कुनै पनि आमाले आफ्नै ममतामाथि प्रश्नको सामना गर्नु नपरोस् – Nepal Press
ब्लग

कुनै पनि आमाले आफ्नै ममतामाथि प्रश्नको सामना गर्नु नपरोस्

केही महिनाअघि चितवनका एक दम्पतीको विवाद समाधानको लागि भएको छलफलमा थिएँ । उनीहरु ‘एक-अर्कासँग बस्नै नसक्नेगरी’ मनोमालिन्यको अवस्थामा पुगिसकेको एक-अर्काका आरोप प्रत्यारोपबाट देखिन्थ्यो ।

सँगै सात वर्षे छोरा थियो । आमाबाबु चर्को स्वरमा एक अर्काको गल्ती खोतलिरहेका थिए । प्रहरी परिसरमा भएको छलफलमा छोरा भने घरी बाबुको काखमा दौडिएर पुग्थ्यो । घरी आमाको काखमा गएर अँगालो हाल्दै रुन्थ्यो । यो दृश्य देख्न नसकेपछि उसलाई लिएर म केही समय बाहिर निस्किएँ ।

पानी पिउन दिएँ । खानेकुरा सोधें । तर, उसलाई बाहिरी वातावरणभन्दा पनि डर बाबुआमाको झगडाकै थियो । केही समय त उसलाई भुलाएँ । ऊसँग दैनन्दिन बाआमाको चर्को झगडा, कुटाकुटबाट निस्किने अवस्था थिएन ।

तथ्यांकहरु हेर्दा नेपालमा सबैभन्दा धेरै महिला आफ्नै श्रीमानबाट हिंसामा पर्ने गरेका छन् । अदालतको तथ्यांकले पनि मुद्दामा प्रवेश गरेका घटनाहरुका पहिलो नम्बरमा सम्बन्ध विच्छेद देखाएको छ । यी सबै समस्या घरभित्रैबाट निस्किने हुन् ।

विवाह सम्झौताको सम्बन्ध हो । दुई स्वतन्त्र महिला-पुरुष (नेपालको कानूनले व्याख्या गरेअनुसार) बीच एकापसमा सँगै बस्न नसक्ने अवस्था आए, उनीहरु सहमतिमै छुट्टिन पाउने व्यवस्था गरेको छ, जसलाई हामी सम्बन्ध विच्छेद भन्छौं । पतिपत्नीको सम्बन्धमा रहन नसक्ने अवस्था भए पनि कानूनी रुपमा अलग हुनु सामाजिक परिघटनामा सामान्य नै हो ।

तर, विवाह सम्बन्ध निकै जटिल र त्यसबाट निम्तिने बाइप्रडक्ट निकै संवेदनशील हुने पछिल्ला घटनाले देखाउँछ । पछिल्लो उदाहरण मनोज गजुरेल र मीना ढकाललाई लिन सकिन्छ । हाँस्यव्यङ्ग्य क्षेत्रमा स्थापित मनोज गजुरेल र उनकी पत्नी मीना ढकाल एकापसमा सँगै बस्न नसक्ने निर्णय गरी अदालतबाट कानूनी रुपमा अलग भए । उनीहरुले आआफ्नो जीवनसाथी पनि रोजिसकेका छन् ।

विवाह सम्झौताको सम्बन्ध हो । दुई स्वतन्त्र महिला-पुरुष (नेपालको कानूनले व्याख्या गरेअनुसार) बीच एकापसमा सँगै बस्न नसक्ने अवस्था आए, उनीहरु सहमतिमै छुट्टिन पाउने व्यवस्था गरेको छ, जसलाई हामी सम्बन्ध विच्छेद भन्छौं । पतिपत्नीको सम्बन्धमा रहन नसक्ने अवस्था भए पनि कानूनी रुपमा अलग हुनु सामाजिक परिघटनामा सामान्य नै हो ।

बाआमा छुट्टिएको केही वर्षपछि उनीहरुका छोराले सार्वजनिक रुपमा आमा सम्झिए- त्यो पनि आमाले आफूलाई गरेका गलत व्यवहारहरु र्‍याप गीतमा अभिव्यक्त गरेर ।

मीनाले आमा भइसकेपछि छोराप्रति आमाको कर्तव्य पूरा गर्नुपर्थ्यो । हरेक आमाले गर्नुपर्थ्यो, पर्छ । मनोज बाबु भए, यसै पनि परिवारप्रति बाबुआमा दुबैको बराबरी कर्तव्य रहन्छ, रहन्थ्यो नै ।

यहाँनेर उनीहरुका छोराले आमा र बाबुलाई कसरी बुझे, आमाले गरेको व्यवहारलाई सार्वजनिक रुपमै छताछुल्ल गर्नुपर्ने स्थितिमा किन पुगे चाहिँ मुख्य कुरा हो ।

मनोज, मीना र उनको छोराको मामिलामा हामीले नेपाली सामाजिक परिदृश्यको अवस्था बुझ्नुपर्छ । नेपाली सामाजिक, सांस्कृतिक व्यवस्थाले महिलालाई विवाहपछि स्वतः लोग्नेको ठेगानामा जानैपर्ने व्यवस्था गरेको छ । नगन्यबाहेक नेपाली समाजमा यो व्यवस्था हुबहु लागू छ ।

विवाहपछि महिला लोग्नेको घर जान्छिन्, जहाँ उनको परिश्रम र स्वामित्वको कुनै वस्तु हुँदैन । कानून र सामाजिक, सांस्कृतिक व्यवस्थाले नै गरेको यो नियमका कारण विवाहपछि एक पटक हरेक महिलाको सामाजिक मूल्य शून्यको तहमा पुगेर उकासिनुपर्ने अवस्था छ । अझ नेपाली महिलामध्ये जम्मा २१ प्रतिशतसँग सम्पत्तिको स्वामित्व छ ।

एकातिर सम्पत्तिको स्वामित्व आफ्नो हातमा नहुँदा उनी कमजोर हुन्छिन् । अर्कोतिर नयाँ मानिसलाई उसले विवाह गरेर गएको समाजले तत्काल स्वीकार गर्दैन । घरमा त सबैभन्दा तल्लो तहमा उनको स्थान यसै हुन्छ । यस्तो सामाजिक पृष्ठभूमिमा श्रीमानसँग मन मिल्न नसकेपछि ती महिलाले श्रीमानपट्टिका मानिसहरुको निकै कममात्रै समर्थन पाउँछिन् ।

यस घटनासँग मिल्ने अर्को उदाहरण छ । मेरो एक जना साथी छन्, जसले श्रीमानको परस्त्रीसँग सम्बन्ध रंगेहात भेटिन् । तैपनि लडेर जुधेर केही समय ऊसँग गुजारिन् । अन्ततः श्रीमानको व्यवहार सुधार नभएपछि सम्बन्ध विच्छेदको अवस्थामा पुग्नुपर्‍यो ।

सामाजिक सञ्जालहरुमा एउटी आमाले आफूले सन्तानलाई माया, स्नेहपूर्ण व्यवहार गरेको थिएँ भनेर आफ्नो प्रतिरक्षा गर्नुपर्ने र छोराले आफूलाई हुर्काउँदा आमाको ममता पाइनँ भनेर आरोप लगाउनुपर्ने अवस्था आउनु सिंगो आमाहरुका लागि कति पीडादायी होला ?

अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा दायर नगर्दासम्म ती साथीप्रति लचिलो उनका परिवार मुद्दा दायर गरेपछि सबै विपक्षी बने । सम्बन्ध विच्छेदको सुइको पाउनासाथ भएभरका सम्पत्ति विवाहित छोरीको नाममा गरिदिएर आफूहरु सुकुम्बासीसरह रहेको अदालतमा विवरण पेश गरे ।

उनीहरुले सम्पत्तिसहितको मुद्दामा उनीप्रति निर्मम व्यवहार गरेकामात्रै होइनन्, पूर्वपतिले उनले काम गरिरहेको ठाउँमा समेत गएर पटक पटक बेइज्जती गर्ने जस्तो हर्कत गरेको व्यवहारको साक्षी स्वयं छु ।

सम्बन्ध राम्रो नभएकी महिलालाई एक्ल्याउन लोग्नेतिरका परिवार, आफन्त र समाजै उर्लिन्छन् भन्ने यस्ता अनगिन्ती उदाहरण हामीसँग छ । अझ मीनाले त आफूबीचको मनमुटावलाई सार्वजनिक गरिन् । उनी सामाजिक वृत्तमा मनोज गजुरेलकी पूर्वपत्नी भएकाले पनि अलि चर्चित भइन् ।

अब छोरातर्फ जाऔं । लामो विवादपछि छुट्टिएका बाआमाका सन्तानको मनोविज्ञानमा नकारात्मक असर पर्ने कुरामा त कुनै संशय नै रहेन । तर, आफ्नी आमालाई नै गीतमार्फत यस्तासम्म शब्द व्यक्त गर्ने अवस्थामा पुग्नेगरी मीनाले छोरालाई कस्तो व्यवहार गरिन् होला ? एउटी आमा भएर सोच्दा पत्याउनै गाह्रो हुन्छ ।

सामाजिक सञ्जालहरुमा एउटी आमाले आफूले सन्तानलाई माया, स्नेहपूर्ण व्यवहार गरेको थिएँ भनेर आफ्नो प्रतिरक्षा गर्नुपर्ने र छोराले आफूलाई हुर्काउँदा आमाको ममता पाइनँ भनेर आरोप लगाउनुपर्ने अवस्था आउनु सिंगो आमाहरुका लागि कति पीडादायी होला ?

आमा भनेको यस्तो सम्बन्ध हो, जहाँ आफैं मृत्युको मुखमा पुगेर पनि सन्तानको सुखमा रमाउन तयार हुने महिला हुन्छन् । उनीहरु ममता खन्याएर सन्तानलाई जितिरहन दिन्छन् । आज इन्टरनेट निर्मित भर्चुअल सञ्जालको संसारमा आमा र छोरा लडाइँ गर्दैछन्, त्यो पनि ममताको प्रश्नमा । एउटी आमालाई निर्मम भनिरहँदा आमाले म निर्मम थिइनँ भनेर छोरालाई जवाफ दिनुपर्ने पनि लडाइँ हुन्छ ? ममतामा पनि प्रश्न उठ्नुपर्ने अवस्था किन आउँछ ? म प्रार्थना गर्छु, हामी आमाहरुले कहिल्यै ममताको प्रश्नको सामना गर्न नपरोस्, जुन मीनाले गरिरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *