै मुख खोले- ‘यो ‘जलशा’ छोरी नभएर छोरा हुनुपर्ने ।’ ‘जलशा’ले मुख लुकाउँदै भनिन्- ‘पिर नगर्नुस् बाबा, म हजुरको छोरा नै हो ।’

‘जलशा’ भर्खर १५ वर्षमा लागेकी छिन् । घरमा केटाहरु हात माग्न आउन थालेका छन् । मागे नदिए भगाएर भए पनि लैजाने भनेको नेपथ्यमा सुनिन्छ । बाबाआमाको एक मन भन्छ- ‘जलशा’ छोरी हैन छोरा हो, यो घर सम्हाल्ने ।’ फेरि अर्को मन भन्छ- ‘छोरी १५ वर्षकी भइसकेकी छे, बढेकी छोरी घरमा राख्न हुन्न ।’

‘जलशा’ कक्षा १२ मा पढ्छिन् । भर्खर १७ वर्षमा पाइला टेकेकी छिन् । छिमेक गाउँको केटा दीपेन्द्रले ‘जलशा’लाई औधी मन पराउँछ । दीपेन्द्र बुटवलमा बसेर डाक्टर पढ्ने तयारीमा छ । गत सालको तिहारमा सँगै देउसीभैलो खेल्दा ‘जलशा’ र दीपेन्द्रको भेट भएको थियो । दीपेन्द्रका सपना, लहड र रहर सुनेर कता कता ‘जलशा’ले पनि उनलाई मन पराउन थालेकी छिन् ।

आज ‘जलशा’ सबेरै उठेर आमाको काम सघाउँदै छिन् । अंकलको छोरा वीरेले चिठी ल्याएर ‘जलशा’लाई दिन्छ । चिठी दीपेन्द्रको रहेछ । चिठीको भाव यस्तो थियो-

प्रिय जलशा
मुटुभरिको माया !

थाहा छ तिमीलाई, तिमी पढेर नर्स बन्ने अनि म चाहिँ डाक्टर ! अनि सेतो कोटमा तिमी कति राम्री देखिनेछौ । अनि म पनि त सेतो कोटमै हुनेछु नि जलशा ।

मैले मन-मुटुबाटै तिम्लाई आफ्नो बनाइसकें । बिन्ती तिम्ले नाई नभन्नु ल !
बाँकी भेटमा …

उही तिम्रो दीपेन्द्र

चिठी पढेर ‘जलशा’ सपनामा हराइन् । नर्स बन्ने सानैको धोको अनि दीपेन्द्र जस्तो पढेलेखेको अनि प्यारो मन मुटुले अपनाउने जीवन साथी पाउने उत्कण्ठाले ‘जलशा’को खुशीको सीमा नै रहेन । चिठीको प्रत्युत्तर के भनेर पठाउने ? ‘जलशा’ले शब्दहरु बुन्न थालिन् ।

आज साँझ ‘जलशा’लाई माग्न एक जना केटा आफ्नो बाबासहित आएका छन् । केटा भारतीय सेनामा लाहुरे रहेछन् । बढेकी छोरी अनि लाहुरे माग्न आउँदा ‘जलशा’लाई पनि एक शब्द नसोधी बाबाले बिहे गरिदिने निर्णय गरे । केटाले सोध्यो बाबा, ‘एक पटक ‘जलशा’लाई पनि सोध्ने कि ?’ ‘जलशा मेरी छोरी हो, मैले भनेपछि मर्न जा भने पनि मान्छे मेरी छोरी’, बाबाले बोलीमा पूर्णविराम लगाए ।

बिहान सखारै आमाले मुख खोलिन्- ‘नानी, तिम्रो बिहे हुने भो ।’

‘जलशा’ले हतारिँदै सोधिन्- ‘को सँग ?’

‘त्यै पारि सिम्लेको केटासँग, लाहुरे रहेछ भाग्यमानी रैछस् जलशा तँ’, आमा बोल्दै गइन् । ‘जलशा’ रुँदै गइन् । मनमनै ‘जलशा’ले अठोट गरिन्- ‘दीपेन्द्रलाई चिठीको जवाफ दिन पाएको छैन । फेरि के आपत आइलाग्यो ? म त केवल दीपेन्द्रसित बिहे गर्ने हो । ऊबाहेक अरु म सोच्न पनि सक्दिनँ ।’

साँझ परिसकेको छ । खाना खाने तर्खर हुँदैछ । बाबाले ‘जलशा’लाई बोलाए- ‘नानी, कति राम्रो केटा, कति राम्रो परिवार, केटा लाहुरे, मानामुरी फल्ने खेत छ रे ! कति राम्रो सिम्ले गाउँ ! तिमी त भाग्यमानी रहेछौ ।’ ‘जलशा’ले रुँदै भनिन्- ‘बाबा पढेर स्टाफ नर्स बन्ने सपना छ । अहिले बिहे गर्दिनँ ।’ बाबा कड्किए- ‘पोइ नै लाहुरे भएपछि किन बन्न प¥यो नर्स ? बिहे गरेर पल्टनमा लान्छु भनेको छ केटाले । १५ गतेको लागि बिहे छिनिसकिएको छ । बाँकी केही जान्दिनँ ।’

‘अहो, कस्तो फसाद आइलाग्यो । एक वर्षदेखि मन पराएको केटाले बल्ल प्रेम प्रस्तावसहितको पत्र पठाएको छ । जवाफ फर्काउनु छ, म पनि मन पराउँछु भनेर । नर्स बन्ने सपनामा टुसा पलाउन थालेको छ भर्खरै । प्रेमको सागरमा डुब्नै नपाइ बाबाले कति कठोर निर्णय लिनुभयो’- ‘जलशा’ रुँदै गइन् । तर, सुन्ने छैनन् कोही । चकमन्न रात अनि मात्र सिरानीको साथ ।

आज मंसिर १५ गते जलशाको घर सिङ्गारिएको छ । मण्डपमा जग्गे लगाइएको छ । फलैचामा एक हुल मानिस चुरोटको धुँवासँगै गफ चुट्नमा ब्यस्त छन् । कोही सेल पकाइरहेका, कोही भतेरमा जन्तीलाई खाना बनाइरहेका, सबै ब्यस्त छन्, अनि मस्त छन् । एकै छिनमा कोलाहल सुनिन्छ- ‘जलशा खै ?’ एक कान, दुई कान हुँदै खबर डढेलो झैं सल्कियो जलशा हराइन् । भर्खर दुलहीको सोह्र सिंगारमा सजिएकी जलशा फ्रेस हुने भन्दै बाथरुममा पसेकी थिइन् । तर, कहाँ गइन् ? गाउँ सबै जलशाको खोजीमा लाग्यो ।

लामो प्रयासपछि जलशा अंकलको गोठको भारमा भेटिइन् । बाबाले पहिले झपारे अनि अंगालो मारेर रोए । छोरी जन्ती सेराखोला तरेर माथि आइसके बाबाको इज्जतलाई माटोमा नमिलाउ । जलशा रुँदै, रुँदै जग्गेमा आएर बसिन् । बाबाको इज्जतको सवाल छ । औंठी साटासाट भयो । सम्धी, सम्धीमा माया साटासाट भयो । दुलही अन्माइदिए । जलशा रुँदै रुँदै डोलीमा चढिन् । बाबाआमा रुँदै रुँदै फलैचामा पल्टिए ।

लाहुरेको छुट्टी सकिएछ । बिहे गरेको १० दिनपछि लाहुरे पल्टनमा हिँडे । जलशालाई पहिलो पटक लाहुरे दुलहाको माया लाग्यो । अंगालो मारेर रोइन् । लाहुरेले भने- ‘किन रोएकी लाटी ? अब छुट्टीमा आउँदा तिमी पनि सँगै पल्टन जाने हो ।’ जलशाले टाउको हल्लाइन् । बस लाहुरेलाई चढाएर सुदूर शहरको लागि गुड्यो ।

जलशाका दिनहरु राम्रै बितिरहेका थिए । बाध्यताले बिहे गरे पनि लाहुरेको बानी, ब्यहोरा विस्तारै मन पर्न थालिसकेका थिए । मनबाट दीपेन्द्र ओझेल पर्न थालिसकेको थियो । अब भाग्य भनेकै लाहुरे भन्ने भैसकेको थियो । लाहुरेले पनि जलशालाई औधी मन पराउँथे । भन्थे- ‘पिर नगर जलशा, तिमी पनि छिट्टै पल्टन आउँदैछौ ।’

एक दिनको कुरा हो । आकाशमा कालो बादल मडारिएर पानी पर्ला पर्ला जस्तो भएको थियो । जलशाले सीडीएमए फोनबाट माइत आमालाई तार हानिन्- ‘आमा कस्तो नराम्रो सपना देखें नि आज राति, मेरै दाँत भाँच्चिएको !’ आमाले भनिन्- ‘पिर नगर आधी रातमा देखेको सपना लाग्दैन ।’ यत्तिकैमा दुई जना युवा जलशाको घर आइपुगे ।

‘शेरबहादुरको घर यही हो हजुर !’

‘म शेरबहादुरको दुलही, जलशा ।’

उनीहरुले पत्र हातमा दिए । पत्र पढ्दापढ्दै जलशा कतिखेर फलैचामा ढलिन् पत्तो भएन ।

‘भारतको जम्मु काश्मिरमा कार्यरत शेरबहादुरलाई हिजो राति गस्ती गरिरहेको अवस्थामा आतंककारीले टाउकोमा गोली हानेछन् । पानी पनि भन्न नपाइ ठहरै हुनुभएछ’- ती युवाले भने । शेरबहादुरको घरमा हेर्दाहेर्दै मातम छायो । बाबाआमा अर्धचेत छन् । जलशालाई टाउकोमा पानी ठोकेर होसमा ल्याउन एक हुल आइमाई लागेका छन् । सिङ्गो गाउँ नै स्तब्ध छ । जलशाको अवस्था देखेर गाउँको आँसु थामिएको छैन ।

शेरबहादुरको शवलाई भारतको सुबाथुमा सैन्य सम्मानका साथ दाहसंस्कार गरे । जलशाले हातका चुरा फोरिन् । सेतो पहिरनमा अँश्रुधारा बगाउँदै मुखाअग्नि दिइन् । रोएर १३ दिन पनि बित्यो । गहत खाएर जलशा भित्र कोठामा छिरिन् । अनि श्रीमानको फोटो हेरेर रुन थालिन् । मलाई कति छिट्टै विधवा बनायौ है पापी ! मलाई पनि सँगै लिएर जाउ, म मर्न चाहन्छु, मलाई यो उजाड संसारमा बाँच्नु छैन ।’ चुन्नी निकालेर फन्दा कस्नै लागेकी थिइन् । गाँउले आएर रोके ।

लोग्ने प्रदेशमा बितेपछि जलशाको जीवनमा कालो बादलले चारैतिरबाट छोप्यो । घरमा पनि सासूससुराले पोइ खाने ‘टोकाइ’ भनेर हेला, होचो गर्न थाले । पँधेरामा पानी लिन जाँदा गाउँलेले अभद्र व्यवहार गर्न थाले । ‘लोग्ने खाने अल्च्छिनी’ भनेर दिनहुँ वचन लगाउँदा दिक्क भएर एक दिन रुँदै रुँदै पोको पुन्तुरो कसेर माइत आइपुग्छिन् ।

अन्तिम सहारा माइतमा उनको मनलाई बुझ्ने बाबाआमा छन् भन्ने असीम आस लिएर माइत छिरेकी जलशालाई एकदुई दिन त केही नराम्रो भएन । एक दिन बाबाले रक्सीको तालमा बर्बराए- ‘सब तेरो गल्तीले यो अनर्थ भएको हो । तैंले बिहेको सुभ साइतमा घर छोडेर नभागेको भए आज ज्वाइँ ज्युँदै हुन्थे ।’

जलशालाई बाबाको वचनले छातीमा ज्वारभाटा उत्पन्न भयो । मुटुमा राँको छुट्यो । अब उनलाई आफ्नै शरीरदेखि घीन लाग्न थाल्यो । ‘अब जान्छु, जहाँ पुग्नेछु, त्यही आगो फुक्नेछु’- जलशाले पोको उठाइन् । पिढीलाई ढोगिन्, अनि निस्किइन् ।

जलशाले खोंचलेख बजारबाट बुटवल जाने बस चढिन् । ढुङ्गा जस्तो मुटु, नियात्राका पाइला, मनभरि कलंकको डाम, शरीरभरि लागेको नखाएको विष धेरै वेदनालाई पोकोसँगै च्यापेर उनी बुटवल बजार झरिन् ।

आफूसँग भएको जुली बेचेर सानो डेरा लिएकी छिन् । बाँच्न हस्पिटल लाइन नजिक मकै पोलेर बेच्न थालेकी छिन् । मकै पोल्दापोल्दै मुटु नै पोलिए जस्तो हुन्छ । एकोहोरो हुन्छिन्, अनि एक्लै रुन्छिन् । मन बहलाउन रेडियो किनेकी छिन् । रेडियोमा गीत बज्छ-

मलाई मयाँले पिर दियो…

सधैं झैं जलशा मकै पोलिरहेकी थिइन् । सेतो कोट लगाएका एक व्यक्ति हस्पिटलबाट निस्किएर जलशा छेउ आए । बैनी मकै पोलिदेउ त ! आवाज सुने झैं लाग्यो, माथि फर्केर हेरिन्, अनि मुन्टो लुकाइन् ।

‘जलशा तिमी ? तिमी कसरी यहाँ ? अनि यो पहिरन ? तिमी त सिम्लेको लाहुरेसँग बिहे गरेको हैन र ? मलाई चिन्यौ ?’- प्रश्नहरु छताछुल्ल भए- ‘म दीपेन्द्र प्रादेशिक हस्पिटलको डाक्टर, चिन्यौ नि !’

जलशाले गहभरी आँसु पारिन्- ‘दीपेन्द्र, मलाई माफ गर्नुस् । मैले हजुरको पत्रको जवाफ दिन पाइनँ ।’

‘मलाई अरु थाहा छैन । तिमी मसँग मेरो घर जाने हो । म गाडी लिएर आउँछु’- दीपेन्द्रले जवाफ दिएर गाडी लिन जान्छन् ।

‘जलशा ! मलाई भन तिम्रो यो हालत कसरी भयो ?’ दीपेन्द्रले निकै कर गरेपछि जलशाले भन्दै गइन्, अनि रुँदै गइन् । दीपेन्द्र मलाई माफ गर्नुस्, म त हजुरको पत्र पढेपछि नै हजुरको भैसकेकी थिएँ । नियतिको अगाडि मेरो केही लागेन । बिहेको दिन भाग्दा पनि सुख पाइनँ । चिठीको जवाफ पठाउने ठूलो इच्छा थियो । तर…. ।

‘पिर नगर जलशा, म अझै पनि तिम्रै हो । मैले बिहे पनि गरेको छैन । अब तिमी मेरी हौ जलशा, केवल मेरी’- दीपेन्द्रले ढाडस दिन्छन् । ‘हजुर कहाँ आकाशको ध्रुवतारा, म कहाँ भुईंको धुलो ! मलाई अंगालेर आफूलाई दुःखको खाडलमा नधकेल्नुस्’- जलशाले बिलौना गरिन् ।

दीपेन्द्रले जलशालाई नर्सको थप पढाइको लागि बुटवलको नर्सिङ कलेजमा भर्ना गरिदिए । लिन अनि पुर्‍याउन आफैं जान थाले । जलशा पनि दुःख बिर्सिएर विस्तारै मुस्कुराउन थालिन् । दीपेन्द्रलाई खाना बनाइदिन, लुगा धोइदिन राम्रो लाग्छ भन्छिन् । जलशाको मुहार एक पटक फेरि टल्किन र जवानी फेरि झल्किन थालेको छ ।

कोठामा मधुर प्रकाश छ । जलशा र दीपेन्द्रले बिहे गरिसकेका छन् । दीपेन्द्रको हातलाई सिरानी बनाएर जलशा बेडमा पल्टिएकी छिन् । जलशा र दीपेन्द्रका दुई सेतो कोट ह्याङ्गरमा झुण्डिएका छन् । समीपै काँटीमा जलशाको नर्सको आईकार्ड र दीपेन्द्रको डाक्टरको आईकार्ड झुण्डिएका छन् । दीपेन्द्रले जलशाको निधारमा ओठले स्पर्श गर्छ । जलशाले लजाउँदै भनिन्- ‘डाक्टर साप, आफूलाई सम्हाल्नुस् है !’ दीपेन्द्रले अंगालोमा बेरेर लाइट बन्द गर्छन्- ‘हस, नर्स सिस्टर !’ उता टीभीमा मधुर स्वरमा गीत बजिरहेको छ-

हाँसेरै बिताउँथें जिन्नकी
करिमैले मयाँ दिन्नकि ।

(केसी नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *