कर्णालीमा खड्काको कमाण्ड – फिल्डमै खटेर सुन्दैछन् भूकम्प प्रभावितका डिमाण्ड – Nepal Press

कर्णालीमा खड्काको कमाण्ड – फिल्डमै खटेर सुन्दैछन् भूकम्प प्रभावितका डिमाण्ड

भूकम्प जाँदा कर्णालीको राजधानीमै थिए उपप्रधानमन्त्री खड्का, एक सातादेखि काठमाडौं नफर्की गर्दैछन् उद्दार र राहतमा तीनै तहका सरकारको समन्वय

सुर्खेत । कर्णालीबाट देशको उच्च नेतृत्वमा पुग्ने समकालीन राजनीतिक दलका नेतामा उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नै हुन् । यस हिसाबले पनि कर्णालीको संकटमा सरकारको दोस्रो वरियताको नेताको हैसियतले उनकै कमाण्डमा उद्दार, राहत र यसपछिको पुननिर्माणको समेत काम अघि बढ्ने संंकेत प्रधानमन्त्री प्रचण्डले गरिसकेका छन् ।

रक्षा मन्त्रालय कामका हिसाबले धेरै चापको विभाग नभएका कारण पनि खड्का भूकम्प प्रभावितहरुसँगै छन् । उनले युएइको भ्रमण समेत रद्द गरेर कणालीमा राहतका बोरा बोकेर गएका छन् । अहिलेसम्म उनको भूमिका सकारात्मक नै रहेको एमालेबाट निर्वाचित भेरी नगरपालिकाका मेयर सीपी घर्ती बताउँछन् ।

कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रविन्दू बनाएर ६.४ म्याग्निच्युडको गएपछि कर्णालीमा राजनीतिक दलका नेताहरुको ओहोर दोहोर चलिरहेको छ । राष्ट्रपति र प्रधानमन्त्री एक पटक गएर फर्किएपछि फिल्डको कमाण्ड उप प्रधानमन्त्री खड्काले सम्हालेका हुन् ।

कर्णालीको वियोग, खड्काको संयोग

भूकम्पमा परेर जाजरकोटसहित पश्चिम रुकुम र सल्यानका १५४ जनाले हालसम्म ज्यान गुमाएका छन् । झण्डै ४० हजार घरहरु बस्न नमिल्ने अवस्थामा छन् । सरकार उद्दार र राहतको काममा केन्द्रित छ । भूकम्पबाट घाइते भएकाहरुको उद्दारमा यसपटक उदाहरणीय काम भएको र राहतमा केही विवाद देखिए पनि प्रभावितसम्म पुगिरहेको छ ।

संयोग नै यस्तो पर्‍यो कि, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कात्तिक १७ गते पूर्व निर्धारित कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए । राति पार्टीका नेताहरुसँग छलफल सकेर सुत्ने तरखरमा रहेका खड्कालाई भूकम्पले हल्लायो । तत्कालै भूकम्पको केन्द्रविन्दू र भएको क्षति तथा उद्दारमा उनी खटिएको प्रेस सल्लाहकार डिपी उपाध्यायले बताए ।

एक दिनको कार्यक्रमका लागि गृह जिल्ला आएका खड्का त्यसयता राजधानी फर्किएका छैनन् । निरन्तर भूकम्प पीडितहरुको उद्दार र राहतमा केन्द्रित रहेको उनको सचिवालयले जनाएको छ । खड्काले भारत सरकारको राहत नेपालगञ्ज एयरपोर्टमा पुगेर जिम्मा लिएका थिए ।

राहतपछि कसरी पीडितहरुलाई तत्कालका लागि अस्थायी घरहरु निर्माण गरेर दिने भन्नेमा अब सरकार केन्द्रित भएको उनले बताएका छन् । राहतमा विभेद नहोस् भन्नेमा आफू सचेत रहेको र आफ्ना लागि जाजरकोट,रुकुम पश्चिम सबै ठाउँका प्रभावित बराबर भएकाले सरकारबाट समान व्यवहार हुने उनको भनाइ छ ।

उपप्रधानमन्त्री खड्काका स्वकीय सचिव गौतम विसीले भने–भूकम्प गएलगत्तै उहाँ निरन्तर घाइतेहरुको उद्दारमा केन्द्रित हुनुभयो, एक दिनमै जाजरकोट र रुकुम पश्चिममा घाइते भएकाहरुलाई नेपाली सेनाका हेलिकप्टरहरु प्रयोग गरेर जिल्ला अस्पतालहरु, सुर्खेत, नेपालञ्ज र काठमाडौंसम्म पुर्‍याउन सफल हुनुभयाे । त्यसयता निरन्तर पीडितहरुलाई राहत पुर्‍याउन व्यस्त हुनुहुन्छ ।’

कर्णालीको राजधानीमा खड्काको दैनिकी

खड्का विहानै सुर्खेत विमानस्थल पुग्छन् । विभिन्न ठाउँबाट आएका सामाग्रीहरु कहाँकहाँ पुर्‍याउने हो स्थानीय पालिका, प्रशासन र प्रदेश सरकारसँग टेलिफोनमा समन्वय गर्छन् । आवश्यकता अनुसार नेपाली सेनाका हेलिकप्टरमार्फत सम्बन्धित ठाउँमा राहत सामाग्रीहरु पुर्‍याउँछन् । तत्काल स्थलमार्गबाट राहत जान नसक्ने ठाउँमा राहत सामाग्री लिएर आफै पुग्छन् । स्थानीय पालिकाका प्रतिनिधिलाई ती राहत सामाग्री हस्तान्तरण गर्छन् । राहतको विवरण स्थानीय प्रशासनलाई टिपाउँछन् ।

कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भने–उपप्रधानमन्त्रीज्यूको सक्रियताकै कारण एकै दिनमा घाइतेहरुको उद्दार सम्भव भयो । अहिले धमाधम पीडितहरुसम्म राहतका सामाग्रीहरु पुगिरहेका छन् । कर्णाली भूकम्पपछिको उद्दार कार्यको विपक्षी पार्टीका रवि लामिछानेजीहरुले समेत प्रशंसा गर्नुभएको छ । अब राहत र पुननिर्माणमा पनि उहाँको कमाण्डमा रफ्तारमा काम होस् ।

रक्षामन्त्री पनि भएकाले खड्काले नेपाली सेनाका पाँच हेलिकप्टर र स्काई ट्रकलाई कर्णाली केन्द्रित गरे । स्थलमार्ग र हवाईमार्गबाट घाइतेहरुको उद्दार र राहत पुर्‍याउने काम पनि सँगसँगै गरे । खड्का आफैले राहत सामाग्री ओसारेकादेखि भूकम्प पीडित नागरिकहरुलाई सान्त्वना दिइरहेका तस्बीरहरु आइरहेका छन् । जेहोस् खड्का भूकम्पपछि निरन्तर उद्दार तथा राहतमा सरकारकोतर्फबाट समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।

अन्तरमुखी स्वभावका खड्का कांग्रेसभित्र आजीवन निष्ठा र कर्मको राजनीति गरेर सक्रिय जीवन बिताएका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका अनुयायी हुन् । खड्काले सार्वजनिक कार्यक्रमहरुमा किशुनजीका प्रसङ्ग निकालिरहन्छन् ।

भूकम्पबाट प्रभावित गाउँहरुमा आफैँ पुग्ने, राहत वितरणको समन्वय गर्नेदेखि कर्णाली प्रदेश सरकारलाईसमेत साथ लिएर पीडित नागरिकहरुलाई खड्काले सरकारको अनुभूति दिलाइरहेको शाहीले बताए ।

भावनात्मक सम्बन्ध, उद्दार राहतमा तदारुकता

कर्णाली उपप्रधानमन्त्री खड्काको गृह प्रदेश हो । भूकम्प गएका दुबै जिल्लाहरु सुर्खेतसँग जोडिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसँग जोडिएका जिल्लामा आइपरेको विपदमा मल्हम लगाउन उनले निर्धारित औपचारिक कार्यक्रम र विदेश भ्रमणसमेत स्थगित गरेर रातदिन उद्दार, उपचार, राहतमा केन्द्रित भएका हुन् ।

उनी प्रदेश राजधानीमै बसेर भूकम्प पीडितहरुको उद्दार र राहतमा केन्द्रित भएकाले स्थानीय तह, प्रशासन र प्रदेश सरकारलाई पनि काम गर्न सहज भएको कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बताए ।

मुख्यमन्त्री शर्माले भने– ‘प्रदेश तहबाट स्रोत र जनशक्ति एकै पटक जुटाउन समस्या हुन्थ्यो, यसले गर्दा घाइतेहरुको उद्दार र राहत पुर्‍याउन कठिन हुने अवस्था थियो । उपप्रधानमन्त्रीज्यूले कमाण्ड सम्हाल्दा हामीलाई धेरै सहज भएको छ ।

उनले संघ, प्रदेश, स्थानीय तह र प्रशासनसँगको सहकार्यले तत्कालै घाइतेहरुको उद्दार गर्न सहज भएको बताउँदै राहत वितरण प्रक्रिया पनि प्रभावकारी भएको जानकारी दिए ।

भूकम्पले दुर्गममा बढी क्षति पुर्‍याएको छ । आफूले कर्णाली छोड्दा राहत वितरण र पुनःस्थापनाको काममा ढिलाई हुने र थप राजनीतिकरण समेत हुने भएकाले खड्काले कर्णाली मुकाम नछाडेका हुन् । त्यसैले स्थानीय तहदेखि स्थानीय प्रशासन, प्रदेश र दातृ निकाय तथा संस्थाहरुसँग उनी आफै प्रत्यक्ष सम्पर्कमा छन् ।

भुकम्पको भोलिपल्ट १८ कात्तिकमा सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै खड्काले भनेका थिए,– ‘नागरिकको जीवन रक्षा पहिलो दायित्व हो, त्यसपछि विना भेदभाव र रातह र पुनःस्थापनाको काम अघि बढाउँछौं ।

राहतलगत्तै भूकम्प पीडितहरुलाई अस्थायी आवास बनाउने योजनामा उनी छन् । यसका लागि तीनै तहका सरकारसँगै दातृ निकाय र सहयोगी संघ–संस्थाहरुसँग उनले समन्वय गरिरहेका छन् ।

यसबीचमा उनी भूकम्पमा ज्यान गुमाएका परिवारलाई समवेदना र सान्त्वना दिन तथा ज्यान गुमाउनेहरुलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न ठाउँमा पुगे । सुर्खेत र नेपालगञ्जमा उपचाररत घाइतेहरुलाई भेटे । अस्पतालहरुलाई घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन र नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भएकाले सोही अनुसार उपचार गर्न चिकित्सहरुलाई आग्रह गरे ।

उपप्रधानमन्त्री खड्का भूकम्प पीडितले राहत नपाएको गुनासो आएका ठाउँमा आफै राहत सामाग्री लिएर जाने गरेका छन् । खड्काले यसपटक कर्णालीलाई अभिभावकत्व प्रदान गर्ने क्रममा आफूलाई परिपक्व नेताका रुपमा पनि स्थापित गरेका छन् ।

 


प्रतिक्रिया

One thought on “कर्णालीमा खड्काको कमाण्ड – फिल्डमै खटेर सुन्दैछन् भूकम्प प्रभावितका डिमाण्ड

  1. सुन्ने कि राहत बाँडने बेला हो यो ? स्टण्टवाजि सिवाय केही छैन । १० पोका राहत बोकेर तीनलाखको हेलिकप्टर खर्च गरेर के नाप्यौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर