निजीकरणपछि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने मोडालिटी तथा विकल्पबारे छलफल – Nepal Press

निजीकरणपछि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने मोडालिटी तथा विकल्पबारे छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४औं बैठक बसेको छ । बैठकमा निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरुको विवाद तथा समस्या समाधानलगायत विषयहरुमा छलफल भएको बुझिएको छ ।

बैठकले हाल बन्द अवस्थामा रहेका सरकारको स्वामित्वका उद्योग वा प्रतिष्ठानहरुका सम्बन्धमा कार्यदल बनाइ सञ्चालनमा ल्याउन सक्ने सम्भावना र मोडालिटीका बारेमा अध्ययन गर्ने र अध्ययनको निष्कर्षका आधारमा अगाडि बढ्ने निर्णय गरेको छ ।

तर, जुनसुकै मोडेलमा सञ्चालन गरिए पनि सम्वन्धित उद्योग प्रतिष्ठानको भोगाधिकारमा रहेका जमिनको स्वामित्व भने सरकारकै रहने निर्णय बैठकले गरेको छ ।

बैठकले नेपाल रोजिन एण्ड टर्पेन्टाइन, नेपाल चिया विकास निगम, रघुपति जुट मिललगायत प्रतिष्ठानको निजीकरणपश्चात सम्झौता कार्यान्वयनमा देखिएका समस्याको कानूनी, प्राविधिक तथा व्यवस्थापकीय पक्षसमेत अध्ययन विश्लेषण गरी सुझाव र सिफारिस समितिमा प्रस्तुत गर्न सरकारका सचिवहरु संयोजक रहने गरी अलग अलग कार्यदल गठन गरेको छ ।

हाल बन्द रहेका नेपाल ओरिण्ट म्याग्नेसाइटलगायत ७ वटा उद्योग सञ्चालनका मोडालिटी तथा विकल्पबारे बैठकमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्य राजेन्द्र केसी, माधव सापकोटा, राष्ट्रिय योजना आयोगका सदस्य, सरकारका सचिवहरु, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलगायतका पदाधिकारीहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर