चीनको युनान प्रान्तले भूकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने – Nepal Press

चीनको युनान प्रान्तले भूकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने

काठमाडौं । जाजरकोट र रुकुम भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसंगको औपचारिक भेटवार्ताका क्रममा चिनिया कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन् ।

भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवि प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे। उनले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसग साट्न आफुहरु तयार रहेको बताए । अध्यक्ष नेपालले पनि सहयोगका धन्यवाद दिदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपाले पनि सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

चिनिया कम्युनिस्ट पार्टीको अन्तरास्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो । यस क्रममा चिनिया कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसंग भेटघाट हुने कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए ।

उनले भने, ‘हाम्रो पार्टीलाई चीनले महत्त्व दिएको पायौं। भेटघाट सुरु भएको छ। नेताहरु संग भेट्ने देश र पार्टी हितका विषय कुरा हुँदैछन् । उहाहरुको व्यवाहारले हामीलाई उत्साहीत बनाएको छ ।’ बिहीबार कुङ्मिङमा राजनीति दल र कृषि कोअपरेशन भन्ने विषय चिनिया कम्युनिस्ट पार्टीले अन्तरास्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

उक्त सम्मेलनलाई पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सम्बोधन गर्नेछन् । सम्मेलनमा भाग लिन एसियाका ११९ वटा पार्टीका प्रतिनिधि कुङ्मिङ आइपुगेको बताइएको छ । नेपालबाट काङ्ग्रेस र राप्रपासहितका दलका प्रतिनिधिले पनि सम्मेलनमा सहभागी जनाउने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर