गाडी नपाएपछि शुद्धोधनका उपाध्यक्षले गरे प्रशासकीय अधिकृतमाथि कुटपिट, कारबाहीको माग गर्दै निवेदन – Nepal Press

गाडी नपाएपछि शुद्धोधनका उपाध्यक्षले गरे प्रशासकीय अधिकृतमाथि कुटपिट, कारबाहीको माग गर्दै निवेदन

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले आफूलाई गाडी उपलब्ध नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि हातपात गरेका छन् । बिहीबार दिउसो अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले जनाएका छन् ।

ज्ञवालीको नेमप्लेट र उनले काम गर्ने कार्यालयको टेवुलको सिसा फुटेको छ । उपाध्यक्ष कुर्मीले चढ्दै गरेको गाडी आफूलाई नचाहिने भन्दै गत असार २५ गते फिर्ता गरेका थिए । त्यसयता अधिकृत ज्ञावलीले चढ्दै आएका थिए ।

लोसपाबाट निर्वाचित अध्यक्ष कमलेशशरण चौधरी र माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष कुर्मीबीच सुरुदेखि नै विवाद हुँदै आएको छ । विवादकै कारण गाउँसभा, बजेट पारित हुन हरेक वर्ष ढिला हुँदै आएको छ । यो विवादमा अब कार्यकारी अधिकृतसमेत जोडिएका छन् ।

गाडी चाहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले आरोप लगाए पनि उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र कामविशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको दावी गरेका छन् ।

अधिकृत ज्ञवालीले सरकारी गाडी दैनिक घर लैजाने र दुरुपयोग गरिरहेको उपाध्यक्षको आरोप छ । कार्यपालिका बैठकले निर्णय गरेर गाडी आफूलाई प्रयोग गर्न दिएको अधिकृत ज्ञवालीले बताए । कार्यपालिका बैठकले फिर्ता मागेमात्र आफूले दिने भनेपछि उपाध्यक्ष आक्रोशित भएर विवाद बढ्दै गएको थियो ।

गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनलाई कारबाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् । त्यस्तै अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटर ज्ञापनपत्र दिई कडा कारबाहीको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *